रसियन राष्ट्रपति चुन्न पोखराबाट १३ जनाले गरे मतदान


     एभरेस्ट आवाज    
     चैत्र २ गते २०८० मा प्रकाशित




पोखरा, चैत २

रसियन राष्ट्रपति चुन्न पोखराबाटपनि मतदान भएको छ । रुसको आगामी ६ वर्षे कार्यकालका लागि नया राष्ट्रपति चुन्न शुक्रबारदेखि चुनाव शुरु भएको हो । रुसले विश्वभर रहेका रसियन नागरिकले मताधिकार प्रयोग गर्न पाउन् भन्ने उद्देश्यले विश्वका १४४ देशमा मतदान गर्ने व्यवस्था गरेको छ । जसमा १८८ मतदान केन्द्र निर्धारण गरिएको रसियन न्यूज एजेन्सी तासले उल्लेख गरेको छ ।

नेपालमा काठमाडौं र पोखरामा मतदान केन्द्र तोकिएको छ । जस अनुसार पोखरामा चैत २ गते शुक्रबार मतदान भएको छ भने काठमाडौंमा चैत ४ गते आइतबार मतदान हुने रसियन राजदुतावासले जनाएको छ ।

पोखरामा शुक्रबार होटल वाराहीको प्राङ्गणमा मतदान स्थल तोकिएको थियो । जहाँ ६ महिला र ७ पुरुष गरेर १३ जना रसियन नागरिकले मतदान गरेको नेपालस्थित रसियन राजदुतावासका अलेक्जेन्डर ईभासोभले जानकारी दिए । पोखराको मतदान केन्द्रमा विहान ९ बजे मतदान शुरु भएर मध्याह्न १२ बजेसम्म चलेको थियो । मतपेटिका शनिबार काठमाडौं पठाईने उनले बताए । उनका अनुसार आईतबार काठमाडौंस्थित दुतावासमै मतदान हुनेछ र त्यसपछि काठमाडौं र पोखरा दुबै ठाउँको मतपेटिका खोलेर मतगणना गरिनेछ । सो मत परिणाम रसिया पठाएर गणनामा समावेश गरिने उनले बताए ।

पोखराबाटै देशको राष्ट्रपति चुन्नका लागि मतदान गर्न पाएकोमा रसियन नागरिकहरु खुशी भएका थिए । मतदान गरेपछि पत्रकारसँग बोल्दै रसियन नागरिक दिदेन्को सर्जेले भने,‘पोखराबाटै मतको सदूपयोग गर्न पाउनू गर्वको विषय हो । देशको भविष्य निक्र्याेल गर्नका लागि मताधिकार प्रयोग गर्ने वातावरण बनाएकोमा रसियन एम्वेसीलाई धन्यवाद ।’

रसियामा नया राष्ट्रपतिका लागि चारजना प्रतिष्पर्धामा छन् । रसियाको राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति भ्लामिदिर पुटिन, भ्लादिस्लाभ डाभान्कोट, लिओनिड स्लुत्स्की र निकोलाइ खरितोलोभ उम्मेदवार छन् । पुटिनले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने न्यू पिपल पार्टीबाट डाभान्कोट, नेशनलिष्ट लिवरल डेमोक्रयाटिक पार्टीबाट स्लुत्स्की र कम्यूनिष्ट पार्टीबाट खरितोलोभले उम्मेदवार रहेको जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।