धेरै कर तिर्ने पोखरा ऊँ हस्पिटल र गोशली हाउसलाई पोखरा–९ को सम्मान


     एभरेस्ट आवाज    
     श्रावण १२ गते २०८० मा प्रकाशित




पोखरा, साउन १२

पोखरा महानगरपालिका वडा नम्बर–९ ले गत आर्थिक वर्षमा सबैभन्दा धेरै कर तिर्ने पोखरा ओम हस्पिटल र डाइग्नोष्टिक एण्ड रिसर्च सेन्टर प्रा.लि. र गोशली हाउसलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०७९÷८० मा सबैभन्दा धेरै कर तिर्ने ओम हस्पिटल र गोशली हाउसलाई वडा कार्यालयले सम्मान पत्र र मायाको चिनो प्रदान गरेर सम्मान गरेको हो । कार्यक्रममा पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतीले सम्मानित संस्था ओम हस्पिटलका अध्यक्ष डा.मुकुन्द आचार्य र गोशली हाउसका सञ्चालक शुशिलकुमार गोशलीलाई दोषल्ला ओढाएर सम्मान गर्नुका साथै सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष दीपेन्द्र मर्सानीले अन्यलाईपनि कर तिर्नका लागि प्रोत्साहित गर्न करदातालाई सम्मान गरिएको बताए । उनले राज्यले कर लिन मात्र होईन करदातालाई सम्मानपनि गर्न जानेको छ भन्ने देखाउन करदाताको कार्यालयमै पुगेर सम्मान गरेकोपनि उल्लेख गरे ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतीले करदातालाई सम्मान गर्दा नव करदातामा उत्साह थपिने बताए । उनले करको दर नभई दायरा फराकिलो बनाउनुपर्ने तथा सबैलाई कर प्रणालीमा सहभागि गराउँदै लैजानुपर्ने बताए ।

सम्मानित संस्था ओम हस्पिटलका अध्यक्ष डा.मुकुन्द आचार्यले कर तिरेवापत सम्मान पाईन्छ भन्ने कुरा पहिलोपटक महशुष गरेको बताए । यसले स्थानिय सरकारको महशुष गराएको उनको भनाई थियो ।

अर्का सम्मानित संस्था गोशली हाउसका सञ्चालक सुशीलकुमार गोशलीले कर तिर्नु नागरिकको दायित्व भएको भन्दै यसलाई बोझको रुपमा नलिई कर्तव्यबोधका रुपमा लिएर तिर्नुपर्नेमा जोड दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।