पोखरा । पोखरामा असोज २४ गते आयोजना हुने तेस्रो पर्वतीय दौड प्रतियोगिता सफल बनाउन पोखराका पर्यटन व्यवसायी तथा पर्यटनसम्बद्ध संघसंस्था एकजुट भएका छन्। बाढीपहिरोजस्ता विपद्का कारण देश विषम परिस्थितिबाट गुज्रिरहेका बेला पनि प्रतियोगितालाई निरन्तरता दिनु सकारात्मक भएको भन्दै पर्यटन व्यवसायीले आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन्।
पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकले आयोजना गर्ने प्रतियोगिताका विषयमा भएको छलफलमा पोखरा पर्यटन परिषद्, होटल संघ पोखरा नेपाल, नाटा गण्डकी, टान गण्डकी, रेवान पोखरा, एनटिभीए, एगा पोखरा, ओटेफ गण्डकी, मुद्रा सटही संघ, टेवान गण्डकीलगायत पर्यटनसम्बद्ध संघसंस्थाका प्रतिनिधि सहभागी थिए।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले खेलकुद इभेन्टले पोखराको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न सहयोग पुग्ने बताए। पर्यटन प्रवद्र्धनसँग प्रत्यक्ष जोडिएको प्रतियोगितालाई पोखराको वार्षिक पर्यटन क्यालेन्डरमा समावेश गर्नुपर्नेमा जोड दिँदै उनले धेरैभन्दा धेरै धावकलाई सहभागी गराउन आग्रह गरे। प्रतियोगितालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत उनले जनाए।
टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले मौसमका कारण प्रतियोगिताको मिति परिवर्तन गर्नुपरेको अवस्थालाई ध्यानमा राख्दै आगामी वर्षदेखि मिति पहिल्यै निर्धारण गरी छुट्टै क्यालेन्डरमा समावेश गर्न सुझाव दिए।
नाटा गण्डकीका अध्यक्ष संगीता पौडेलले पर्वतीय दौडमा अन्तर्राष्ट्रिय खेलाडीलाई सहभागी गराउन सके पोखराको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने बताइन्। रेवान पोखराका अध्यक्ष बसन्त गौतमले प्रतियोगिताले पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने भन्दै व्यवस्थापनमा स्वच्छता, सरसफाइ र विदेशी पर्यटकको सुविधालाई प्राथमिकता दिन सुझाव दिए।
होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले संघले विगतदेखि नै खेलकुद तथा पर्यटनसम्बन्धी कार्यक्रमलाई सहयोग गर्दै आएको बताए। बाढीपहिरोजस्ता विपद्का कारण देश विषम परिस्थितिबाट गुज्रिरहेका बेला आयोजना हुन लागेको प्रतियोगितालाई सफल बनाउन साथ दिने उनले बताए। प्रतियोगिता लेकसाइड वा ड्यामसाइडबाट सुरु गरी पुम्दी–भुम्दी क्षेत्रसम्म जोड्न सकिने धारणा पनि उनले राखे।
परिषद्का पूर्वअध्यक्ष तथा पोखरा भ्रमण वर्षका निवर्तमान संयोजक गोपीबहादुर भट्टराईले पुम्दी–भुम्दी क्षेत्रका पर्यटकीय गन्तव्यलाई जोडेर आयोजना हुने प्रतियोगितालाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउनुपर्ने बताए। प्रतियोगिताका आकर्षक दृश्य समेटिएका रील्स तथा ड्रोन भिडियो बनाएर सामाजिक सञ्जालसहित विभिन्न माध्यमबाट प्रचार गर्न उनले सुझाव दिए।
एनटिभीएका अध्यक्ष रविप्रसाद आचार्यले देश बाढीपहिरोको पीडामा रहेका बेला अधिकांश राजमार्ग प्रभावित भएको अवस्थामा पनि प्रतियोगितालाई निरन्तरता दिन खोज्नु सकारात्मक भएको बताए।
प्रतियोगिताका रेस डाइरेक्टर ओम गुरुङले तीन महत्वपूर्ण पर्यटकीय गन्तव्यलाई एउटै दौडमार्फत जोडिएकाले प्रतियोगिता सामान्य दौडभन्दा फरक प्रकृतिको रहेको बताए। पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले विषम परिस्थितिमा पनि प्रतियोगिता आयोजना गर्न लागेकोमा आयोजकलाई धन्यवाद दिँदै निर्धारित समयमै प्रतियोगिता सञ्चालन गर्न आग्रह गरे।
छलफलमा पीटिसीका महासचिव मिलन तिवारी, पर्यटनविद् दीपेन्द्र पहारी, एगा पोखराका अध्यक्ष गीता ढकाल पौडेल, ओटेफ गण्डकीका अध्यक्ष ममता न्यौपाने, मुद्रा सटही संघका अध्यक्ष दीपकराज मिश्र, टेवान गण्डकीका अध्यक्ष शोभा पाण्डेलगायतले प्रतियोगिता सफल बनाउन आवश्यक सहजीकरण र सहयोग गर्ने बताए।
पोखरा प्रवद्र्धन केन्द्रका उपाध्यक्ष असफल गौतमले पोखरा–२२ स्थित विश्वशान्ति स्तुपाबाट सुरु भई विशाल महादेवको मूर्ति (पुम्दीकोट), पोखरा–२२ वडा कार्यालय हुँदै कालाबाङ घरेडी बुद्धपार्कमा पुगेर सम्पन्न हुने आठ किलोमिटर दौडमा ६ विधामा प्रतिस्पर्धा हुने जानकारी दिए। खुला, महिला, यू–१६, विदेशी पर्यटक, भेट्रान्स तथा वडास्तरीय विधामा धावकले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको इन्स्योरेन्स पार्टनरमा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड, हस्पिटालिटी पार्टनरमा म्याजेस्टिक लेक फ्रन्ट होटल एण्ड सुइट्स र मेडिकल पार्टनरमा नेलम्बो नेपाल रहेका छन्। पोखरा टेलिभिजन प्रतियोगिताको अफिसियल टेलिभिजनका रूपमा जोडिएको आयोजकले जनाएको छ।
नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवद्र्धन गरेको प्रतियोगिता प्रदेश खेलकुद परिषद् गण्डकीको अनुमति तथा पोखरा–२२ को समन्वयमा आयोजना हुँदैछ। प्रतियोगितालाई सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, परिचय एड्भर्टाइजिङ, पोखरा महानगरपालिका–२२ वडा युवा परिषद्, स्थानीय क्लब, व्यवसायी तथा विभिन्न संघसंस्थाको सहयोग रहेको प्रतियोगिता संयोजक दिननाथ बरालले बताए।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । अन्तर्राष्ट्रिय धावक लेफ्टिनेन्ट रिटायर्ड कुसाङ कुमार गुरुङले तेस्रो संस्करणको खुला…







