डि जानकी एग्रो फार्मले गर्यो सार्वजनिक सुनुवाई


     एभरेस्ट आवाज    
     असार २२ गते २०८० मा प्रकाशित




पोखरा, असार २१

युवा कृषि उद्यमी दीपकप्रसाद तिमिल्सिनाले सञ्चालन गरेको डि जानकी एग्रो फार्म प्रालिले अन्तिम सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । भैंसीपालक किसानका रुपमा परिचित जानकी एग्रो फार्म प्रालिका सञ्चालकसमेत रहेका युवा कृषि उद्यमी तिमिल्सिनाले सञ्चालन गरेको डि जानकी एग्रो फार्म प्रालिले विहीबार अन्तिम सार्वजनिक सुनुवाई गरेको हो । सो फार्म विश्वबैंक र नेपाल सरकारसँगको अनुदान सहयोगमा पोखरा महानगरपालिका वडा नम्बर १५ स्थित राती खहरेमा सञ्चालन रहेको छ ।

सो फार्म १ करोड ९५ लाख ८१ हजार ८ सय ३३ रुपैयाँको लागतमा सो फार्म सञ्चालनमा ल्याईएको फार्मका सञ्चालक दीपक तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार फार्म सञ्चालनका लागि नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल लाइभ स्टक सेक्टर ईन्नोभेसन आयोजना (एनएलएसआइपी)ले अनुदान स्वरुप ५० प्रतिशत अर्थात ९७ लाख ९० हजार ९ सय १७ रुपैयाँ लगानी गरेको छ । त्यस्तै, नवील बैंकबाट ६० लाख र सञ्चालकको तर्फबाट तिमिल्सिनाले ३७ लाख ९० हजार ९ सय १६ रुपैयाँ लगानी भएको तिमिल्सिनाले बताए ।

करीब ४ सय गाई र भैंसी रहेको फार्मबाट हाल दैनिक २ हजार लिटर दूध उत्पादन हुने गरेको जनाइएको छ । दूधको क्षमता बढाएर दैनिक ४ हजार लिटर पु¥याउने लक्ष्य रहेको तिमिल्सिनाले बताए । फार्ममा ३८ जना पुरुष र ४५ जना महिला गरेर कुल ८३ जनाले रोजगारी पाएका छन् ।

यसअघि २०७९ साल पुस ३ गतेसम्ममा फार्म सञ्चालनमा आईसक्नुपर्ने सम्झौता भएपनि एनएलएसआइपीले अनुदान दिन ढिलाई गरेपछि फार्म पूर्ण रुपमा सञ्चालनमा आउन ढिलाई भएको तिमिल्सिनाले बताए । उनले भने,‘एनएलएसआइपीको रकम आउन ढिलाई हुँदा आर्थिक बोझसँगै ठूलो नोक्सानीसमेत बेहोर्नुप¥यो ।’ तर ढिलै भएपनि एनएलएसआइपीले रकम दिन लागेकोमा खुशी हुँदै उनले धन्यवाद दिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै पोखरा–१५ का वडाध्यक्ष तोरणबहादुर बानियाले आफ्नो वडामा पशुपालन थपिदा खुशी लागेको बताए । ‘एउटा युवा उद्यमीले ठूलो किसिमको पशु पालन गर्दा वडाको एउटा चिनारी थपियो’–उनले भने । उनले कृषि, शिक्षा, खेलकुदलगायतका क्षेत्रमा वडाले सहयोग गर्दै आएको भन्दै उनले आगामी दिनमा फार्म सञ्चालनका लागि सहयोग गर्ने आश्वासनपनि दिए ।

स्वच्छ दूध उत्पादनका लागि उन्नत पशुपालन व्यवसाय गर्ने उद्देश्यले फार्म सञ्चालनमा आएको हो । आयोजना स्थलमै आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल लाइभ स्टक सेक्टर ईन्नोभेसन आयोजना (एनएलएसआइपी)का प्रतिनिधि, पोखरा–१५ का वडाध्यक्ष तोरणबहादुर बानिया, स्थानिय राजनीतिक दलका प्रतिनिधिहरु, पशु विज्ञ केन्द्र तथा जिल्ला पशु स्वास्थ्य कार्यालयका प्रतिनिधिहरुको सहभागिता थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।