पोखरा महानगरको बजेट ७ अर्ब १५ करोड १५ लाख


     एभरेस्ट आवाज    
     असार १० गते २०८० मा प्रकाशित




असार १० पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि सवा ७ अर्बको बजेट ल्याएको छ । महानगरपालिकाको १३ औं नगरसभामा आईतबार उप–प्रमुख मञ्जुदेवी गुरुङले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् । यो चालु वर्षको भन्दा १ अर्ब ६२ करोड ६० लाख रुपैयाँ बढी हो । चालु आर्थिक वर्षमा पोखरा महानगरपालिकाको बजेट ८ अर्ब, ७७ करोड ७५ लाख रुपैयाँको छ ।

महानगरको आईतबार प्रस्तुत बजेटमध्ये सङ्घीय सरकार अनुदानबाट २ अर्ब ७६ करोड ३२ लाख, प्रदेश सरकारको अनुदानबाट १० करोड २३ लाख ६२ हजार, आन्तरिक आम्दानीबाट २ अर्ब २७ करोड ८७ लाख हुने जनाइएको छ । त्यस्तै, संघीय राजस्व बाँडफाँटबाट ३६ करोड ६२ लाख, प्रदेश राजस्व बाँडफाँटबाट ८ करोड २५ लाख रुपैयाँ स्रोत व्यवस्था हुने उपप्रमुख गुरुङले बताईन् । उनका अनुसार महानगरले स्थानिय राजश्व बाँडफाँटबाट १ अर्ब १ करोड ७५ लाख, संघीय सरकार सहरी विकास आयोजना अनुदानबाट ८ करोड ४० लाख ९१ हजार व्यहोरिनेछ ।

महानगरको आईतबार प्रस्तुत बजेटमध्ये सङ्घीय सरकार अनुदानबाट २ अर्ब ७६ करोड ३२ लाख, प्रदेश सरकारको अनुदानबाट १० करोड २३ लाख ६२ हजार, आन्तरिक आम्दानीबाट २ अर्ब २७ करोड ८७ लाख हुने जनाइएको छ ।

महानगरले ४५ करोड ६८ लाख ६५ हजारको घाटा बजेट ल्याएको छ । जुन बजेट चालु आर्थिक वर्षको मौज्दातबाट बेहोरिने उप–प्रमुख गुरुङले बताईन् ।

पोखरा महानगरले पूर्वाधार विकासमा २ अर्ब ७० करोड, सामाजिक विकासमा ६ करोड ५० लाख, नगर कार्यपालिकाको कार्यालय व्यवस्थापनका लागि ८१ करोड २२ लाख २६ हजार, वडाहरूका लागि ७२ करोड ६० लाख, स्वास्थ्यमा १० करोड, शिक्षा, खेलकुद तथा युवा र प्रज्ञा प्रतिष्ठान सम्बन्धी कार्यक्रम सञ्चालन गर्न १८ करोड, पर्यटन, सहरी विकास तथा वातावरणतर्फ ७० करोड विनियोजन गरेको छ । महानगरले संघीय सशर्त अनुदानतर्फ २ अर्ब २३ करोड ६२ लाख र प्रदेश सशर्त अनुदानतर्फ ८० लाख तथा सहरी विकास आयोजनामा ८ करोड ४० लाख ९१ हजार रुपैयाँ विनियोजन गरेको छ ।

महानगरले आफ्नै प्रशासकीय भवन निर्माणका लागि ५४ करोड ६२ लाख रुपैयाँ विनियोजन गरेको छ । अस्फाल्ट पिच निर्माणलाई निरन्तरता दिदै महानगरले आगामी वर्षका लागि १० करोड विनियोजन गरेको छ । त्यस्तै, ठुल्ढुङ्गा–सुर्ताने चैनपुर–घाँटीछिना–दमदमे–सिदाने–पञ्चाशे, कास्कीकोट–बनपाले –गुण्टेचौर–पँदेली कृषि सडक निर्माण, लामाचौर–माछापुच्छ«े सडक, लामगादी–पुँडीटार सडक, वडा नं.१३ र २६ जोड्ने सडक लगायतका बहुवर्षीय योजना सम्पन्न गर्नका लागि बजेट विनियोजन गरेको उपप्रमुख गुरुङले बताईन् । हाँडीखोला–खुइतेखोला–खहरेखोला–खुदीखोला–ठुलिमजुवा पुल, फिर्के खोला तथा सुरौदी खोला लगायतका पुल र कल्भर्टहरुको लागि रु.१६ करोड ५० लाख विनियोजन गरिएको उनले बताईन् ।

महानगरले एक घर एक धारा खानेपानी आयोजना अन्तर्गत सराङ्कोट, थाक, कृस्ती निर्मलपोखरी भरतपोखरी, चैनपुर, ओख्ले लगायतका खानेपानी आयोजनाको निर्माण तथा मर्मत सम्भारको लागि रु. १० करोड छुट्याएको छ ।

महानगरले फेवा–बेगनास ताल लगायत पोखराका सबै तालहरुको संरक्षण तथा अतिक्रमण नियन्त्रण गर्ने, फेवा तालको सुन्दरता अभिवृद्धि गर्न फेवाफेरो पदमार्ग निर्माण शुरु गर्ने भन्दै त्यसका लागि रु. ४० लाख छुट्याएको छ । पोखराको चर्चामा रहेको फिर्के खोलाको अतिक्रमण हटाई करिडोर निर्माणका लागि १ करोड ५० लाख छुट्याएको छ ।

महानगरले पोखरा बहुउद्देश्यीय भवन, नयाँ एयरपोर्टबाट लेकसाइड जोड्ने फास्ट ट्रयाक, फेवा–बेगनास कनेक्टिभिटी सडक, पोखरा बसपार्क, विन्ध्याबसिनी बसपार्क, कोमागाने पार्क, ड्यामसाइड पर्यटन पार्क, लामेआहल बसपार्क, बेगनास बराहक्षेत्र परियोजना, फेवा किनारमा फेवा बिच, रानीवनमा हर्बल ट्रेल, छतिघाट निर्माण, पन्चासे विकास परियोजना, पोखरा गौशाला निर्माण लगायतका महानगर गौरवका आयोजनाहरुका लागि रकम नतोकि बजेट छुट्याएको छ ।

पोखरा महानगरपालिकाले आर्थिक विकासतर्फ कृषि उत्पादन सामग्री र यन्त्र उपकरण वितरण गर्दा प्राथमिकताका आधारमा लगानी परिचालन गर्न उत्पादनको आधारमा कम्तीमा ७० प्रतिशत अनुदान कृषि क्षेत्रमा वर्गिकृत भूमिलाई दिने जनाइएको छ । कृषि एम्वुलेन्सको प्रभावकारी सञ्चालन गर्ने, किसान हाटबजार निर्माण, मेला, महोत्सव प्रवद्र्धन गर्नका लागि १ करोड ६ लाख विनियोजन गरेको छ ।

महानगरपालिकाले सहकारी संस्थाहरुबाट ऋण लिएर चुक्ता नगर्ने व्यक्तिहरुको विवरण वेवसाईटमा प्रकाशन गर्नुका साथै त्यस्ता व्यक्तिहरुलाई महानगरबाट प्रदा नगरिने सेवा सुविधा रोक्का गर्न कानूनी व्यवस्था मिलाईनेपनि जनाएको छ । त्यस्तै, सहकारीको मूल्य मान्यता विपरित सञ्चालित सहकारीलाई कारवाहीको दायरामा ल्याई सर्वसाधारणको बचत सुरक्षा गर्न आवश्यक व्यवस्था मिलाइने गुरुङले बताईन् ।

महानगरले विद्यार्थीको दिवा खाजाका लागि संघ सरकारले प्रदान गरेको प्रति विद्यार्थी १५ रुपैयाँमा महानगरले १० रुपैयाँ थप गरी २५ रुपैयाँ पु¥याएको छ । जसका लागि महानगरले ४ करोड ६५ लाख रुपैयाँ विनियोजन गरेको छ । महानगरले आफैले सञ्चालन गरेको गण्डकी बहुप्राविधिक शिक्षालयको पूर्वाधार निर्माण तथा शैक्षिक कार्यक्रम सञ्चालनका लागि ३ करोड ३३ लाख रुपैयाँ छुट्याएको छ ।

त्यस्तै, कक्षा ६ देखि १२ कक्षा सम्मका छात्रहरुका लागि विद्यालयमा निःशुल्क सेनिटरी प्याड वितरण गर्ने भन्दै सोका लागि १ करोड ५३ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

महानगरले खेलकुद पूर्वाधार निर्माण र प्रवद्र्धनका लाग १ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, उत्कृष्ट खेलाडी छनौट र सम्मानका लागिपनि बजेट विनियोजन गरिएको छ ।

महानगरले निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्थाका लागि १६ करोड ५० लाख, ९८ प्रकारका निःशुल्क औषधी वितरणका लागि आवश्यक बजेट विनियोजन गरिएको गुरुङले बताईन् । महानगरको एक मात्र अस्पताल शिशुवा अस्पतालमा विशेषज्ञ सेवा थप गर्न र मिर्गौला रोगको डायलोसिस सेवा शुरु गर्न भनेर १ करोड रुपैयाँ विनियोजन गरेको छ भने कोभिड १९ लगायत सरुवा रोग, महामारी नियन्त्रण, विपद व्यवस्थापन तथा प्रतिकार्यका लागिपनि बजेट छुट्याएको उनले बताईन् ।

महानगरले उपप्रमुखसँग महिला कार्यक्रमका लागि २ करोड, लैंगिक हिंसा न्यूनिकरण गर्न लैंगिक हिंसाबिरुद्ध पुरुषहरुको ऐक्यबद्धता ः महिला पुरुष समचेतना कार्यक्रमलाई निरन्तरता, बालमैत्री वडा बनाउन अभियान सञ्चालन तथा बालमैत्री वडा घोषणा कार्यक्रमका लागिपनि बजेट छुट्याइएको छ ।

महानगरले ६८ वर्ष माथिका सबै ज्येष्ठ नागरिकलाई मासिक २ सय रुपैयाँ पोषण भक्ता दिने कार्यक्रमलाई निरन्तरता दिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।