तनहुँको ब्यासमा तीनदिने पुरातात्विक सम्पदा तथा ग्रामीण पर्यटन मेला हुने


     एभरेस्ट आवाज    
     मंसिर ५ गते २०८३ मा प्रकाशित




पोखरा ।
तनहुँको व्यास नगरपालिकामा पुरातात्विक सम्पदाको संरक्षण र ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तीनदिने ‘व्यास नगर पुरातात्विक सम्पदा एवं ग्रामीण पर्यटन मेला–२०८३’ आयोजना हुने भएको छ।
व्यास नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा आगामी मंसिर २५ देखि २७ गतेसम्म व्यास नगरपालिका–३ स्थित दमौली सभा हल, विपी वन बाटिकामा मेला सञ्चालन हुन लागेको शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । मेला बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुने जनाइएको छ।
‘सांस्कृतिक सहर, व्यास नगर’ मूल नारासहित आयोजना हुने मेलाले नगरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षण र विकास गर्दै व्यास नगरलाई सुन्दर, शान्त र सुरक्षित पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखेको कार्यक्रम संयोजक हरिसिंह गुरुङले जानकारी दिए ।
प्रतिष्ठानले यसअघि २०७९ मा व्यास नगर बहुजातीय सांस्कृतिक महोत्सव र २०८२ मा व्यास नगर साहित्यिक महोत्सव आयोजना गरेको थियो। यस वर्ष भने पुरातात्विक सम्पदा र ग्रामीण पर्यटनलाई प्राथमिकता दिएर मेला आयोजना गर्न लागिएको प्रतिष्ठानले जनाएको छ। डिसेम्बर ११ मा पर्ने अन्तर्राष्ट्रिय पर्वत दिवसको अवसर पारेर आयोजना हुने मेलामा पुरातात्विक सम्पदा संरक्षणसम्बन्धी स्थानीय तथा राष्ट्रिय महत्वका सम्पदाको फोटो प्रदर्शनी गरिनेछ। विद्यालय तथा कलेजका विद्यार्थीलाई लक्षित गरी पुरातात्विक सम्पदा र ललितकलासम्बन्धी गतिविधि सञ्चालन गरिनेछ। मेला परिसरमा जीवित मूर्ति तथा चित्रकला केन्द्रसमेत रहने संयोजक गुरुङले बताए ।
मेलामा व्यास नगरभित्रका एक सय वर्षभन्दा पुराना सांस्कृतिक सम्पदालाई समेटेर व्यास नगर सम्पदा पुस्तक प्रकाशन गरिनेछ। त्यस्तै, व्यास पराशर क्षेत्र ९दमौली०, छाब्दी बाराही र तनहुँसुरलाई डिजिटल प्रणालीमार्फत प्रवर्द्धन गर्ने कार्यक्रम छ। क्यूआर कोड प्रयोग गरी नेपाली, गुरुङ, अंग्रेजी र हिन्दी भाषामा सम्पदासम्बन्धी जानकारी उपलब्ध गराइनेछ। व्यास पराशर क्षेत्रका लागि संस्कृत भाषामा समेत प्रचारप्रसार सामग्री निर्माण गरिने प्रतिष्ठानले जनाएको छ।
ग्रामीण पर्यटन विकास तथा संस्कृति संरक्षणका लागि मेलामा नगरका सामुदायिक होमस्टे, विभिन्न जातीय तथा सांस्कृतिक संस्थाका मौलिक कार्यक्रम प्रस्तुत गरिनेछन्। होमस्टे व्यवस्थापन समितिले स्थानीय रैथाने बाली, खानाका परिकार, फलफूल, तरकारी तथा घरेलु सामग्री बिक्रीका लागि स्टल राख्नेछन्। स्थानीय मदिरा उत्पादन तथा प्रशोधन प्रक्रिया प्रदर्शन गरिए पनि मादक पदार्थ तथा सुर्तीजन्य सामग्रीको बिक्री, वितरण र सेवनलाई मेलामा निषेधित क्षेत्रका रूपमा राखिनेछ। मेलाको अर्को आकर्षणका रूपमा तनहुँ जिल्लाको पुरातात्विक सम्पदा र सांस्कृतिक पर्यटन समेटिएको पुस्तक, लिफलेट, ब्रोसर तथा वृत्तचित्र निर्माण र प्रदर्शन गरिनेछ। मेलाको अन्तिम दिन करिब ३० मिनेट लामो व्यास नगर सम्पदा वृत्तचित्र निर्माण गरी पालिकाको प्रसारण प्रणालीबाट प्रचारप्रसार गरिनेछ।
व्यास नगर प्रज्ञा प्रतिष्ठानका अनुसार मेलामा सहभागी हुने अवलोकनकर्ताले समूहगत भ्रमणका लागि कम्तीमा पाँच दिनअघि आयोजकलाई जानकारी गराउनुपर्नेछ। मेला सफल बनाउन सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई प्रतिष्ठानले आह्वान गरेको छ।
मेला व्यास नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा र व्यास नगरपालिका दमौली, तनहुँको संरक्षणमा सञ्चालन हुन लागेको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।