गोरखाको प्रवेशद्वारमा सहिद लखन थापाको सालिक निर्माण


     एभरेस्ट आवाज    
     श्रावण २४ गते २०८० मा प्रकाशित




गोरखा प्रवेश गर्ने मुख्य नाका गोरखा नगरपालिका–१३ देउरालीस्थित मझुवामा प्रथम सहिद लखन थापामगरको सालिक निर्माण गरिएको छ । गोरखा–आँबुखैरेनी सडकखण्डमा पर्ने गोरखा मझुवास्थित गोरखा प्रवेशद्वारसँगै प्रथम सहिद थापामगरको पूर्णकदको सालिक स्थापना गरिएको हो ।

गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरका अनुसार सहिद थापामगरको सम्मान गर्न र गोरखा प्रवेश गर्ने प्रत्येकलाई उनको बारेमा जानकारी गराउने उद्देश्यले सालिक स्थापना गरिएको हो । गोरखा नगरपालिकाको रु १० लाख तथा नेपाल मगर सङ्घको रु दुई लाखको लागतमा सालिक निर्माण गरिएको हो ।

सहिद थापामगरले १९११ सालमा पुरानो गोरख गणमा भर्ना भएर १९२७ सालदेखि विद्रोहको थालनी गरेको इतिहास छ । सहिद थापामगरलाई १९३३ फागुन २ गते सहिद लखन गाउँपालिका–७ वुङ्कोटस्थित काहुले भङ्गारमा तत्कालिन राणा शासकले मृत्युदण्ड दिएका थिए । उनलाई २०५६ सालमा नेपाल सरकारले सहिद घोषणा गरेको हो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।