महेन्द्रगुफा, चमेरेगुफा, गुप्तेश्वर गुफा, डेभिडफल्सलगायतका सार्वजनिक सम्पतीको राजश्व र भाडा महानगर मातहत ल्याउन सुझाव


     एभरेस्ट आवाज    
     जेठ २९ गते २०८० मा प्रकाशित




पोखरा, जेठ २९

पोखरा महानगर सार्वजनिक लेखा समितिले सार्वजनिक सम्पतीको राजश्व र भाडा केन्द्रीकृत रुपमा संकलन गर्न निर्देशन दिएको छ । समितिको सोमबार बसेको २४ औं बैठकले पोखरा महानगर भित्रका सबै सार्वजनिक श्रोत, साधन र सम्पतीबाट प्राप्त हुने राजश्व र भाडा केन्द्रीकृत रुपमा संकलन गर्न निर्देशन दिएको हो ।

हाल महानगर भित्रका सार्वजनिक श्रोत, साधन र सम्पतीको राजश्व र भाडा विद्यालय, संस्था र समितिले छुट्टाछुट्टै संकलन गर्दै आएका छन् । पोखरा महानगरपालिका भित्र रहेको गुप्तेश्वर गुफा र डेभिडफल्स (पातलो छाँगो)को राजश्व छोरेपाटन मावि र महेन्द्रगुफा र चमेरे गुफाको विन्ध्यबासिनी माविले संकलन गर्दै आएका छन् । यसैगरी, अमरसिंह मावि, राष्ट्रिय मावि, कालिका मावि, बाल मन्दिर माविलगायत महानगर भित्रका १९ भन्दा विद्यालयले सार्वजनिक श्रोत, साधन र सम्पतीबाट राजश्व र भाडा संकलन गर्दै आएको समितिको दाबी छ । सार्वजनिक लेखा समितिले ती क्षेत्रबाट संकलन हुने राजश्व र भाडा अहिले जसरी छुट्टाछुट्टै उठाएर आफूखुशी रुपमा प्रयोग गर्न नदिन महानगरको ध्यानाकर्षण गराएको छ । बरु केन्द्रीकृत रुपमा संकलन गरेर ती विद्यालयमा नीजि श्रोतबाट आवश्यक पर्ने शिक्षक, कर्मचारी तथा अन्य खर्चमा अनुदान दिन महानगरपालिकालाई समितिको निर्देशन छ ।

समितिले प्राकृतिक श्रोत साधन र सम्पतीसँगै पर्यटकीय स्थल र महानगरले बनाएको सटरहरुबाट हुने आम्दानीहरु म्हानगरपालिकाको एकमुष्ठ आम्दानीमा जम्मा गर्नपनि निर्देशन दिएको छ । महानगरले पोखरा औद्योगिक क्षेत्र, बसपार्क, सृजनाचोकस्थित भवनमा बनेका सटरलगायतबाट मासिक लाखौं रुपैयाँ आम्दानी गर्ने गरेको छ । तर ती रकम एकमुष्ठ रुपमा जम्मा गर्न समितिको निर्देशन छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।