देशभर, अस्पताल नभएका ६४९ मध्ये ३९६ वटा स्थानीय तहमा आज (सोमबार) एकैदिन अस्पताल निर्माणको शिलान्यास गर्ने भएको छ।
सरकारले स्थानीय तहसम्म स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सोमबार एकैसाथ ३९६ स्थानीय तहमा अस्पताल भवन र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्ने भएको हो।
प्रदेश नं १ मा ३२ स्थानीय तहमा, प्रदेश नं २ मा २० स्थानीय तह, वाग्मती प्रदेशमा १९ स्थानीय तह, गण्डकी प्रदेशमा ५३ स्थानीय तह, लुम्बिनी प्रदेशमा ६० स्थानीय तह, कर्णाली प्रदेशमा २८ स्थानीय तह र सुदूरपश्चिम प्रदेशमा ३४ स्थानीय तहमा अस्पताल बनाउन भवन शिलान्यास गरिनेछ।
अर्थ मन्त्रालयबाट पहिलो चरणमा ३९६ स्थानीय तहलाई पाँचदेखि १५ शैयाको अस्पताल बनाउनका लागि रु ६४ अर्ब ९ करोड बजेट पठाइसकिएको हो।
सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउने लक्ष्यसहित मंसीर आज (सोमबार) ३९६ वटा स्थानीय तहमा एकैपटक अस्पताल निर्माणको शिलान्यास गर्ने तयारी अन्तिम गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मुलुकको भौतिक निर्माणको इतिहासमा पहिलोपटक यति धेरै संख्यामा पूर्वाधार निर्माणको शिलान्यास हुन लागेको यो पहिलो पटक हो।
अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा गत कार्तिक ३ गते अर्थ मन्त्रालयमा सम्पन्न बैठकले आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने कार्यक्रम अनुसार मंसीर १५ गते (आजको मिति) मा भवन निर्माणको शिलान्यास गर्ने निर्णय गरेको थियो।
सरकारले अस्पताल निर्माणका लागि आर्थिक स्रोत र जग्गासमेत सुनिश्चित गरिसकेको छ। अब बन्ने प्रत्येक नयाँ अस्पतालमा १५ शैयाका हुनेछन्।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ललितपुरको गोदावरी नगरपालिकामा बन्न थालेको अस्पताल भवनको शिलान्यास गर्नेछन्।
यस्तै, पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले इलामका तीन स्थानीय तहमा अस्पताल भवनको शिलान्यास गर्नेछन्। नेता खनालले सूर्योदय नगरपालिका, माई नगरपालिका र सन्दकपुर गाउँपालिकामा बन्ने अस्पतालको शिलान्यास गर्नेछन्।
यसैगरी, स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चितवनको भरतपुरमा बन्न थालेको सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्नेछन्।
स्थानीय तहमा बन्ने अस्पताल भवनको संघीय सांसद र स्थानीय तहका प्रमुखले पनि शिलान्यास गर्नेछन्।
यसअघि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई अस्पतालको भवन शिलान्यास गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
देशभरको ७५३ स्थानीय तहमध्ये ६४९ स्थानीय तहमा अस्पताल नै रहेका छैनन् । तीमध्ये पहिलो चरणमा ३९६ स्थानीय तहमा अस्पतालको भवन शिलान्यास गर्न लागिएको हो।
सरकारले यसै आर्थिक वर्षमा सातवटै प्रदेशमा सरुवा रोग अस्पताल बनाउने घोषणा गरेको थियो।
स्थानीय तहमा निर्माण गर्ने आधारभूत अस्पतालका लागि आवश्यक पर्ने जग्गा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भाडामा उपलब्ध गराउन सक्नेगरी कार्यनीति समेत संशोधन गरिसकिएको छ।
बहुवर्षीय योजना अन्तर्गत निर्माण हुन लागेका यी अस्पतालको निर्माण करिब दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ।
सरकारले ५ शैयाको अस्पतालका लागि ७० लाख, १० शैयाका लागि ८५ लाख १५ शैयाका लागि १ करोड पठाइसकेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक १७ सामाजिक सञ्जालमा गृहमन्त्री सुदन गुरुङबिरुद्ध भ्रम फैलाएको आरोपमा…







