कास्कीको मादी गाउँपालिकामा १५ शैय्याको अस्पताल शिलान्यास


     एभरेस्ट आवाज    
     मंसिर १५ गते २०७७ मा प्रकाशित




सरकारले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित अभियान अन्तर्गत कास्कीको मादी गाउँपालिकामा आज १५ शैय्याको अस्पताल भवनको शिलान्यास गरिएको छ ।
गाउँपालिका वडा नं. ७ को तल्लो छाचोक(खन्टारी)मा १० रोपनी क्षेत्रफल जमिनमा निर्माण गरिने अस्पतालको प्रतिनिधिसभाका सांसद एवम् पूर्व स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले शिलान्यास गर्नुभयो ।
कोरोना भाइरसको महामारीपछि सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर देशभरका अस्पतालमा स्वास्थ्य उपकरण तथा क्षमता वृद्धिका साथै नयाँ संरचना निर्माण शुरु गरेको जानकारी दिनुभयो ।
गाउँपालिका रहेको थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्रबाट हाल प्रवाह भइरहेको सेवाबाट उत्तरी भेगका जनतालाई पायक नपर्ने र सामान्य बिरामी पर्दा समेत पोखरा जानुपर्ने बाध्यता अस्पताल बनेपछि हट्ने विश्वास लिइएको छ ।
गण्डकी प्रदेशसभा सदस्य मनबहादुर गुरुङले सङ्घ,प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा अस्पताल निर्माणपछि गुणस्तरीय सेवा प्रवाहका लागि आफू लागि पर्ने प्रतिवद्धता व्यक्त गर्दै विकासमा पछि परेको मादीमा विजयपुर र ज्याउदुमा पक्की मोटरेवल पुल निर्माणपछि सहज भएको बताउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले विगतमा चार÷पाँच वर्षमा एउटा पुलको योजना गाउँपालिकामा पर्दा समेत गौरव गर्नुपर्ने क्षण रहेको स्मरण गर्दै मादी गाउँपालिकामा मंसीर महिनामा तीन वटा मोटरेवल पुलको शिलान्यास तथा एउटा मोटरेवल र झोलुङ्गे पुलको उद्घाटन गरिएको उल्लेख गर्नुभयो ।
नेपाल सरकारको देशका ३९६ स्थानीय तहमा अस्पताल बनाउने योजना अनुसार जिल्लाको उत्तर पूर्वमा अवस्थित भौगोलिक रुपमा विकट मादीमा अस्पताल बनाउने प्रक्रिया अघि बढाइएको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ(श्याम)ले बताउनुभयो ।
उहाँका अनुसार अस्पताल बनेसँगै मादीको उत्तरी भेगका वडा नं १,२,३,४,५,६ र ७ नं वडाका नागरिक प्रत्यक्ष लाभान्वित हुने विश्वास लिइएको छ । अस्पतालको विस्तृत आयोजना प्रतिवेदन(डिपिआर), डिजाइन तथा बोलपत्र आह्वान लगायतका काम छिट्टै अघि बढाईने तयारी भईरहेको छ ।
अस्पताल निर्माणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट रु तीन करोड २३ लाख बजेटको अख्तियारी गाउँपालिकालाई आइसकेको बताइन्छ । बहुवर्षीय योजना अन्तर्गत निर्माण हुने सो अस्पपतालका लागि रु १८ करोड ३२ लाख बजेट तय गरिएको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा सङ्घ संस्थाका प्रतिनिधिले अस्पताल बनाउने काममा गाउँपालिकालाई आवश्यक सहयोगको प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा अस्पतालका लागि जमिन उपलव्ध गराउने जग्गादाता तथा ज्याउदु पुल निर्माणका जग्गादाताहरुलाई दोसल्लाबाट सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले जानकारी दिनुभयो ।
त्यसैगरि सोही कार्यक्रम अन्तर्गत आजै कास्कीको रुपा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकामा पनि १५। १५ श्ययाको आधारभूति अस्पतालको शिलान्यास गरिएको छ भने माछापुच्छ्रे तथा पोखरा महानगरपालिकामा निकट भविष्यमै अस्पतालको निर्माण प्रकृयालाई अघि बढाइने जनाइएको छ
सरकारले ३९६ स्थानीय तहमा पाँच देखि १५ श्ययाको गणुस्तरीय आधारभूत अस्पताल र मुलुकका सात वटा प्रदेशमा १। १ संक्रामक रोग उपचार अस्पताल निर्माण गरि सञ्चालन गर्ने अभियान आजै बाट शुरु गरेको हो ।
हरि बास्तोला÷कृष्ण दवाडी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।