पोखरा । पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले फेवातालको सिमसार क्षेत्रलाई आवास क्षेत्र भनेर वर्गिकरण नगरेको स्पष्टीकरण दिएका छन् ।
पोखरा महानगरपालिकाको तेह्रौं नगरसभामा वडाध्यक्ष तथा वडा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उनले सिमसार क्षेत्रलाई आवास क्षेत्र भनेर वर्गिकरण गरेको कुरा सहि नभएको बताएका हुन् ।
पोखरा महानगरपालिकाले पोखराको फेवातालको माथिल्लो सिरान क्षेत्रको सिमसार क्षेत्रलाई आवास क्षेत्र भनेर वर्गिकरण गरेको आरोप लाग्ने गरेको छ । त्यतिमात्र होईन मेयर आचार्यकै सिफारिसमा सिमसार क्षेत्र पुर्न अनुमति दिएको उनीमाथि आरोप छ ।
सोहि आरोप माथि जवाफ दिदै उनले भने,‘फेवाताल सिरान क्षेत्रका सिमसार जमिनलाई हामीले आवास क्षेत्र भनेर वर्गिकरण गरेका छैनौं । त्यहाँको जमिन वर्गिकरण गर्दा कृषि र गैरकृषि भनेर वर्गिकरण गरिएको छ । त्यहि गैरकृषिलाई आवास क्षेत्र भनेर प्रचार गरिएको छ । तर गैरकृषि भनेको आवास क्षेत्र होईन ।’
मेयर आचार्यले गैरकृषि क्षेत्रमा आवास क्षेत्र बनाउन नदिइने बताए । केहि मानिसहरुले सिमसार पुर्न महानगरले अनुमति दियो भन्ने कुरापनि हल्लामात्र भएको बताए । सिमसार पुर्न महानगरले कसैलाईपनि अनुमति नदिएको उनको भनाई छ । बरु त्यो क्षेत्र संरक्षण गर्न महानगर लागिपर्ने उनले बताए ।
मेयर आचार्यले सर्वोच्च अदालतले दिएको आदेश अनुसार नै फेवाताल जलाधार क्षेत्रको संरक्षण गरिने बताए । उनले भने,‘आदेशको पूर्ण पाठ आएपछि कार्यान्वयन हुन्छ ।’ आदेशमा संघ, प्रदेश र महानगरको दायित्व उल्लेख भएको भन्दै उनले महानगरले आफ्नो भागमा परेको दायित्व पूरा गर्ने बताए ।
‘फेवाताल संरक्षण गर्दा खुट्टा लुलो बनाउनुपर्ने कारण छैन’–उनले भने । उनले फेवाताल संरक्षण गर्ने क्रममा करीब पाँच सय भौतिक संरचना भत्काउनुपर्ने र मुआब्जावापत ४० अर्ब रूपैयाँ तिर्नुपर्ने अनुमानित हिसाबपनि उल्लेख गरे ।
मेयर आचार्यले फेवातालको सिमसार पुरिदा जनप्रतिनिधिदेखि राजनीतिक दलसम्म रमिते बनेर बसेको टिप्पणी गरे । सिमसार पुरिदा जनप्रतिनिधि होस् वा राजनीतिक दल र तिनका प्रतिनिधि कसैलेपनि आवाज नउठाएको भन्दै उनले गुनासो गरे । फेवाताल संरक्षण गर्ने जिम्मा कुनै अमुक व्यक्ति वा संस्थाको मात्रै नभएको उनको भनाई थियो ।
फेवातालको संरक्षण गर्नु सबै पोखरेलीको दायित्व भएपनि त्यसको बोध नगरेकोप्रति गुनासो मिश्रित स्वरमा उनले भने,‘फेवातालको सिमसार पुरिईरहँदा हामी कतिजना नगर सभा सदस्यज्यले प्रतिकार ग¥यौं ? इमानदारपूर्वक भनौं त, यो सबै राजनीतिक पार्टी, सबै पोखरेलीको विषय होइन ? ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







