निर्माणको अन्तिम चरणमा १४ मेवाको घारखोला जलविद्युत


     एभरेस्ट आवाज    
     असाेज ९ गते २०७९ मा प्रकाशित




फाइल तस्बीर

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।

वि. सं. २०७४ चैत महीनादेखि शुरु भएको घारखोलाको ९२ प्रतिशत निर्माण सकिएको आयोजनाको प्रवर्द्धक कम्पनी म्याग्दी हाइड्रोपावरले बताएको छ । कम्पनीका अध्यक्ष भरत नेपालले आयोजनाको बनिसकेका संरचना परीक्षण गर्न थालिएको जानकारी दिए ।

‘बाँध र डिसेन्डर (पानी थिग्राउने पोखरी) मा पानी हालेर परीक्षण सुरु गरिएको छ’, उनले भने ।

आगामी मंसीर महीनादेखि परीक्षण उत्पादन शुरु गर्ने तयारी र लक्ष्यका साथ सिभिल, हाइड्रो र इलेक्ट्रोमेकानिकलतर्फको कामलाई तीव्रता दिइएको आयोजनाका इन्जिनियर जोसेप बज्राचार्यले बताए । अन्नपूर्ण गाउँपालिका–५ शिख र ६ घारको सिमानामा पर्ने कुरिलाबगरमा जगदेखि ११ मिटर अग्लो बाँध निर्माण गरिएको छ । बाँध र ४५ मिटर लम्बाइको २ वटा पानी थिग्राउने पोखरी (डिसेन्डर)मा परीक्षणका लागि पानी हालिएको छ । डिसेन्डरदेखि सुरुङसम्म २४८ मिटर लामो डिसेण्डर एप्रोच क्यानल जडान भएको छ ।

अमिलाकाफलमा रहेको आउटलेटदेखि विद्युतगृहसम्म ४८५ मिटर पेनस्टक पाइप जडान गरिएको छ । आउटलेटदेखि विद्युतगृहको दूरी १ हजार १०० मिटर र उचाइ ४८५ मिटर छ । पोखरेबगरस्थित गोजेखोल्सीमा पहाड काटेर बनाइएको विद्युत्गृहमा छाना छाउने र पर्खाल लगाउने तयारी भएको छ ।

विद्युतगृहमा जडान गरिने टर्वाइन, जेनेरेटरलगायत इलेक्ट्रोमेकानिकलतर्फका उपकरण आयोजनास्थलसम्म ढुवानी भइसकेको छ । जडानका लागि प्राविधिक टोली आएका छन् । घारखोलाको इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्रालि इन्डिया, हाइड्रोमेकानिकल ठेकेदार सिई हाइड्रोमेकानिकल वर्क प्रालि र सिभिल ठेकेदार साउथ एशियन इन्फास्टक्चर हो ।

पोखरेबगरदेखि २२० केभी क्षमताको दाना सब स्टेशनसम्म आठ किलोमिटर ३३ केभीएको डबल सर्किट प्रसारण लाइनको पोल गाड्ने, तार तान्ने र सवस्टेशनमा सिभिल संरचना बनाउने काम भइरहेको इन्जिनियर बज्राचार्यले बताए।

कुल २ अर्ब ४२ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा एनएमबी बैंकको नेतृत्वमा एनआईसी एशिया, कुमारी र प्राइम कमर्सियल बैंकले लगानी गरेका छन् । नागरिक ऊर्जा बुटवल लिमिटेडको अगुवाइमा रुपन्देहीका सर्वसाधारणले पनि लगानी गरेका छन् । विसं २०७८ माघमा सञ्चालन गर्ने लक्ष्य राखिएको आयोजना निर्माण कोरोना, निषेधाज्ञा, बन्दाबन्दी र प्राकृतिक विपद्का कारण ढिलाइ भएको सञ्चालकको भनाइ थियो ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।