नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका गण्डकी प्रदेश ईञ्चार्ज पृथ्वी सुब्बा गुरुङले संसद पुर्नस्थापना कुनैपनि हालतमा नहुने ठोकुवा गरेका छन् । नेकपा ओली पक्ष निकट राष्ट्रिय युवा संघ गण्डकी प्रदेशले शुक्रबार पोखरामा आयोजना गरेको गण्डकी प्रदेश स्तरिय ‘बृहद युवा भेला’लाई सम्बोधन गर्दै उनले संसद पुर्नस्थापना हुनै नसक्ने बताएका हुन् । अदालतमा बिचाराधीन मुद्धामा मैले बोल्न त नहुने हो,‘उनले भने,‘तर मलाई के लाग्छ भने अन्यथा अर्थ नलागोस् तर संसद पुर्नस्थापन कुनैपनि हालतमा हुँदैन ।’
गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका ओली पक्षीय नेता गुरुङले बहुमत प्राप्त प्रधानमन्त्रीलाई काम गर्ने वातावरण भएन भने नया जनादेशमा जाने अधिकार भएको दाबी गरे । झण्डै ६४ प्रतिशत मत प्राप्त गरेको प्रधानमन्त्रीलाई घेराबन्दी गरेर काम गर्न दिइएन,उनले भने,‘आफ्नै पार्टीबाट घेराबन्दी गरियो, काम गर्नै दिइएन, यस्तो बेलामा नया जनादेशमा जानुको विकल्प थिएन, त्यसैले यो बैधानिक पनि छ ।’ संसद विघटनलाई अलोकतान्त्रिक नहुने जिकिर गर्दै उनले अगाडि भने,‘यो कदम कसरी अवैधानिक हुन्छ ? कसरी अलोकतान्त्रिक र प्रतिगामी हुन्छ ? संसद विघटन गरेर राजालाई बुझाएको हो ? संसदको अधिकार खोसेर प्रधानमन्त्रीले गोजीमा राखेको हो ? ।’ झण्डै दुई तिहाई मत प्राप्त सरकारले काम गर्न नपाएपछि जनतालाई भगवान मान्दै निर्वाचन घोषणा गर्नु सबैभन्दा लोकतान्त्रिक र संबैधानिक भएको उनको जिकिर थियो ।
नेता गुरुङले ओली समूह नेकपाको संस्थापन भएको दाबी गरे । ओली प्रथम अध्यक्ष भएकाले यहि समूह संस्थापन हुने जिकिर गर्दै उनले भने,‘नेकपाको विधानमा बहुमत र अल्पमतको कल्पना नै गरिएको छैन, त्यसैले कुन समूहमा पदाधिकारी धेरै छ त्यहि समूह संस्थापन हुन्छ, त्यस हिसाबले प्रथम अध्यक्ष र महासचिवसमेत आफूहरुसँग भएकाले यहि समूह संस्थापन हो ।’ उनले प्रथम अध्यक्ष मात्र नभई संसदीय दलको नेताहुँदै प्रधानमन्त्रीसमेत भएको ओली समूह नै संस्थापन हुनेपनि दाबी गरे ।
नेता गुरुङले जनता आफ्नो पक्षमा रहेकोसमेत दाबी गरे । हाम्रो पोल्टा भारी छ,उनले भने,‘हामी तिर सूर्य चिह्न आओस त कसरी मत ओईरिन्छ अनि थाहा हुन्छ ।’ जनताको समर्थन भएकाले आगामी चुनावमा बहुमत ल्याउन कसैले रोक्न नसक्ने उनको भनाई थियो ।
नेकपा नेता तथा युवा संघ नेपालका पूर्व अध्यक्ष महेश बस्नेतले प्रचण्ड–माधव समूहलाई सूर्य चिह्नमा आँखा नलगाउन चेतावनी दिएका छन् । बृहद युवा भेलालाई सम्बोधन गर्दै धम्कीपूर्ण शैलीमा उनले भने,‘सूर्य चिह्नमा आँखा नलगाउनुस्, सूर्य चिह्नमा आँखा लगाएको युवाहरुले मन पराएका छैनन्, म अहिलेलाई यतिमात्रै भन्न चाहन्छु ।’
पूर्व मन्त्रीसमेत रहेका नेता बस्नेतले बिजय गच्छदार जेलको यात्रामा जाने क्रममा रहेको दाबी गरे । अख्तियारले गच्छदारलाई वाईडवडी काण्डमा जेल पठाउन लागेको उनको भनाई थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टचारीलाई कारवाही गर्न निर्देशन दिएको भन्दै अब धेरै नेता जेल जाने बताए । उनलेपनि अख्तियारलाई भ्रष्टाचारीलाई खुट्टा नकमाई कारवाही गर्न आग्रह गरे ।
नेता बस्नेतले युवा संघलाई टोल टोलमा साईबर सेना बनाउन निर्देशन दिए । ‘विप्लवकोजस्तो साम्राज्यवादीबिरुद्ध भनेर व्यापारीबिरुद्ध, चन्दा असुली र आतंक फैलाउन प्रयोग गर्ने होईन, प्रविधिमैत्री भएर पाईला पाईलामा युद्ध लड्ने साईबर सेना बनाउनुस्’–उनले भने ।
ओली पक्षले शुक्रबार देशभरका सातै प्रदेको राजधानीमा प्रदर्शन गर्ने योजना अनुरुप पोखरामा पनि युवा भेला गरेको हो ।
ओली पक्षीय नेकपा निकट युवा संघको गण्डकी प्रदेश स्तरीय बृहद युवा भेलालाई सम्बोधन गर्दै पृथ्वी सुब्बा गुरुङ । तस्बिर ः उमेश पुन÷नागरिक
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सर्वोच्च अदालतले संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन सबैमा आग्रह गरेको…







