पोखरा उद्योग वाणिज्य संघको मतगणना भोलि, कति मत खस्यो हेर्नुहोस्…..


     एभरेस्ट आवाज    
     भाद्र २९ गते २०८१ मा प्रकाशित




पोखरा, भदौ २९

पोखरा उद्योग वाणिज्य संघको नया नेतृत्वका लागि शनिबार मतदान भएको छ । संघको ३५ औं महाधिवेशन अन्तर्गत शनिबार मतदान भएको हो । जसमा २ हजार २ सय २७ मत खसेको निर्वाचन समितिले जनाएको छ । संघमा कुल २ हजार ६ सय ७६ जना मतदाता रहेकोमा ४ सय ४९ जना मतदाता अनुपस्थित रहे ।

मतदान सकिएपछि मुचुल्का गरिएको छ । मतदान सकिएलगत्तै उम्मेदवारहरुसहितको सर्वपक्षीय बैठकले मतगणना भोलि मात्रै गर्ने निर्णय गरेको छ । यसअघिका वर्षहरुमा मतदान सकिएलगत्तै मतगणना गर्नेगरिएको थियो । तर यस वर्ष भने भोलिपल्ट मात्रै मतगणना गर्ने निर्णय भएको हो । मतगणना आईतबार विहान ८ बजेदेखि गर्ने निर्णय भएको संघका वर्तमान अध्यक्ष पवनकुमार प्रजापतीले जानकारी दिए ।

संघको अध्यक्षका लागि गोकर्ण कार्की र अर्जुन पोखरेल प्रतिष्पर्धामा उत्रिएका छन् । कार्की वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष हुन् । उनी कार्यकारिणी सदस्य, उद्योग उपाध्यक्ष, बरिष्ठ उपाध्यक्षहुँदै अध्यक्षका उम्मेदवार बनेका हुन् ।

पोखरेल भने अघिल्लो कार्यकालमा अध्यक्षका प्रत्यासी थिए । सदस्य, उपमहासचिव र महासचिव भएपछि अघिल्लो कार्यकालमा सिधै अध्यक्षमा लडेका उनी पराजित भएका थिए । तिनै पोखरेल दोश्रो पटक अध्यक्षमा चुनाव लड्दैछन् ।

संघको अध्यक्ष र उपमहासचिवबाहेक अन्य पदमा भने निर्विरोध निर्वाचित भइसकेका छन् । संघको बरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दीनेशचन्द्र बास्तोला, वाणिज्य उपाध्यक्षमा बलराम आचाय, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोजकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भईसकेका हुन् ।

संघको उपमहासचिवमा भने बालकृष्ण कोईराला र सुदीपमान प्रधानाङ्ग चुनावी मैदानमा छन् । कोईराला पोखरेल प्यानलका हुन् भने प्रधानाङ्गले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । यद्वपी उनलाई अध्यक्षका उम्मेदवार कार्कीको समर्थन छ ।

संघको खुल्ला १० सदस्यका लागि १४ जनाले उम्मेदवारी दिएका छन् । जसमा पोखरेल प्यानलबाट सौगात थापा, जीवनप्रकाश श्रेष्ठ, टिकाराम सुवेदी(माधव), प्रेमप्रसाद सुवेदी, यादवप्रसाद पोखरेल, लेखनाथ सुवेदी, दुधमान गुरुङ (आशिष), देवेन्द्र प्रजु, भीम गौतम, ललितबहादुर कुँवर उम्मेदवार छन् । त्यसबाहेक रामचन्द्र तिमिल्सिना (ढाकाटोपी बाजे), विष्णुप्रसाद तिमिल्सिना, प्रदीप राजभण्डारी, बिनोद केसी चुनावी मैदानमा छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।