‘विफोर नारायणगोपाल र आफ्टर नारायणगोपाल’

- सन्दर्भ : ३० औं नारायणगोपाल स्मृति दिवश


     प्रकाश सायमी    
     मंसिर १८ गते २०७७ मा प्रकाशित




प्रकाश सायमी

नेपाली संगीतको इतिहास लेखिँदा विफोर नारायणगोपाल र आफ्टर नारायणगोपाल भनेर नै लेखिनेछ, यसमा विवाद नरहला ।
नारायणगोपालले गोपाल योञ्जन र नगेन्द्र थापासित मिलेर आफ्नो गायनको विशेष यात्रा शुरु गर्दा उनका यसअगिका ६ गीतका इतिहासले एउटा अद्धितीय पाना ओगटिसकेको थियो ।

हिन्दी गीत भर्सेज् एन गोपाल :
किलागल बस्ने नारायणगोपाल गुरुवाचार्य र कमलपोखरी बस्ने रत्न शम्सेर थापालाई जोड्ने श्रेय त्यतिवेलाको त्रिचन्द्र कलेजलाई जान्छ । रत्नशम्सेर थापासित भेट्न अगि नारायणगोपालले प्रेमध्वज प्रधान र माणीकरत्न स्थापितको संयुक्त संगीतमा गीतकार राममान श्रेष्ठको शब्दमा जीवन पंखका स्वाद लिएर उडे रेडियो नेपालमा गाइसकेका थिए , स्वरपरीक्षामा ।
शाही शासनकालको रेडियो नेपालमा हिन्दी गीत गाएर स्वर परीक्षा दिने परम्परा तोड्ने पहिलो गायक नै सम्भवतः नारायणगोपाल नै थिए । त्यसो त नारायणगोपालको प्राथमिक गायन वा अभ्यासी शैलीका गीतमा हिन्दी गीत नै विशेष थिए , विजय भट्ट निर्देशित ‘बैजु बावरा’ काठमान्डूको जयनेपाल चित्रघरमा प्रदर्शित हुँदा नारायणगोपाल हल बाहिर भीड जम्मा गरेर गाउन पुग्थे , उनका कान्छा भाइ लक्ष्मणगोपाल गुरुवाचार्यको सम्झना छ ।
नारायणगोपालका घनिष्ठ मित्र थिए , भक्तपुरका गायक संगीतकार अभिनेता नगेन्द्र हाडा । भक्तपुरको प्रसिद्ध सिनेमा हल नवदुर्गाका साहु दैवज्ञरत्न हाडाका छोरा नगेन्द्रलाई नारायणगोपाल नाति भनेर बोलाउँथे । हाडा पनि नारायणगोपाललाई सानुबाबु भनेर बोलाउँथे । दुवैको मातृभाषा नेवारी थियो र यी दुई नेवारीमा भन्दा बढी हिन्दीमै कुरा गर्थे ।
नातिको घरमा नारायणगोपालले कैँयौ पटक हिन्दी गीत गाएका छन् , विशेषतः बलिऊड गायक मोहम्मद रफीका फिल्मी गीतमा उनी खूब जम्थे । नातिकै घरमा नारायणगोपालको हिन्दी गीत सुनेका र आफूले पनि नारायणगोपाललाई अँग्रेजी गीत सुनाएका नेपालका प्रथम रक गायक मुकुन्द के खड्का भन्छन् , उहाँले रफीको साथी ना कोई मञ्जिल र तलत महमूदको आँसु समझ के क्योँ मुझे ।। गाउँदा नगेन्द्र दाइको घरको दलिन हल्लिए जस्तो महशूश भएको थियो । त्यो आज पनि मलाई याद छ । मैले उहाँलाई इँग्लिश गीत एल्भिस प्रेस्लेको हेल्प मी मेक इट थ्रु द नाइट सुनाए पछि उहाँले नगेन्द्रजीतिर हेरेर ए नाति भाइलाई हाँइ भन्नु भयो । मैले बुझिनँ । पछि हाडाजीले भन्दा त्यो त उहाँले प्रशंसा गरेको हो , मुकुन्दजी । ।।।
मुकुन्द खड्काका अनुसार नारायणगोपाल र नगेन्द्रका वीच यस्तो घनिष्ठता थियो तर दुवैले दुवैको गीत कहिल्यै गाएनन् , न त मागे ।
यो थियो , एन गोपालजीको क्वालिटी ।
मुकुन्द खड्काका अनुसार नारायणगोपाल शुरुवातमा एन गोपालको नामबाट नै रेडियोमा प्रवेश गरेका थिए , पछि पोखराबाट सरोजगोपाल नामका गायक आए पछि उनले आफ्नो नाम नारायणगोपाल कै रुपमा दर्ता गरे तर त्रिचन्द्र कलेजको झिगु सः नामक् कार्यक्रममा उनको नाउँ एन गोपाल नै लिखित छ ।
त्रिचन्द्र कलेजबाट निस्केपछि एन गोपालले तबलावादका साथै गायनमा आफ्नो अधिपत्य जमाए ।

बागीना सँगै नागोन :
आफनै संगीतमा रत्न शम्सेर थापाका पुग नपुग आठ ओटा रेकर्ड र अन्य रेकर्ड हुन नपाएका गीत पछि नारायणगोपालको अर्को इनिँग गोपाल योञ्जनसित शुरु भयो । गोपाल योञ्जनसित सन् १९६५ मार्च २१ का दिन भारतको दार्जीलिँगमा कवि गीतकार ईश्वरवल्लभले मीत लगाईदिएपछि मितेरी संगीतको युग शुरु भयो ।
मितेरी संगीतको त्यो शालीन युगमा नारायण र गोपालसित नगेन्द्र थापा पनि जोडिए ।
नगेन्द्र थापाका मस्ट रोम्यान्टिक गीत संगाल घुम्टोहरु , विर्सेर फेरि मलाई नहेर जस्ता गीत गाए पनि नारायणगोपालले आफू हिँडेर आएको बाटो फर्केर हेर्नु परेन ।
उनी यतिवेला भारतको बरोडास्थित महाराज सर्वेजय संगीत महाविद्यालयमा शास्त्रीय संगीत पढ्दैथिए । यहीँ हुँदा उनले नगेन्द्र थापाकै शब्द गोपाल योञ्जनको संगीतमा चिनारी हाम्रो धेरै पुरानो गाए ।
यो गीत पछि उनको दार्जीलिँगसित वैवाहिक सम्बन्ध जोडियो ।
नारायणगोपाल यसपछि नेपालको जस्तै भारतको दार्जीलिँगका पनि प्रिय गायक भए ।
लोकप्रियताको प्रथम चरणमा हुँदै उनले शास्त्रीय संगीतको अध्ययन त्यागिदिए । उनले शास्त्रीय संगीतको विशाल राजमार्गमा हराउनु भन्दा नेपाली सुगम संगीतमा नयाँ राजमार्ग बनाउने सोच बनाए , यसमा गोपाल, नगेन्द्र उनका साथ थिए । यही वेला नारायण, गोपाल र नगेन्द्र मिलेर बाजा ,गीत र नाचको त्रैमासिक पत्रिका बागीना निकाले । नगेन्द्रको पैसा , गोपालको व्यवस्थापन र नारायणको सम्पादनमा प्रकाशित बागीना नेपालको तेस्रो संगीत प्रधान पत्रिका थियो , हिमाली कलाकार र संगीत सरिता पछि ।
नारायणगोपाल यहाँ सम्म आईपुग्दा नेपाली गीतको आधुनिकतामा बच्चुकैलाश बस्न्यात , प्रेमध्वज प्रधान , माणिकरत्न ले बनाएको गायनको मधुर युग अझै अक्कासिसकेको थियो ।
नारायणगोपालको स्वरारोहणमा स्वरिता मात्र थिएन, शब्दको त्वरित भावन अनि समकालिकताको उच्छ्वास प्रशस्ति थियो । उनी दोयम टाइपका गायक थिएनन् , अब्बल श्रेणीका थिए ।
पिताको इच्छा विरुद्ध सुगम संगीतमा लागे देखि नै उनलाई आधुनिक गीति गायनमा पनि प्राज्ञिक चेतना ल्याउन सकिन्छ भन्ने सोचको बलियो धार बन्दै गयो । उनले कवि ईश्वरवल्लभ, महाकवि लक्ष्मीप्रसाद देवकोटा, युगकवि सिद्धिचरण श्रेष्ठ, नेपालभाषाका महाकवि गिरिजाप्रसाद जोशी , नेपालभाषाका जनकवि दुर्गालाल श्रेष्ठका गीतमा हाइजम्प मार्न थालिसकेका थिए ।
यही समय बागीना पछि नागोन ले अर्को छलाँग लगाए , मितज्यू नाइट ।
मितज्यू नाइट २०२६ साल भाद्र ५, ६ र ७ गते काठमान्डूको महेन्द्र पुलिस क्लबमा सम्पन्न भएको थियो । यो म्युजिकल स्वाइरीमा नारायण र गोपाल मञ्चमा गायनमा थिए भने नगेन्द्र कार्यक्रम उद्घोषकका रुपमा थिए । सहयोगी कलाकारमा कमला श्रेष्ठ, राजपाल थापा र ध्रुब हाडा पनि समाहित थिए ।
मितज्यू नाइटको समीक्षात्मक टिप्पणीमा साहित्यकार पारिजातले नारायणगोपालको धज्जी उडाए ।
गोरखापत्र मा छापिएको सो समीक्षा पढे पछि नारायणगोपाल पनि तत्कालै प्रतिकारमा उत्रिए ।
नारायणगोपालले आफूले साहित्यकारसित खुलेआम आफूलाई जोडेको र तोडेको यही वेला हो ।
२०२६ सालको यो घटना पछि नारायणगोपाल कैँयौं वर्ष मञ्चमा देखिएनन् । त्यसको दशवर्षपछि उनी ‘सिटी सुसेली’मा सभागृह मा देखिए जुन कार्यक्रममा हुटिँगका कारण गीत नगाई उनी मञ्चबाट ओझेल परेका थिए ।

म्युजिक ह्यान्ड एन्ड नारायणगोपाल :
नारायणगोपालले आफ्नो गीत रेकर्डिँग गर्दा सदैव देख्ने एउटा समस्या हो , वाद्यवृन्दको । जसलाई उनी म्युजिकल ह्यान्डस् भन्थे ।
आफ्नो पहिलो निजी अल्बम गीति यात्रा रेकर्ड गर्दा उनले पश्चिम बँगालको दार्जीलिँगबाट कार्निभल समूहको वाद्यवादक नेपाल झिकाएका थिए जसरी संगीतकार अम्बर गुरुँगले कहिले लहर कहिले तरँग रेकर्ड गर्दा उतैबाट वाद्यवादक झिकाए थिए त्यसमध्ये धेरै अहिले यतै निवासित भएसके ।
नारायणगोपालको जीवनको पहिलो रेकर्डिँग कोलकत्तामा सम्पन्न भयो , त्यहाँ उनले व्यापक म्युजिकल ह्यान्ड्स् देखे तर नेपालमा त्यसको अभाव नै महशूश गरे । उनैले पहिलो पटक चलचित्र परिवर्तन को गीत गाउन जाँदा अझै धेरै वाद्यवादक देखे उनी ताज्जुब भए , त्यस समय देखि उनले नेपालमा संगीत विद्यालय हुनुपर्छ र वाद्यवादकको समूह खोलिनु पर्छ भनेर सपना देखे ।
नारायणगोापाल हिँडेको बाटोमा म्युजिक स्कूल वा म्युजिकल ह्यान्ड्स्को अर्गनाइजेशन एउटा प्रमुख एजेन्ड थियो , उनले गीत गंगा त्यतिवेला सोचेका थिए आज बल्ल त्यसको खाका कोरिँदै छ ।
गीत रेकर्डिँगमा अत्यावश्यक बाजा भ्वायलेन, सैक्सोफोन , क्लार्नेट , सीतार , सन्तुर , एकतारे ई सबै वाद्यवृन्दमा हामी कमजोर हुनुहुँदैन भन्ने उनको ठोकुवा सदैव कायम थियो ।
नारायणगोपालले वाद्यवादकको अभाव महशूश गर्दा गर्दै पनि उनले चलचित्रका गीत मम्बई र कोलकत्तामा रेकर्ड गरे । कान्छी , परिवर्तन , मनको बाँध आदि चलचित्रको रेकर्डिँग कोलकत्तामा गरे भने सिन्दूर, लाहुरे , चिनो , दक्षिणा, कोसेली आदिको भारतको मुम्बईमा गरे ।
पछिल्लो समय गाएका दुई चलचित्र माया को गीत यहीँ ललितपुरस्थित साँग अडियो स्टुडिओमा गरियो भने बद्लिँदो आकाश को गीत शाही नेपाल चलचित्र संस्थानको स्टुडिओमा रेकर्ड गरियो ।
श्याम राई निर्देशित फिल्म चोट नामक् फिल्मको गीत रेकर्डिँग पनि यहीँ सम्पन्न भयो ।
नेपालमा उनी रेकर्डिँगमा त्यति धेरै सन्तुष्ट हुन नसक्नुको कारण म्युजिकल ह्यान्डस् नै मानिन्छ । उनका धेरै गीत रेकर्डिँग गर्ने प्रदीप उपाध्याय , सुदन खत्री यही बताउँछन् ।
प्रदीप उपाध्यायले माया फिल्मका उनका गीत रेकर्ड मात्र गरेनन् त्यसलाई मास्टरिँग पनि उनैले गरेका हुन् । नारायणगोपालको पछिल्लो अल्बम गीति यात्रा को संयोजन र रेकर्डिँग पनि उपाध्यायले नै गरेका हुन् ।
सुदन खत्रीले रेडियो नेपालमा भएका प्रायः रेकर्डिँगको टेक उनैले लिएका हुन् ।
ब्लाकलिस्ट देखि ब्लुनोट्स सम्म : सिंहदरवारभित्र कैद भएको रेडियो नेपाल विस्तारै दुई संगीतकार अनि एक गायिकाको मुठ्ठीमा परेपछि नारायणगोपालले रेडियो नेपालले आयोजना गरेको एक सांगीतिक साँझमा खुलेर रेडियो नेपालको विरोध गरे पछि उनी रेडियो नेपालको ब्ल्याक लिस्टमा परे , यो उनको निम्ति चुनौतिको भन्दा चयनको नयाँ बाटो बन्न गयो ।
रेडियो नेपालसितको दोस्ती दुश्मनीमा बद्लिए पछि नारायणगोपालले दिव्य खालिँगसितको सहकार्यमा रत्न रेकर्डिँगमा चार गीत रेकर्ड गराए , ती प्रायः गीत पछि रेडियो नेपालले नै हिट बनाए ।
दिव्य खालिँगको सँधै नै म हाँसे तिमीलाई रुवाई , मायाको आधारमा , विपना नभई बाँचिदिने , म त लाली गुराँस भएछु जस्ता गीतले उनलाई भव्य सफलता दियो । यी गीत नारायणगोपालको लागि भन्दा दिव्यको निम्ति एल दराडो सावित भयो ।
यतिवेला नारायणगोपालको चेतन कार्कीको फिल्म विश्वास को रिहर्सल ताका गोपाल योञ्जनसित ठाकठुक परे पछि बोलचाल र मित्रतामा क्षयीकरण आइसकेको थियो । गोपाल योञ्जन पछिको दोस्रो ईनिँग नारायणगोपालको दिव्य खालिँगसित शुरु भयो । दिव्यसितै मिलेर पछि नारायणगोपालले रत्न रेकर्डिँगको ब्ल्यू नोट्स् विद् नारायणगोपाल शुरु गरे ।
धेरैले नारायणगोपालको यो अल्बमलाई ब्ल्यूजु सँग जोडेका छन् तर यो ब्ल्यूज् अर्थात् रोइला गीत भने चैँ होइन ।
ब्ल्यू नोट्स्मा नारायणगोपालले पुनः हरिभक्त कटुवाललाई भित्र्याए । आसामका ख्यातिप्राप्त कवि कटुवालको दुई रचना नारायणगोपालले अम्बर गुरुँगको संगीतमा मेरो यो गीतमा जो मुच्र्छना छ र पोखिएर घामको झुल्का गाइसकेका थिए । नारायणगोपालले राजेन्द्र थापाको शब्दमा अम्बर गुरुँगको संगीतमा पोहोर साल खुशी फाट्यो जतन गरी मनले टालेँ ।।। गाउने तयारी गर्दा गर्दै यी दुईको वीचमा पनि द्धन्द्ध शुरु भयो , यो गीत अञ्जु सिंह मोथेले गाउने तैयारी भयो । तर रेकर्डिँगको दिनमा यो गीत अरुणा लामाले गाउँदै थिइन् ।
रत्न रेकर्डिँग , दिव्य खालिँग पछि नारायणगोपालले आगामी पुस्ताको निम्ति ढोका खोले ।
दिव्य पछि नारायणगोपालले दिपक जंगम , शुभ शम्भुजित , चन्दन लम्जेल, भूपेन्द्र रायमाझी , द्वारिकालाल जोशी , रञ्जीत गजमेर , मधु क्षेत्री आदिको निम्ति बाटो खोलिदिए । यसमध्ये द्वारिकालाल जोशीको एक नेवारी गीत जीवनय् छक जिँ मतिना ।।। चैँ रेकर्ड हुन पाएन ।
नारायणगोपालको मातृभाषा नेवारी भएपनि उनले नेवारीमा उनले गिरिजाप्रसाद जोशी र दुर्गालाल श्रेष्ठका चार गीत गाएका छन् जसको प्रामाणीक रेकर्डिँग हुन पाएन ।

सांस्कृतिक संस्थानका एक्ला जीएम :
एक फरक प्रसँगमा हेर्दा नारायणगोपाल के हुन सक्छन् ?
उनको आफ्नै भाषामा भन्दा उनी गायक नभइदिएको भए इतिहासको प्राध्यापक हुन्थे । तर भएनन्
उनी कुश्तीवाजी , चेस अनि फुटबलमा रुचि भएका नारायणगोपाल तबलावादकका रुपमा सांस्कृतिक संस्थान प्रवेश गरेका नारायणगोपाल त्यहीँका हाकिम भए । घ श्रेणीको संस्थानमा उनी घमन्डी जी.एम. रुपमा चिनिए । तत्कालीन मन्त्री केबी शाहीले गीतकार नगेन्द्र थापालाई सो पद अफर गरेपछि उनले विना शर्त नारान् बाहेक यो पदमा अरु कोही हुन सक्दैन भने ।
नारायणगोपाल सांस्कृतिक संस्थानको जीएम हुने वित्तिकै उनका साथीभाइ उनीबाट दूर भए ।
उनी संस्थानको जीएम भएकै समय दशैँको मुखमा चालीस जना कलाकारको अस्थायी जागीर चट् भयो , त्यसमध्ये उनकै साथी माणीकरत्न पनि परे । हास्यकलाकार हरिवंश आचार्य , श्रीधर थापा , तारादेवी त्यही समयका विरोधी भए ।
कलाकार हिमालय लोहनीले यस कदमको विरोध गर्दे पम्पलेटिँग सम्म गरे ।
यी सबै घटनाका वावजूद पनि नारायणगोपालले आफू महाप्रवन्धक हुँदा सांस्कृतिक संस्थानबाट गीति नाटक मुनामदन सफलतापूर्वक मञ्चन गरे । निर्देशक हरिप्रसाद रिमालको निर्देशनमा क्रशमा टाँगिएको जिन्दगी , कुहिरोभित्र अल्मलिँदा जस्ता सफल र व्यवासायिक नाटक मञ्चन गरेर आर्थिक लाभ गरे र संस्थानको निम्ति पहिलो गाडी किने ।
उनी महाप्रवन्धक हुँदा सांस्कृतिक संस्थान एउटा राद्येभ्यूँ थियो , कलाकारहरुको , साहित्यकार , चित्रकारको भेटघाट थलो । नारायणगोपाल महाप्रवन्धक भएको समयमै उनले कवि वासु शशी को नाटक सबथोक गर्नुपर्छ , अनि देवराली रुन्छ बाट ख्याति कमाएका मनवहादुर मुखियालाई पुनरागमन गराए , क्रशमा टाँगिएको जिन्दगी मार्फत् ।
उनकै महाप्रवन्धकत्वकालमा भारतको दार्जीलिँगमा चल्दै गरेको भाषा आन्दोलन विषयक नाटक हाँस्दै जल्नुपर्छ उनले मञ्चन गरेर आलोचना खाए ।

एन्डनोट :
पंक्तिकारको नारायणगोपालसित पहिलो भेट पनि सांस्कृतिक संस्थानका महाप्रवन्धककै रुपमा भएको सत्य हो ।
एक कलाकारका रुपमा सांस्कृतिक संस्थानमा अन्तर्वार्ता दिन जाँदा मैले उनलाई शिक्षा संस्कृति मन्त्रालयका सहसचिव रमेशजंग थापा , रंगमञ्च निर्देशक प्रचण्ड मल्लका साथ अन्तर्वार्ताकर्ताका रुपमा भेटेको थिएँ । त्यो भेट पछि गीत संगीतको चासोका कारण अलि अलि घनिष्ठ र बलिष्ठ हुँदै गयो ।
ठमेलको नरसिंह चोक देखि सानेपाको किरण भवन । अनि कालिमाटीको साल्ट ट्रेडिँग पछाडिको दिव्य खालिँको डेरा हाम्रा प्रमुख भेटघाट स्थल भए ।
केही समय हामी त्यौडको गोपालदाइको रेस्त्राँमा पनि भेटियौँ ।
केही समय भोँताहितीको हरिचाको भट्टीमा पनि ।
एकदिन स्वयम् नारायणगोपाल मेरो घरको पुरानो गल्लीमा प्रकट भए , आफ्ना दुई मित्रका साथ रसियन जीपमा ।
उनले एउटा प्रस्ताव लिएर आए , सांस्कृतिक संस्थानले दार्जीलिँगबाट कलाकार बोलाएर एउटा सांगीतिक कार्यक्रम गर्दैछ , त्यस कार्यक्रममा दार्जीलिँगका कलाकारलाई चिन्ने मान्छेले उद्घोषण गर्नुपर्यो । त्यो तिमी नै हौ ।
चूपचाप म उनको अगाडि उभिएको थिएँ ।
जीवनमा पहिलो पटक म उद्घोषकका रुपमा मञ्चमा जाँदैथिए उनका अनुसार । रहरको काम थिएन त्यो । तर वाध्यता मेरो निम्ति एउटा अवसर पनि बन्यो ।
विसं २०३९ साल पुस २७ गते हुने सो कार्यक्रमको नाउँ , स्मृतिका कोसेली हाम्रा गीतहरु ।
उद्घोषणमा मेरा साथ पहिलो नेपाली सिने नायिका भुवन चन्द थापा हुनुहुन्थ्यो हामी दुवै मञ्चमा उत्रियौँ , ब्याक् स्टेजबाट । हाम्रा साथमा संगीतकार कर्म योञ्जन, गायिका अरुणा लामा, कुन्ती सुन्दास, रिमला मोक्तान, डेजी बराइली , नन्दा सुब्बा गायकमा पेमा लामा , शंकर गुरुँग आदि थिए ।
कार्यक्रम निकै दिन चल्यो । करीब नौ दिन ।
नारायणगोपालले कुनै दिन गीत गाएनन् , कार्यक्रम सकेको अन्तिम दिन सबै कलाकारको अनुरोधमा उनले एक गीत सुनाए र थन्काए हार्मोनियम ।
यो मेरो निम्ति यादगार क्षण थियो दार्जीलिँगका कलाकारसित निकट हुने ।
कार्यक्रममा जसरी नारायणगोपालले मलाई अप्रत्याशित रुपमा उद्घोषको पगरी लगाईदिए , त्यो अनौठो कुरा थियो मेरो निम्ति । तर त्यो भन्दा अनौठो कुरा मेरो निम्ति अर्को भयो सो कार्यक्रम सञ्चालन गरे वापत प्रति शो रु पाँचशय रुपैयाँ दिने निर्णय पनि नारायणगोपालले नै गरेका थिए । त्यतिवेला रेडियो नेपालमा गीत गाए वापत् गायकले रु ३०० पाउँथे । रेडियो नेपालले क श्रेणीका कलाकारलाई प्रति मिनट बोलेको ५२ रुपैयाँ दिन्थ्यो ।
म पर डे फाइभ हन्ड्रेडमा मञ्चमा बोल्दै थिएँ
पर डे फाइभ हन्डरेड को त्यो कार्यक्रम पछि म फेरि नारायणगोपालको पछि कहिले सिर्जना आर्ट ग्यालरी , कहिले न्यूरोडको सन्देश गृह , कहिले न्यूरोडको व्याँग्लोर कफी हाउस , कहिले भोँताहितीको हरिचाको पसल हुँदै थिएँ ।
यसपछि आयो २०४४ सालमा सिलीगुडी र डुवर्समा हुने नारायणगोपालको एकल साँझ जहाँ म उद्घोषक र उनी गायक हुने कुरा निश्चित थियो तर कारणवश म भइँन ।
नारायणगोपालको भारतको पश्चिम बँगालस्थित सिलीगुडीमा एकल साँझ सकेर काठमान्डू आईपुगे, एक असफल कार्यक्रमको रिपोर्ट लिएर ।
यसपछि नारायणोपाललाई देशान्तर साप्ताहिक मा शिव अधिकारीले भन्न हुने भए म यिनलाई स्वरसम्राट भनिदिन्थेँ ।
लेखे । यो त्यतिवेलाको समय हो जुन वेला समीक्षा साप्ताहिकमा मदनमणी दीक्षितको मेरो देश मेरो संसार र देशान्तर मा शिव अधिकारीको रचना विधा खूब पढिने समय थियो ।
नातिकाजी श्रेष्ठको संगीतमा योगेश वैद्यले गाएको गीत सपना भुलाई सारा आँसु लिएर जाऊ गीत मार्फत् लोकप्रिय भइसकेका गीतकार शिव अधिकारी नारायणगोपालले एउटा गीत गाइदिन्छ कि भन्ने म्याराथुनमा थिए तर त्यो काम कामयाब नहुँदै नारायणगोपालको गीतियात्रा बजारमा आयो ।
नारायणगोपाल म्युजिक नेपाल मार्फत् सर्वत्र भए ।
म उनकै पछि थिएँ , फेरि आयो , २०४६ जेठ ८ को शनिवार । स्वर्णीम सन्ध्या । यसपालि म उद्घोषकका रुपमा होइन , उनले पिउने तीन रंगको पेय पदार्थका साथ उनले गाउने हलको अघिल्लो दीर्घामा थिएँ । हलमा बाँकी ११४१ जनामा मेरा साथ श्रीमती नारायणगोपाल अर्थात् पेमाला भाउज्यू ।
नारायणगोपालले बसेर गीत गाएको कार्यक्रम ।
नारायणगोपालले ५७ हजार लिएर बाह्रओटा गीत गाएको कार्यक्रम ।
भोलि पल्ट नारायणगोपाल पुनः खालि हल हेर्न आए , रेकर्डिस्ट यादव खरेल र म गफ गर्दैथियौँ उनी पसे ।
हिजो जमेको हल आज सुनसान थियो ।
नारायणगोपालले खालि हल तिर हेरेर भने , यादे हिजो हल भरिएको थियो नि है ?
थियो दाइ । उनी भन्दा अग्ला यादव बोले ।
मलाई अँगालेर नारायणगोपालले भने कस्तो भयो प्रोग्राम ?
हामी दुवै चूप थियौँ । यादवजी पनि म पनि ।
५७ हजारमा त्यो भन्दा राम्रो के गाउनु होइन यादे ?
नारायणगोपाल चप्पल मात्र लगाएको खुट्टाले मोटरसाइकल स्टार्ट गरेर गए ।
त्यो अन्तिम वार्ता थियो ।
२०४७ मंसिर २०
यो अन्तिम यात्रा थियो , हामी सबै नारायणगोपालको पछि थियौँ ।
गीत यसपालि नारायणगोपालको स्वरमा क्यासेटमा बजिरहेको थियो ।
म भीडमा सबभन्दा पछाडि थिएँ , झन् झन् पछाडि ।

(सन्दर्भ : ३० औं नारायणगोपाल स्मृति दिवश )
०००


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।