उत्कृष्ठ सहकारीहरुबीच अन्तरकृया सम्पन्न


     एभरेस्ट आवाज    
     कार्तिक २६ गते २०८१ मा प्रकाशित




पोखरा । नेपाली सहकारी अभियानका दुई उत्कृष्ठ संस्थाहरु कास्कीका पोखरा रोयल साकोस र काठामाडौमा रहेको चन्द्रागिरी साकोसका प्रतिनिधीहरु बीच एकदिने अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा रोयल साकोसको निमन्त्रणामा पोखरा आईपुगेका चन्द्रागिरी साकोसका समिति, उपसमिति र कर्मचारीहरुको प्रतिनिधीहरु र पोखरा रोयल साकोसका प्रतिनिधीहरु बीच दुई वटै संस्थाले हासिल गरेका सफलता, सदस्य सेवामा गरिरहेको असल अभ्यास, संस्थाले भोगिरहेका चुनौति, भावी रणनीति साथै सहकारी अभियानमा पु¥याउन सक्ने योगदानका सन्दर्भमा समेत चर्चा भएको पोखरा रोयल साकोसका सूचना अधिकारी मीलन ढकालले वताए ।

कोभिड महामारीको समयदेखि भगिनी सम्वन्धको रुपमा रहेको दुई संस्थाका अध्यक्ष द्धय रुद्रकुमारी गुरुङ्ग र योगेन्द्र कुमार कुँवरले संस्थाको गतिविधीलाई थप गतिशील, समयानूकूल, सदस्यमूखी र सहकारी अभियानमा योगदान दिने उद्धेश्यका साथ १७ बुँदे सम्झौता पत्रमा हस्ताक्षर समेत गरेका छन् ।

सम्झौता बमोजिम सहकारी क्षेत्रको साख वृद्धि, मानव संसाधनको क्षमता अभिवृद्धि, प्रविधीमैत्री सेवामा पहुँच वृद्धि, एकरुपता, सुशासन, असल अभ्यासहरुको आदानप्रदान र अनुशरण, बस्तु तथा सेवाको विकास र विस्तारमा संयुक्त खोजी गर्ने जस्ता विषयहरुमा दुबै संस्थाले दृढताका साथ लागिपर्ने अध्यक्ष द्धयले प्रतिवद्धता व्यक्त गरे ।

अन्तरकृया कार्यक्रममा पोखरा रोयल साकोसका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ्गले Exit Plan in Cooperative र चन्द्रागिरी साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले Grooming the Cooperative Leadership विषयमा प्रस्तुतीकरण दिए ।

सिईओ द्धय गुरुङ्ग र श्रेष्ठ नेफ्स्कून द्धारा वार्षिक रुपमा प्रदान गर्ने साकोस अभियानको उत्कृष्ठ सिईओ पुरस्कार बिजेताहरु हुन् । गुरुङ्ग वर्ष २०२४ र श्रेष्ठ वर्ष २०२३ मा उत्कृष्ठ सिईओको अवार्ड बाट पुरस्कृत भएका थिए । त्यसैगरि पोखरा रोयल साकोस र चन्द्रागिरी साकोसले संस्थागत रुपमा राष्ट्रिय सहकारी महासंघ, नेफस्कून र राष्ट्रिय सहकारी बैकबाट सहकारी क्षेत्रका उत्कृष्ठ पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका संस्थाहरु हुन् । हाल दुबै संस्थाहरु नेफस्कूनद्धारा सञ्चालित स्तरीकरण कार्यक्रममा आवद्ध रहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।