‘कोरोना संक्रमित भएको छ भन्ने थाहा पाएपछि बोल्नै नपरे हुन्थ्यो भनेझैं गर्नेहरु आफन्त हुन सक्दैनन्’


     जीवन सुवेदी    
     मंसिर १६ गते २०७७ मा प्रकाशित




दशैँको बेला । जुठो परेर टिका ग्रहण गर्न नहुने भएपनि पारिवारिक जमघटका लागि स–परिवार पोखरा २४ स्थित जन्मघर पुगेका थियौँ । नवमीको दिन बेलुका हलुका टाउको दुखेपछि अलि छिटै खाना खाएर सुतेँ । राती ज्वरोसमेत आएपछि निकै बर्बराएछु । विहान टिकाको दिन थियो, म पटक्कै विस्ताराबाट उठ्न सकिन । विस्ताराबाट उठेर मुख धुने आँट समेत नआएको मैले त्यस दिन आमाले दिएको खानापुरै खान सकिन । आधा फिर्ता गरेँ र बाँकी खाना खाएँ । “कसैले सोधे भने सिरक मुनी गुटमुटिएको छ भनिदिनुहोला” भन्ने स्टाटस मुहार पुस्तिका (फेसवुक)मा पोष्ट्याएर दिनभर सुतिरहेँ । तर ज्यानमा यस्तो भईरहँदा पनि मलाई कोरोनाको याद समेत आएन । केहि साथीहरुले फोन गरेर सोध्नुभयो “कतै कोरोना भएको त होईन रु” तर मैले, “होईन गाउँतिर आएपछि पानी पनि फेरियो र मौषम परिवर्तनको पनि बेला पनि छ त्यसैले होला नि १” भनेर जवाफ दिएँ । तर भोलिपल्ट गाउँबाट पोखरा आउँदा जब मोटरसाईकल चलाउन थालेँ मैले सँधै लिएर हिँड्ने मोटरसाईकलले त्यस दिन चाँहि उसैले नै मलाई लिएर हिँड्ला जस्तो भयो । अगाडिको पाङ्ग्रा कता गुड्छ म पनि त्यतै त्यतै गुडिरहेजस्तो भयो । पोखरा आईसकेपछि एकपटक त कोरोना परिक्षण गर्न पर्छ भन्ने लाग्यो, तर परिक्षणपछि समाजले हेर्ने दृष्टिकोण सम्झँदा नगरौँ भन्ने पनि लाग्यो । अन्ततः साथीभाई र अरु सहकर्मीहरुलाई जोगाउन र आफू ढुक्क हुन भएपनि पिसिआर गर्नुपर्छ भन्ने सोंच राखेर कार्तिक १२ गते पोखरा महानगरको मालेपाटन स्थित रेशम विकास तालिम केन्द्रमा पुगेर स्वाव दिएँ । त्यस दिनदेखि नै घरमा आएर एकान्तबास सुरु गरेँ । लक्षण कोरोनासँग मिल्ने खालकै भएपनि मनले भने अझै पनि रिपोर्ट नेगेटिभ आउँछ भनिरहेको थियो । किनभने वर्षमा कम्तिमा एकहप्ता म सामान्य ज्वरो, रुघाखोकीबाट ग्रसीत हुने गर्थेँ र अहिले पनि त्यहि भएको होला भन्नेमा म थिएँ । तर सोचेँझैँ परिणाम आएन । दुई दिनपछि अर्थात कार्तिक १४ गते पत्रकार एवं प्रेस संगठन कास्कीका संयोजक माधव बरालले पिसिआर रिपोर्ट पोजेटिभ आएको जानकारीे दिनुभयो । र बल्ल सुरु भयो वास्तविक कोरोना संक्रमण । अनि म बल्ल आँफूलाई संक्रमित महशुस गर्न थालेँ । रेडियोबाट संक्रमण भैहाले पनि आत्तिनु हुँदैन भन्ने म आँफै संक्रमित हुँदा भने आफैपनि नआत्तिएको भने होईन । तर श्रीमती, छोराछोरी सम्झेर केहि सम्हालिएँ । त्यसपछि सहज रुपमै लिएँ ।
संक्रमित भएको थाहा पाउनेवित्तिकै सबैभन्दा पहिले त म कार्यरत संस्था थ्रि एन्जल्स नेपाल र थ्रि एन्जल्स सामुदायिक रेडियोमा जानकारी गराएँ । पत्रकार साथीहरुसंग चाहिँ पछिल्लो समय उतिसारो हेलमेल नभएकाले मेरो कारण कोहिपनि कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएन । संक्रमित भएको जानकारी आफू बसेको टोलका अध्यक्ष माधव पनेरुलाई पनि दिएँ । विहान बेलुकाको खाना र रातीको आरामका लागि मात्र घरमा रहने म दिनहुँ एउटै कोठामा थुनिन पुगेँ । एकान्तमा थुनिएर बस्न चाहिँ कठिन नै हुनेरहेछ । तर मोवाईल र ईन्टरनेटका कारण केहि सहज भयो । पत्रकार त्रिभुवन पौडेलले सामाजिक सञ्जाल फेसबुकमा संक्रमितहरुको छुट्टै ग्रुप बनाउनुभएको रहेछ उक्त ग्रपमा रहेका सबै संक्रमितका अनुभवहरुले केहि सहज पनि बनायो । रोगको उपचार नभएको बेला संक्रमितकै अनुभव सुनेपनि उपचार जस्तै हुने रहेछ ।

संक्रमित भएको करिब ४ दिनपछि नाकले गन्ध थाहा पाउन छोड्यो । अर्को दिन विहानको खानामा नुनबाहेक केहि थाहा पाईन । स्वाद र गन्ध दुबै आउन छोड्यो । त्यो अवस्था पार गरिसक्नुभएका साथीहरुको अनुभवले स्वाद र गन्ध पुनः फिर्ता पाउने आशा बढायो । र करीब ५ देखि ७ दिनसम्म हराएको स्वाद र गन्ध दुबै पछि फिर्ता भयो । निन्द्रा खुब लाग्थ्यो । बीचमा दुई रात यति बेस्सरी निदाईएछ कि विहान उठ्दा समेत लौ आज त बाँचिएछ भनेजस्तो लाग्थ्यो । धेरै साथीहरुले ज्यान दुखेको कुरा गर्नुभयो तर मलाई दुई तिन दिन हात पाखुरा दुख्नु बाहेक अन्य सहन नसक्ने दुखाई भएन । उमेर र शरिरको स्वास्थ्य अवस्था अनुसार लक्षणहरु फरक फरक हुने रहेछ ।
आफू संक्रमित भएर छुट्टै कोठामा बसिरहँदा श्रीमतीको साथ सबैभन्दा अविष्मरणीय रह्यो । जन्मदिने आमाले झैँ उनको स्याहारबाट म विस्तारै निको हुँदै गएँ । तर उनीभने झन् झन् विरामी हुँदै गईन् । अन्ततः उनीमा पनि भाईरसले आक्रमण गरेरै छाड्यो । करीब १० दिनपछि त्यसपछि दुबैजना पोजेटिभ । त्यसपछि झन् तनाव थपियो । तर उनीभित्रको आत्मविश्वास मेरो भन्दा पनि बलियो थियो । एक दिनपनि घरको काम नरोकी साविक झैँ दिनचर्या गरिरहिन् । हुन त नगरेर पनि कस्ले गरिदेओस । यो उनको बाध्यता थियो । तर उनको यस्तो कामबाट मेरो आत्मबल भने अझ थपियो । मलाई भन्दा उनलाई अझ बढि लक्षणहरु देखियो । एकदिन रातीमा श्वास फेर्न गाह्रो भयो भनेपछि म निकै आत्तिएको थिएँ । पछि तातोपानीको बाफ लिएर जेठिमधुको टुक्रा खाएर सुतेपछि उनलाई अलि सहज भयो । सायद यस्तै कठीन मोडहरुमा एक अर्काको साथ पाउने भएको हुनाले नै जीवन साथी भनेको हुनुपर्छ । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यको गितमा भनेझैँ सायद यसअघि हाम्रो माया उनान्सय थियो भने कोरोना का कारण उत्पन्न परिस्थितिमा बाँकी १ पनि थपिएर सय नै भयो ।

कोरोना संक्रमणले मलाई पीडा र छट्पटी मात्र दिएन धेरै मानिस, छिमेकी, आफन्त र साथीभाई चिन्ने अवसर पनि दियो । म कार्यरत संस्थाका अध्यक्ष शारदा खत्री गौतम, प्रमुख कार्यकारी निर्देशक डा.राजेन्द्र कुमार गौतमलाई जति धेरै धन्यबाद दिएपनि पुग्दैन । सायद कमै भाग्यमानीले मात्र उहाँहरु जस्तो नेतृत्वदायी अभिभावक पाउँछन् । उहाँहरु सहित अफिसका साथीहरुले एक महिनाका लागि म र मेरो परिवारका कोहिपनि सदस्य बाहिर निस्कनै नपर्ने गरी बन्दोवस्ती मिलाईदिनुभयो । जसले गर्दा धेरै सहज भयो ।
संक्रमितले खानपानमा विशेष ध्यान दिनुपर्छ भन्ने पहिलेदेखि सुन्दै आएको । विहानै उठेसंगै कागती पानीमा मह मिसाएर पिएँ । खाना सादा नै खाएँ प्रायः तर खानामा कागति अनिवार्य गरेँ । साथमा अण्डा, भिजाएर टुसाएका गेडागुडीको रस, जेठी मधु, गुर्जो, बेसार पनि लाभदायक हुने अनुभव गरेको छु । खानपानमा ध्यान दिन अति आवस्यक रहने कुरा पनि
साथमा सच्चा रुपले चासो देखाएर बेला–बेला फोन गर्दै हौसला दिने डा। बद्री पौडेल, पत्रकार माधव बराल, हरि बास्तोला, दीपेन्द्र श्रेष्ठ, रामकृष्ण ज्ञवाली, अर्जुन गिरी, नवराज सुवेदी, श्रीराम सिग्देल, सन्देश श्रेष्ठ, घनश्याम पाण्डेय, कृष्णमणी बराल, राम गुरुङ, गोविन्द सुवेदी, रामकृष्ण ज्ञवाली लगायत सम्पूर्णलाई धेरै धन्यवाद ज्ञापन गर्दछु ।
पहिले पहिले जस्तो समाजमा अझैपनि कोरोना संक्रमितप्रति गर्ने व्यवहार नकारात्मक नभएपनि पूर्ण रुपमा सकारात्मक बन्न सकिरहेको छैन । हुन त म बसिरहेको टोलमा पक्कैपनि म नै पहिलो संक्रमित नहुन सक्छु । कसैले संक्रमण भएर पनि जाँच गर्न हिच्किचाउँदै लुकाएर बस्नुभएको पनि हुनसक्छ । तर मैले सार्वजनिक रुपमा जानकारी दिएँ । यसमा म के उल्लेख गर्न चाहन्छु भने हो, हामी संक्रमित भयौँ । जोगिँदा जोगिँदै पनि । तर कतैबाट शरीरमा भाइरस प्रवेश गर्नु कुनै पाप तथा अनैतिक कार्य होइन । हामी जो कोहीलाई जुनसुकै बेला भाइरस संक्रमण हुनसक्छ । त्यही अनुरुप मेरो परिवारमा पनि देखियो समस्या । तर महशुस गरेको कुरा के भने संक्रमितलाई माया, सद्भाव, हौसला र ख्याल गर्नुपर्ने जरुरी हुन्छ । यस्तो अवस्थामा संक्रमितलाई समयसमयमा फोन गर्ने, समस्या सोध्ने तथा केही परे हामी छौं है भनेर ढाडस दिनु आवश्यक हुनेरहेछ । अझ परिवार नै संक्रमित भएको छ भने वा कुनै एक्लै बसेको व्यक्ति संक्रमित भएमा ठूलो समस्या पनि हुन सक्दछ ।
यस्तो अवस्थामा छिमेकी तथा आफन्तले सुरक्षित रहँदै खानेकुरा, औषधि आदिको व्यवस्था गरिदिनु पर्ने हुन्छ । बोल्दैमा रोग सर्ने होइन । भौतिक दुरी कायम गरी संक्रमितलाइ केही समय दिएर कुरा गरिदिँदा पनि हलुका भएको महशुस हुनेरहेछ । यस्तो आत्मीय व्यवहार र सहयोगले संक्रमितको मनोबल बढाउने रहेछ । समुदायमा सम्बन्ध बलियो हुन्छ र भविष्यमा आफूलाई पनि गाह्रो परेमा धेरै सहयोगी हात हुन्छन् ।
साथै महशुस गरेको अर्को कुरा के भने, प्राय जुनसुकै अवस्थाको विरामीलाई पनि हामीले फलफुल, तथा तागतिला खानेकुरा लिएर भेट्न जाने गर्छौँ । तर कोरोना संक्रमण भएकाहरुका हकमा त्यो कुरा लागू भएको छैन । फलानो संक्रमित भएको छ रे भन्ने थाहा पाएपछि सकेसम्म बोल्नै नपरे हुन्थ्यो, सहयोग गर्नै नपरे हुन्थ्यो झैँ गर्नेहरु आफन्त हुन सक्दैनन् । संक्रममितका लागि भौतिक दुरी कायम गरेरै भएपनि बोलाउन जाने वा आवस्यक कुराहरुको आपूर्तिमा विशेष ध्यान दिनुपर्दछ जस्तो मलाई लाग्यो ।
यसरी करिब २७ दिनसम्म रोगसंग जुधिसकेपछि बाबु र नानीसहित हामी चार जना पिसिआर परिक्षणका लागि पुग्यौँ । हुन त अहिले १५ दिन आईसोलेशन बसेपछि पुनः परिक्षण गर्नु पर्दैन भनिएको छ । तर समाजले नेगेटिभ नै रिपोर्ट खोज्दछ भन्ने लागेर हामी परिक्षणका लागि पुगेका थियौँ । हुनपनि सबैजनाको परिक्षण नतिजा नेगेटिभ देखियो । लामो श्वास तान्दै भन्यौं बल्ल जितियो । संक्रमण भएपछि पहिलेकै जस्तो स्वास्थ्य अवस्थामा फर्किन अझै केहि समय लाग्ने रहेछ । अझैपनि पहिले जस्तो स्फूर्ति शरिरमा फिर्ता भईसकेको छैन् । अलिबेर सीधा उभिँदा ढाड दुख्ने, थोरैमात्र चिसो खाएपनि खोकी लागिहाल्ने, कमजोर महसुस हुने जस्ता कठिनाईहरु सकिएका छैनन् । आशा गरौँ यस्ता कमजोरीहरु पनि विस्तारै हटेर जानेछन् ।
अहिले देखिन्छ बजारभरी मानिसहरु एकछत्र हिँडडुल गरिरहेका छन् । सरकारले जति ध्यान दिनुपर्ने थियो दिईसकियो अब केहि गर्न सकिन्न झैँ गरेको छ । यस्तो अवस्थामा जोगिने आँफै हो । कोरोना केहि होईन भनेर लापरवाही गर्नेहरुकै कारण भाईरस दिनहुँ फैलिईरहेको छ । तसर्थ यसबाट जोगिन सचेतना अपनाउन आवस्यक छ । भौतिक दुरी, मास्कको सहि प्रयोग, भीडभाडमा कम जाने र गुणस्तरीय सेनिटाईजर प्रयोग गर्दै साथीभाई भन्दैमा जुठो खाने वा ह्या केहि हुन्न भन्ने सोच त्याग्ने हो भने यसको संक्रमणबाट धेरै हदसम्म बच्न सकिन्छ भन्ने मेरो बुझाई हो । अन्तमा, संक्रमितलाई आईसोलेट गरिएपनि समाजबाटै पूर्ण रुपमा एक्लो भएको महशुस हुन दिनु हुँदैन । संक्रमण हुनुलाई अपराध जस्तो ठान्नु पनि हुँदैन । राज्यका निकायहरुले पनि अब संक्रमणबाट बच्ने उपाय मात्र बताएर हुँदैन, संक्रमित भईसकेपछि आत्मबल बढाउने किसिमका विभिन्न जानकारीहरु दिन आवस्यक देखिन्छ । संक्रमितहरु एक अर्काको अनुभवकै भरमा विभिन्न औषधिहरु सेवन गरिरहेका छन् । विभिन्न मिडियामा अवस्था बर्बाद भएको जानकारी आईरहेको छ । तर अहिलेसम्म प्राप्त अनुसन्धानका आधारमा प्राप्त केहि जानकारीहरु राज्यका आधिकारिक निकायबाट प्रदान गर्न र विरामी सिकिस्त भईहालेमा राज्यले जसरी पनि उपचार गर्छ भने विश्वास दिलाउन सकिरहेको छैन । यसतर्फ राज्यको ध्यान पुग्नुपर्ने देखिन्छ ।

लेखक थ्री एञ्जल्स रेडियो र एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।