पोखराको बास्कोटमा शहरी स्वास्थ्य केन्द्र संचालनमा,स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महानगर प्रतिबद्ध छ: प्रमुख आचार्य


     एभरेस्ट आवाज    
     कार्तिक १८ गते २०८३ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नं. २४ बास्कोटमा निर्माण गरिएको शहरी स्वास्थ्य केन्द्र संचालनमा आएको छ ।

सो केन्द्रको बुधबार एक कार्यक्रमका बिच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । केन्द्रको उद्घाटन गर्दै उनले स्वास्थ्य सेवाको पहुँच विस्तार र नागरिकको स्वास्थ्य प्रवर्द्धन तथा सुरक्षाका लागि महानगरपालिका प्रतिबद्ध रहेको बताए । नगर प्रमुख आचार्यले नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु महानगरपालिकाको प्रमुख दायित्व भएको स्पष्ट पारे । उनले भने, “नागरिकको स्वास्थ्य प्रवर्द्धन र सुरक्षाका लागि पोखरा महानगरपालिका प्रतिबद्ध छ । स्वास्थ्य सेवाको पहुँचबाट कोही पनि नागरिक वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले महानगरले आवश्यक पूर्वाधार निर्माण र सेवा विस्तारलाई प्राथमिकता दिएको छ ।”

उनले वडा नं. २४ को समग्र विकास निर्माणलाई प्राथमिकतामा राख्दै पञ्चासे क्षेत्रको विकास र पर्यटन प्रवर्द्धनमा समेत महानगरपालिका कटिबद्ध रहेको बताए । स्थानीय पूर्वाधारको विकास, स्वास्थ्य सेवा विस्तार र पर्यटकीय क्षेत्रको प्रवर्द्धनले समग्र वडाको आर्थिक तथा सामाजिक विकासमा योगदान पुग्ने उनको भनाइ थियो । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले शहरी स्वास्थ्य केन्द्रबाट स्थानीय नागरिकले आधारभूत स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्ने विश्वास व्यक्त गरे । उनले स्वास्थ्य सेवाको प्रभावकारिता अभिवृद्धि गर्न आवश्यक जनशक्ति, व्यवस्थापन र सेवा प्रवाहमा ध्यान दिनुपर्ने बताए । नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउनु महानगरपालिकाको प्राथमिकता रहेको उनको भनाइ थियो ।

वडा अध्यक्ष भरत बहादुर अधिकारीले शहरी स्वास्थ्य केन्द्र निर्माणले वडाका नागरिकलाई स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुने बताए । उनले स्थानीय आवश्यकता र नागरिकको मागअनुसार स्वास्थ्य केन्द्र निर्माण गरिएको उल्लेख गर्दै वडाको समग्र विकासका लागि महानगरपालिकासँग सहकार्य र समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । केन्द्र सञ्चालनमा आएपछि वडा नं। २४ का स्थानीय नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ । स्वास्थ्य सेवा विस्तारसँगै वडाको समग्र विकास र नागरिकको जीवनस्तर सुधारमा समेत योगदान पुग्ने विश्वास गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।