टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिनुभयो । दशैँको सप्तमीका दिन धनकलाले छिमेकीसँग २० किलो धान सापटी माग्नुभयो र कुटाउनका लागि पल्लो गाउँमा रहेको मिल निस्कनुभयो । दशैँमा छोराछोरीलाई खुवाउने अन्नको जोहो गर्न धनकला हतारमै हुनुहन्थ्यो । ‘‘दशैँ आयो छोराछोरी के पकाउने, के खाने भन्न थालेका छन्, आफ्नो घरमा अन्नपात नि छैन’’, धनकलाले भन्नुभयो, ‘‘पुरानो अन्न सकियो, घरमा भएको धान पनि सकियो, दुई दिन त निकै पिर प¥यो, पछि पल्लो घरकी दिदीले धान दिनुभो । अब दशैँमा भोकै रहनु पर्दैन ।’’
धनकलाका घरमा खाद्यान्न संकट कोरोना महामारीपछि भएको हो । धनकला टीकापुरकै एउटा होटलमा वेटरको काम गर्नुहुन्थ्यो । कोरोना संक्रमण फैलन थालेपछि उहाँ काम गर्ने होटल बन्द भयो । होटल बन्द मात्र होइन धनकलाको रोजीरोटी र तीन छोराछोरी पाल्ने आधार बन्द भयो । सात महिनादेखि रोजगारीविहीन धनकलालाई रु ५० हजारभन्दा बढी ऋण लागिसकेको छ । ‘‘भारतमा रोजगारीका सिलसिलामा रहेका श्रीमान् पनि घर फर्किएका छन् । मेरो कामकाज पनि छैन, गाउँमै ज्यालादारी गरौँ भने पनि पाइँदैन’’, धनकला भन्नुहुन्छ, ‘‘अब के खाने रु के दशैँ आउँथ्यो, अब भोकै मर्ने चिन्ताले सताउन थाल्यो ।’’
टीकापुर –१ कै सन्देश चौधरीको परिवारमा पनि साँझबिहानकै छाक टार्न समस्या भएको छ । सन्देश दैनिक ज्यालादारीमा काम गर्नुहुन्छ । सन्देशका छोराछोरीले पनि दशैँमा मासु खाने र नयाँ लुगा लगाउने अपेक्षा गरेका छन् तर उहाँसँग राम्ररी खाना खुवाउन सक्ने आर्थिक जोहो छैन । ‘‘म घरघरमा दाउरा चिर्ने काम गर्थेँ, कोरोना महामारीपछि अचेल मानिसले बोलाउनै छाडे’’, सन्देश भन्नुहुन्छ, ‘‘आफ्नो जग्गाजमीन छैन, काम पाइँदैन, अनि छोराछोरीको पेट कसरी भर्नू रु’’
धनकला र सन्देशका घरमा मात्र होइन विपन्न बस्तीका धेरै नागरिकका घरमा यस वर्ष दशैँमा चुल्हो बल्न मुश्किल छ । यहाँका धेरै नागरिक होटल, घर सरसफाइ, ज्यालादारीको गर्थे । यी सबै काम बन्द छन् । ‘‘यहाँ दशैँ होइन दशा आएको छ । अलिअलि हुनेले छोराछोरीलाई नयाँ लुगा, सरसामान किनमेल र माछामासु खाएको देख्दा नहुनेको मन कँुडिएको छ’’, स्थानीयवासी रुपकेश सुनार भन्नुहुन्छ, ‘‘धनी र गरीबसँगै बस्नु राम्रो रहेनछ, देखासिकी र तडकभडकले विपन्नलाई पीडा दिन्छ ।’’ रुपकेशले भएकाले नभएकालाई खुवाएर, बाँडीचुँडी गरेर दशैँ मनाउनाको साटो यहाँ देखासिकी गर्ने चलनले चाडपर्वले ऋणको भारी बोकाउने गरेको बताउनुभयो ।
कोरोना संक्रमणका कारण लकडाउन भएपछि अतिविपन्न परिवारलाई यहाँका स्थानीय सरकारले खाद्यान्न वितरण गरेका थिए । एकतानगरकी सुदीक्षा दमाईँ दशैँ, तिहारजस्ता पर्वमा स्थानीय सरकारले राहत कार्यक्रम ल्याउनुपर्ने माग गर्नुहुन्छ । ‘‘सरकार नजीकै छ । हामी भोकै मर्ने अवस्था आइसक्यो’’, उहाँ भन्नुहुन्छ, ‘‘पहिले पहिले मागेर खान्थ्यौँ, आजभोलि अरुका घरमा जान नि डर लाग्छ । यस्तो बेलामा राहत दिए कति खुशी हुने थियौँ ।’’
कैलालीका धेरै नागरिक रोजगारीका सिलसिलामा भारत जान्छन् । परिवार यता बस्ने, पुरुषले कमाएको रकमले धेरैको घर चल्छ । कोरोना महामारीपछि मात्रै भारत तथा विदेशमा रहेका चार हजार नेपाली टीकापुर फर्किएका छन् । ‘‘६ महिनासम्म नकमाएपछि घरमा आर्थिक समस्या नहुने कुरै भएन’’, स्थानीयवासी रुपेश ओली भन्नुहुन्छ, ‘‘भारतबाट फर्केकाहरुले यहाँ काम पाएनन्, अहिले भारत जाने वातावरण पनि छैन, कतिपय परिवार त भोकमरी हुने देखिएपछि यहीबीचमा भारत पसेका छन् ।’’
टीकापुर– १ का वडाध्यक्ष गंगाराम आचार्य कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सबै क्षेत्र तहसनहस भएको बताउनुहुन्छ । ‘‘हामीले लकडाउन भएको करीब एक महिनापछि विपन्न सबैलाई खाद्यान्न दियौँ, हजारौँ परिवारले राहत पाए’’, उहाँ भन्नुहुन्छ, ‘‘चुल्हो नै नबल्ने परिवारका घरमा चुल्हो बाल्नेछौँ, वडा कार्यालयले नगरपालिकासँग पहल गर्नेछ ।’’ उहाँ छिमेकमा नभएका परिवारलाई हेयको दृष्टिले नभई बाँडीचुँडी खान आग्रहसमेत गर्नुहुन्छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, ११ जेठ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग…







