कास्कीको अन्नपूर्णले थाल्यो १५ शैयाको अस्पताल निर्माण


     एभरेस्ट आवाज    
     मंसिर १६ गते २०७७ मा प्रकाशित




कास्कीको अन्नपूर्ण गाउँपालिकाले १५ शैयाको अस्पताल निर्माण सुरु गरेको छ।

सरकारले देशैभर एकै पटक शिलान्यास गर्ने कार्यक्रम अन्तर्गत सोमबार अन्नपूर्णले पनि आफ्नै अस्पताल निर्माणको काम थालेको हो।

गाउँपालिकाले १८ करोड भन्दा बढी लागत स्टिमेट निकालेर टेण्डर समेत आह्वान गरिसकेको छ।
कतिपय गाउँपालिका र नगरपालिकाहरुले जग्गाको खोजी समेत गर्न नसकेको अवस्थामा अन्नपूर्णले ठाउँ सुनिश्चित गर्दै टेण्डरको सूचना निकालेको छ।

‘अहिलेसम्म सूचना कसैले निकालेको रेकर्ड छैन,’ पालिका अध्यक्ष यूवराज कुवँरले भने, ‘शिलान्यास गरेका फोटा त आउला तर कहाँ बनाउने भन्ने टुंगो छैन। सबै अलमलमा छन् । देशभरमै टेण्डर प्रक्रृयामा जाने अन्नपूर्ण पहिलो हो।’

अस्पतालको कुवँरले नै शिलान्यास गरेका हुन्।

उनले सहरमा भएका ठूला अस्पतालहरुले दिने सरहकै सुविधा दिने गरी संरचना र उपकरण व्यवस्थापन गर्ने बताए।

‘पोखराको भन्दा सुविधा सम्पन्न अस्पताल बन्छ,’ कुँवर भन्छन्, ‘विकसित मुलुकमा भएका जस्तै सेवा सुविधा हुन्छ। बत्ति नहुँदा सोलारको व्यवस्था हुन्छ। उपकरण अत्याधुनिक हुन्छ। यहाँ आउने विरामी आधा त हिमाल हेरेर निको हुन्छ। स्वच्छ हावाले ६० प्रतिशत विरामी निको भैसक्छन्। शहरमा जस्तो अस्पतालमा बस्दा नाक थुनेर बस्नुपर्ने अवस्था यहाँ आउँदैन।’

साढे २ वर्षको म्याद नेपाल सरकारले दिएपनि यो अस्पताल डेढवर्ष भित्रै निर्माण सक्ने कुवँरको दावी छ। तीनतले भवनमा ५८ वटा कोठा हुनेछ। शौचालय र स्नान कक्ष छुट्ट्रै बनाइनेछ।

टेण्डरको अवधी १ महिना हुने र त्यसपछि अध्ययन सहित सम्झौता गरेर काम थालिहाल्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले बताए।

‘२०७९ जेठ मसान्तभित्र सक्नुपर्ने गरी सूचना निकालिएको छ,’ उनले भने, ‘तर, हामी त्यो भन्दा पहिले अस्पताल बनाईसक्छौं। जनप्रतिनिधिको कार्यकाल सकिनु अघि नै अस्पतालबाट सेवा सुरु हुन्छ। हाम्रा लागि यो गौरवको योजना हो।’

‘पालिकाले प्रदेश सरकारसँगको साझेदारीमा अन्नपूर्ण ५ मा हाईवे अस्पताल बनाइरहेको छ। ‘सामुदायिक स्वास्थ्य इकाईहरु बनेका छन्,’ अधिकारीले अघि भने, ‘विशिष्टिकृत स्वास्थ्य सेवाबाहेक सबै उपचार पालिकाभित्रै हुन्छ। यो अस्पताल बनेपछि स्वास्थ्यका कारण हुने वसाईसराईं रोक्छ । बरु सहर गएकाहरु गाउँ फर्कन्छन्।’

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अन्नपूर्ण गाउँपालिका अध्यक्ष धर्म तमुले संघीयताले विस्तारै प्रतिफल दिन थालेको भन्दै यसलाई संस्थागत गर्न जनस्तरबाट सहयोग आवश्यक रहेको बताए।

काँग्रेसका सभापति मनपति भण्डारी अस्पताल निर्माणको निगरानी गरी पूर्ण क्षमतामा संचालनका लागि खवरदारी गर्न आग्रह गरे। अन्य राजनीतिक पार्टीका प्रतिनिधिहरु, पूर्व जनप्रतिनिधिहरुले समेत तल्लो तहमा यति ठूलो अस्पताल बन्दा खुशी व्यक्त गरे।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।