भारतीय सेना प्रमुख जनरल नरवणे आज (बुधबार) नेपाल आउँदै


     एभरेस्ट आवाज    
     कार्तिक १९ गते २०७७ मा प्रकाशित




भारतीय सेनाका प्रमुख जनरल मनोज मुकुन्द नरवणे बुधबार (आज) नेपाल आउँदैछन्।

नेपाली सेनाले दिने मानार्थ महारथीको उपाधि ग्रहण गर्न प्रमुख जनरल नरवणे नेपाल आउन लागेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ रथीको दर्जा दिनेछिन्।

सेनापति मनोजकुमार नरवणे नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा नेपाल आउन लागेका हुन्।

नेपाल र भारत दुई देशका सेना प्रमुखलाई एक–अर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने चलनअनुसार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले २०७५ सालमै भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट मानार्थ महारथीको दज्र्यानी चिह्न लगाइसकेका छन्।

नरवणेको तीनदिने नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध सुधारको अपेक्षा गरिएको छ । उनले सो दर्जा पाएसँगै यहाँ राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको बताइएको छ। नरवणेले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्चतहको भेटवार्ता गर्ने भएकाले यो भ्रमणलाई महत्वका साथ हेरिएको छ।

कालपानी, लिम्पियाधुरा र लिपुलेकलगायतका सीमा विवादका कारण दुई देशबीच तिक्तता बढिरहेको बेला नरवणेको भ्रमणले दुई देशको राजनीतिक र कूटनीतिक तहमा सम्बन्ध सुधार हुने अपेक्षा गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।