पोखरामा आज ७ वटा रुटमा निःशुल्क बस सञ्चालन


     एभरेस्ट आवाज    
     असाेज २६ गते २०८१ मा प्रकाशित




पोखरा, असोज २६

नेपालीको महान चाँड बडादशैंको टिकाको दिन आज पोखरामा निःशुल्क बस सेवा सञ्चालन गरिएको छ । पोखरा महानगरपालिका, स्थानिय प्रशासन र यातायात व्यवसायीहरुको सहकार्यमा पोखरामा दशैंको टिकाको दिन आज पोखरा महानगरभित्र निःशुल्क बस सेवा सञ्चालन गरिएको हो ।
दशैंको टीका लगाउन आवतजावत गर्ने यात्रुको यात्रा सहज बनाउने उद्देश्यले निःशुल्क बस सेवा सञ्चालन गर्ने निर्णय गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताए । उनका अनुसार पोखराका विभिन्न ७ वटा रुटमा ४ वटा कम्पनीका १८ वटा बसहरूले निःशुल्क सेवा दिनेछन् । बस विहान ७ बजेदेखि अपराह्न ४ बजेसम्म निःशुल्क सञ्चालन हुने प्रजिअ पाण्डेले जानकारी दिए । यात्रुलाई सहज होस् भनेर त्यसरी सञ्चालन हुने बसमा ‘निशुल्क बस’ लेखिएको ब्यानर राखिएको उनले बताए ।

आज दिनभरी कोत्रे–पृथ्वीचोक–चिप्लेढुंगाहुँदै बागलुङ बसपार्कसम्म, फेदी–हेमजा–हरिचोकहुँदै पृथ्वीचोकसम्म, लामाचौर–बगर–महेन्द्रपुल–चिप्लेढुंगा–सृजनाचोक–विरौटाहुँदै छोरेपाटनसम्म, महेन्द्रगुफा–बगर–महेन्द्रपुल–चिप्लेढुंगा–सृजनाचोक–विरौटाहुँदै छोरेपाटनसम्म, महेन्द्रगुफा–बगर महेन्द्रपुल–पृथ्वीचोक–विरौटा–सहिदचोकहुँदै लेकसाइडसम्म, लेखनाथ जनताको चौतारा–रुपाताल–सातमुहाने–खुदी–तालचोक–पृथ्वीचोकहुँदै बागलुङ बसपार्कसम्म, काहुँखोला–महेन्द्रपुल–पृथ्वीचोक–जिरो कि.मी.हुँदै लेकसाईडको हल्लनचोकसम्म र बेगनासताल–तालचोक–पृथ्वीचोक–चिप्लेढुंगाहुँदै बागलुङ बसपार्कसम्म निःशुल्क बस सेवा सञ्चालन हुने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए । त्यसरी सञ्चालन गरिएका बसका चालक र सहचालकलाई पोखरा महानगरपालिकाले अतिरिक्त सुविधा उपलब्ध गराउने उनले बताए ।

यात्रुको चाप हेरेर आवश्यक्ता अनुसार रुट, समय र गाडीसमेत थपिने कास्कीका सहायक प्रमुख जल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए ।

यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश संयोजक केदार पौडेलले यात्रुको सहजतालाई ध्यान दिएर निःशुल्क बस सेवा सञ्चालन गर्न सहकार्य गरेको बताए । उनले भने,‘जनताको सेवा र राज्यलाई निस्वार्थ सहयोग गर्न हामी तयार छौं । त्यसैको कडीको रुपमा निःशुल्क बस सञ्चालन गरेका हौं ।’

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.का अध्यक्ष योगेन्द्रबहादुर केसीले नागरिकलाई सेवा दिनु आफूहरुको कर्तव्य सम्झेर निःशुल्क बस सेवा सञ्चालन गरिएको बताए । तर राज्यपनि आफूहरुको व्यवसायीक सुरक्षाका लागि जिम्मेवार बन्नुपर्ने उनको भनाई थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।