स्वीडेनको सार्वजनिक वसमा यात्रा गरिरहेको एक अमेरिकीले सँगै सिटमा बसेको एक बृद्धसँग अमेरिकी लोकतन्त्रको वखान गरेछ, ‘अमेरिकामा भिखारीले समेत राष्ट्रपतिलाई भेट्न चाह्यो भने हप्ता, दश दिनमा भेट्ने अवसर पाउँछ।’ त्यो प्यार प्यार बोलिरहने मानिससँग दिक्क भएर सँगै बसेको बुढोले स्वादसँग जवाफ दिदैँ भनेछ, ‘हामी कहाँ त भिखारी र राजा सार्वजनिक बसमा कुम जोडेर सँगै यात्रा गर्दछन्।’ आखिर यस्तो कुरा बताउने मानिस नै स्वीडेनको राजा रहेछ । यो कुरा सुनेर त्यो वुढो स्वभाविक रुपमा अचम्मित बन्यो।
भारतमा नेतालाई चिठी लेख्ने चलन नेहरुको पालादेखि नै सुरु भएको हो। हिजोआज यो प्रचलन बढ्दै गएर प्रधानमन्त्रीलाई मन्त्रीले, नेतालाई केन्द्रीय सदस्यले हँुदै फुटकर नेतासम्ममा पनि सरेको छ। यस्तो अवस्थामा अब आम मानिसको चिठी उनीहरुकहाँ पुग्न त्यति सजिलो अवश्य पनि छैन। पत्रवाट त भेट्न कठिन हुने नेताहरुलाई प्रत्यक्ष भेटघाट त संभव हुने विषयनै नभएकोले यहा चर्चा गर्नु आवश्यक नै ठानिएन।
पछिल्ला वर्षदेखि अर्थात गणतन्त्रको उदयपछि आम मानिसले नेतासँग भेट्नु असंभव जस्तै भएको छ। मन्त्रीले समेत महिनौं भेट गर्न नपाएको कुरा सुनिनु पनि सामान्य विषय जस्तै हुन थालेको छ। बरु, राजा आम मानिसको पहुँचमा हुन्थे। राजाले कसरी आफूलाई आम मानिसको पहुँचमा राख्न खोज्दथे भन्ने कुरा राजा जनकको यो सानो प्रसंगबाट पर्याप्त हुन्छ। राजा जनकको शयन कक्षमा पुग्नेगरी दरवारको मूल ढोकामा घण्टी झुण्डाइएको हुन्थ्यो। भेट्न चाहने जो कोही सर्वसाधारणले ढोकामा राखेको घण्टी बजाएपछि त्यो आवाज सिधै राजा जनकको शयन कक्षमा पुग्ने भएका कारण द्धारपाल, हरुवा–चरुवा र नोकर–चाकरहरुले छेक्ने संभावना नै थिएन।
नेताहरु जतिसुकै असामाजिक र असहिष्णु भएपनि यतिखेर मलाई यो देशका नेताहरुलाई भेटेर केही सोध्न मन लागेको छ। हुन त मैले सोध्ने कुरा नेताहरुलाई पहिला नै थाहा हुने भएकोले मलाई भेट दिनका लागि नेताहरुको ढोका खोलिएला भन्ने लाग्दैन। त्यसमा पनि नेताहरुको गेट, आँगन वरिपरी बिहानदेखि बेलुकासम्म घेरिएर बस्ने नेताका हरुवा–चरुवाहरुले मलाई भेट दिने कुरा पनि भएन। सन्देश पठाउनका लागि प्रयोगमा रहेको पेजर, टेलिग्राफ टेलिप्रिन्टर जस्ता प्रविधिहरु त बिस्थापित भएको यो समयमा मैले पठाउने चिठीको त्यति ठूलो प्रभाव त नरहला तरपनि, एक अदना नागरिकले मालिकसम्म सन्देश पु¥याउने यो माध्यमको अझैपनि अलिकति उपयोगी हुन सक्दछ कि भन्ने ठानी गणतन्त्रपछिका अझ २०४६ सालपछिका सबै नेताहरुको नाममा यो पत्र लेख्ने प्रयास गरेको छु।
चिठी किन लेख्नुप¥यो? के का लागि लेख्नुप¥यो? लेख्नुपर्ने के कस्ता विषयहरु थिए? लगायतका विषयहरु भन्दा अलिकति पर गएर एउटा सत्यको स्मरण गर्न मन लाग्यो। यतिखेर, नेता र जनताको सम्वन्धको खाडल पुर्नै नसकिने गरी गहिरिएर गएको छ। सम्वाद, झण्डै झण्डै समाप्त जस्तै बनेको छ। बादशाह र भिकारी, मालिक र नोकरबीचको सम्वन्ध भन्दापनि नेता र आम मानिसबीचको सम्वन्ध अत्यन्त डरलाग्दो तरिकाले भत्किएको छ। यो अवस्था गतिशील लोकतन्त्र र समृद्धिको यात्राका निमित्त अत्यन्त खतरनाक मोड हो। असफल राष्ट्रतिरको यात्राको पहिलो पडाव हो। यही बाटो भएर संसारका धेरै राष्ट्रहरुका सीमानाहरु खुम्चिएका छन्। र, फेलै पार्न नसकिने गरी समयको गतिमा बिलिन भएका छन्।
यो पत्र लेखिराख्दा मलाई अलिकति अतितको स्मरण गर्न मन लाग्यो। एक पटक गिरिजाप्रसाद कोइरालाले नेपाली काँग्रेसका नेता प्रदीप गिरी र केही सांसदहरुलाई बालुवाटारमा बोलाएर भन्नुभएछ, ‘प्रदीप गिरीजी तपाईहरुलाई मैले बेसरी पेलेजस्तो लाग्यो होला । अव, त्यस्तो हुँदैन। म तपाईहरुलाई मन्त्री बनाउँछु। तर, मेरो खर्च ठूलो छ । देश र पार्टी चलाउनुपर्छ । त्यसैले तपाईहरुले त्यसतर्फ विचार पु¥याउनु पर्दछ।’
कोइरालाको यस्तो भनाईप्रति असहमति राख्दै प्रदीप गिरीले भन्नुभएछ, ‘गिरीजाबाबु, देश र दल चलाउने आ–आफ्नै प्रकृयाहरु हुन्छन् र चल्छन्। तर, तपाई देशको मूल हो। मूल धमिलो भयो भने सबै धाराहरु धमिला हुन्छन।’
विचार निर्माण गर्न सक्ने विचारवान व्यक्ति भएका कारण प्रदीप गिरी आम मानिसका बीचमा त राम्रैसँग बाँचेका छन्। तर, नेपाली काँग्रेसको राजनीतिमा यही कारणले उनी महत्वपूर्ण तरिकाले स्थापित हुन नसकेको कुरा हामी सबैलाई थाहा नै छ।
एक चोटी एक जना प्रधानमन्त्री वायु उर्जाको पङ्खा लिन फिनलैण्ड गएछन्। वायु उर्जाको पङ्खा जहाजमा नअटाउने रहेछ। त्यसैले, ल्याउन सकिन भनेर फिर्ता भएछन्। पछि, प्रधानमन्त्री भएका अर्का नेताले पञ्चेश्वरको बिजुली सेटेलाइटमार्फत बिदेश बेच्न सक्छौ? भन्नुभयो। बोल्ने र भन्ने कुराको होडबाजीभित्र फेरि अर्का नेताले भनेछन्, ‘प्रचण्ड र ओलीले देशको विकास गर्न सकेनन्। मलाई पाँच वर्ष दिए चीनलाई जितिदिन्छु। यदि, मलाई नदिए मेरो केही झर्दैन। देशलाई घाटा पर्छ’।
एकजना प्रधानमन्त्रीले त ‘चुल्होमा ग्याँस छ, हजार मेघावाट वायु उर्जा ६ महिनाभित्र उत्पादन गरिदिन्छु, बेनी वजारमा रेलको स्टेशन, मुग्लिनमा बन्दरगाह, ओछ्यानमै भातको सुविधा’ आदि इत्यादि के के पो भन्नुभएन। शिक्षा, स्वास्थ्य, रोजगारी, सुरक्षा र सामान्य जीवन स्तरभन्दा माथि केहीपनि अपेक्षा नगरेका जनताहरुलाई होच्याउँदै नेताहरुले देश र जनताप्रति निरन्तर अपमान गर्न केही पनि बाँकी नै राखेनन्।
हाम्रा नेताहरु पालैपालो स्वयं र दलको सरकार बनाएर लगभग ४० बर्ष सत्तामा रहनुभयो। देश विदेश घुम्नुभयो। विश्वको राजनीति, अर्थनीति, समाज, भूगोल सबैको अद्योपान्त अध्ययन गर्नुभयो। अझै, केही जान्न बाँकी भए जानकार विज्ञहरुको जमात अगाडि–पछाडि घुमेको घुम्यै छन् । यति हुदा हुदैपनि जहाजमा वायु उर्जाको पङ्खा आउँदैन। अथवा, वायु उर्जाको पङ्खा जहाज चढेर आउने होइन। र, पंखा किनेर घरको विजुलीको प्लगमा जोड्ने वित्तिकै बल्ने वस्तु होइन भन्ने पनि थाहा नपाउनेहरुलाई हामीले नेता वनाएका छौं। मन्त्री र प्रधानमन्त्री बनाएका छौं। यस बीचबाट स्वाभाविक रुपमा प्रश्न उठ्छ। तपाई नेताहरु पटमुर्खको पनि पटमुर्ख हो या तपाईहरुले जनताहरुलाई पटमुर्खको पनि पटमुर्ख सम्झनुभएको छ? यसवाट के देखिन्छ भने दुबै कोणवाट तपाईहरु हाम्रो नेता हुन योग्य हुनु भएन। यसैले तपाईहरु राजनीति गर्नका लागि कुनैपनि कारणले योग्य पात्र हुनुहुन्न भनेर भन्न किन नपाउने? सेटेलाइटबाट बिजुली बेच्ने भनेर तपाईले भनेको कुरा अझै तीन सय वर्ष यो प्रविधि पृथ्वीमा अवतरित हुने संभावना छैन। पाँच वर्षमा देशलाई युरोप बनाउँछु, चीन बनाउँछु भन्ने तपाई दुबै जनाको पार्टीले कहिले एकल र कहिले साझा सरकार बनाउनुभयो? प्रधानमन्त्री वा सो सरहकै पदमा रहनुभयो? के कहिल्यै यसतर्फ हेक्का राख्नुभयो? त्यतिखेर के हेरेर बस्नु भयो? यो जवाफ तपाईहरुले जनतालाई दिनुपर्छ कि पर्दैन? जनताले सोध्न पाउने कि नपाउने?
पानीजहाज सय, पचास मानिस बोक्ने मोटरबोट होइन। गङ्गामा समेत संभव नभएको पानीजहाज सहायक नदिमा कसरी जोडिन्छ? भारतको स्वामित्व भएको नदिवाट समुन्द्रमा पुग्दैमा हाम्रो भूपरिबेष्ठितको हैसियत कसरी समाप्त हुन्छ? संघाईबाट सिंगापुर, हुग्ली, कोलकाता, बक्सर हुदै नारायणगढसम्म जहाज फेर्दै, होल्ड र लोड–अनलोड गर्दै आउँदा समय खर्चको हिसाव के हुन्छ? नदिवाट आउँदैमा भारतको हैकमबाट कसरी मुक्ति पाइन्छ? नदिमा सरसफाई र गहिराई कायम गर्न आवश्यक पर्ने प्रविधि भारतमा समेत नभएको अवस्थामा हामीकहाँ कसरी उपलब्ध हुन्छ? संसारभर पर्यटक घुमाउने फेरीवाहेक नदिमा जल यातायात बन्द गरिएको छ। यो पर्दा पनि नपर्ने विषय भएको र जलचरहरुको जीवनसमेत समाप्त हुने हुँदा हामीकहाँ यो कसरी संभव हुन्छ?
तपाईले ल्याएको पानीजहाज र रेलको टिकट किन्न नसक्ने, रेलले र जहाजले ल्याएको सामान किन्न नसक्ने, ग्याँस बाल्न नसक्ने, टिकट काटेर भ्यू–टावरमा र धरहरामा चढ्न नसक्ने जनतालाई तपाँईहरुको हृदय कसरी छुन सक्छ? पहिला जनताको सामथ्र्यको अभिवृद्धि गराउनुहोस्।
देश–विदेशको मेरो घुमाईको क्रममा मैले युरोप–अमेरिकाका सुदुर गाँउहरुमा अझै सिलिण्डर ग्याँसको विकल्प नभएको देखेको छु। कसरी दुर्गम गाँउका झुपडीका चुल्हाहरुमा फ्याट्ट लाइटर बालेर पाइपबाट आएको ग्याँस बल्छ? नेपालमा १५० मेघावाट भन्दा बढी वायु उर्जाको संभावना किमार्थ नभएको विज्ञहरुको ठम्याई छ। कहाँवाट बाँकी ५८८५ मेघावाट वायु उर्जा आउँछ? बेनी जत्तिको भुगोलमा रेल ल्याउने सामथ्र्य कहिले हुन्छ? सिङ्गात्सेबाट केरुड. ५८५ किमी रेलको लाइन सम्पन्न हुन १५ देखि २० वर्ष लाग्ने चीनको आंकलन छ । केरुङबाट काठमाण्डौ रेल सम्पन्न हुन न्यूनतम १० वर्ष लाग्ने अनुमान गरिएको छ। ओछ्यानमै भात पु¥याइदिने सामथ्र्य युरोप–अमेरिकामा समेत देखिएको छैन। बोल्ने मात्रै हो कि प्रमाणित पनि गर्नुपर्ने हो? तपाई चार चोटी प्रधानमन्त्री भई सक्नुभयो। सात चोटी हुन्छु भन्नुहुन्छ। चार वर्षमा देशलाई कहाँ पु¥याउनुभयो? अझै, कतै पु¥याउन र हामीसँग रिस फेर्न बाँकी छ? म फेरि भन्छु, या त तपाईहरु मुर्ख हो या हामीलाई मुर्ख सम्झिनुभएको छ?
हो, हामी मुर्ख नै हौं। प्रकारान्तरले मुर्खले चुन्ने पनि विद्धान हुन सक्दैन। किनभने, विद्धान चिन्ने उसको सामथ्र्य हुदैन। तर, अबको नयाँ पिँढी बित्पातको छ। पढेको छ। यिनीहरुको इन्टरनेटमा पहुँच छ। अंग्रेजीमा छुरा छ। त्यसैले, अब विश्व साहित्य, दर्शन, ज्ञान–विज्ञान, विश्व राजनीति बिकास, अर्थतन्त्र आदिका सुक्ष्मातिसुक्ष्म अव–यवहरुमा उनीहरुले नजर राख्दछ। विश्वका नेता सरकार र उनीहरुको कार्यसम्पादन परिणामबारे वाकिफ छ। यिनिहरुलाई तपाई कसरी ढाट्नुहुन्छ? छल्नु हुन्छ? र मुर्ख बनाउनु हुन्छ? मलाई त लाग्छ, यो पिँढीको नजरमा तपाई त मजाक र उपहास गर्ने पात्र हुनुहुन्छ। ‘तेरो दैलोमा रेलको स्टेशन ल्याइदिन्छु’ भन्दापनि जय जयकार गर्ने मुर्खहरु त हामी मात्र हौं। हामी पछिको पिँढी त जीवन्त छ । काविल छ । झुक्याएर, झुक्याउनै नसकिने वित्पातको छ।
देशको अर्थतन्त्र सानो छ। सानै हुनु स्वाभाविक हो। तर, युरोप–अमेरिका र छिमेकका बिशाल र सम्पन्न अर्थतन्त्र भएका देशहरुले समेत लाज मान्ने निर्लज्ज लुटखसोटतन्त्रको बीचमा उभिएर तपाई नेताहरुले चैनको बाँसुरी बजाई रहनुभएको छ। तपाईका पूर्ववर्तिहरुले पनि त्यही गरे। तपाई पनि फरक देखिन सक्नुभएन । कुनैले राज्यको ढुकुटी दोहन गरेर सत्ता पुख्ता राख्न बैङ्कक यात्रा, प्राडो–पजेरो, रसरंग र दर्जनौ मन्त्रीहरुको फौजका साथ देशको हुर्मत लिए। अहिले कुन शीर्षकमा देश लुटियो भनौं? कुशासन र लुटतन्त्रका अनगिन्ति श्रृंङ्खलाले देश त थला प¥यो प¥यो। बच्चाले महङ्गो कपडामा जिद्धि ग¥यो भने ‘बाबु हाम्रो सामथ्र्यले तिम्रो माग पूरा गर्न सकिदैन’ भनेर सम्झाइन्छ यहाँ त । यस्तो गरीव देशको राज्यकोषको दोहनबाट नेतृत्वको फजुलखर्ची र विलासी ढस्साले अन्ततः देश कहाँ पुग्ने भयो? अब, अनुमान गर्न सकिन्छ ।
तपाईहरुले जोडेको अस्वाभाविक सम्पत्ति तपाईसँगै जाने होइन। राजनीतिमा तपाईको उपस्थिति फितलो देखिनेबित्तिकै तपाईका नातागोता कुलकुटुम्व इष्टमित्र जसलाई मृत्युसम्म मेरा वफादार रहन्छन् भनेर सम्पत्ति लुकाउन दिनुभएको थियो, तिनैले तपाईलाई मरेको बाख्रालाई किर्नाले छाडे जस्तै गरी छाडिदिनेछन्। अरु त अरु तपाईका सन्तान समेत सन्तान हौं भन्न लाज मान्नेछन्। तर, तपाईले जोडेको सम्पत्ति छाड्ने छैनन्। मागी हाल्नुभयो भने लुटेको सम्पत्ति त हो नी भनेर दुत्कार गर्नेछन्। तपाईको सम्पत्तिले तपाईको मृत्युसम्म पनि पर्खिदैन। यसका केही उदाहरणहरु सतहमा आइरहेको हामीले देखेका भोगेका र अनुभव गरेका छौं।
इतिहासमा तपाईलाई कसरी संझियोस ? भन्ने चाहनुहुन्छ भन्ने प्रश्नहरु अधिकांश नेताहरुलाई सोधिएको हामीले पाउँछौ। वीपी कोइरालाले ‘मलाई इतिहासले गुण–दोष दुबैले भरिपूर्ण सामान्य तर नियत सफा भएको असल मानिस भनेर संझिदिए पुग्छ’ भन्नुहुन्थ्यो । समयले पञ्चायतका दुर्दान्त निमित्त नायक मरिचमान सिंहलाई असल मानिस भन्न थालेको छ। के तपाईहरुलाई इतिहासले मरिचमान जतिको पनि संझिएला?
महाकवि फिरदैसीले सम्राटबाट प्रति श्लोक एउटा स्वर्णमुद्रा लिएर महाभारत जत्रै शाहनामा कर्खा महाकाव्य रचना गरेका थिए। पञ्चायतमा पनि पैसा लिएर लेखिदिने कविहरु धेरै थिए। अबको पुस्ताले तपाईलाई सम्झन तपाँईले राज्यकोषको दोहन गरेर लेखाएको किताव होइन । तपाईको कामको परिणाम हेर्छ, नियत हेर्छ। अबको पुस्ता झुक्याई नसक्नुको छ।
उग्र राष्टवादको घोडा दौडाएर सबैलाई पछाडि पार्छु भन्दा धेरै नेताहरु स्वयं पछारिएका छन् भने कतिले देशै पछारिदिएका छन्। नाकावन्दी, लिपुलेक जस्तै पचासौं प्रकरणमा तपाईहरुका उग्र क्रिया–प्रतिक्रियाले एकछिन पिसावको न्यानो त भयो होला! तर, स्वयंमा यो अत्यन्त अदूरदर्शी र राष्ट्रहित विपरित बचकाना निर्णय थियो। देशले यस्तो बेला उच्च कुटनैतिक चातुर्यता, क्षमता, बौद्धिकता भएको वाकपटु कुटनैतिक व्यक्तित्व चाहेको थियो। अब, त्यो नभएको प्रमाणित हँुदैछ।
नेताजीहरु, तपाईहरुसँग अनगिन्ति प्रश्नहरु मनको पेटारोमा ठेलमठेल गरेर बसेका छन्। प्रश्न कहाँबाट सुरु गरुँ? तपाईहरुलाई हिँजो जोवन दिइयो। जीवन दिइयो। घरको बा–आमा, वा पत्नी र सन्तानका सपनाहरु खोसेर दिइयो। अब, तपाईहरुलाई दिन प्रश्नहरु मात्रै बाँकी छन्। आफूसँग जे छ, त्यो मात्रै दिन सकिने भएकोले तपाईहरुलाई यी प्रश्नहरु दिएको छु। देशभरका करोडांै प्रश्नहरुले तपाईहरुलाई मृत्युपर्यन्त पनि पछ्याई रहनेछन्। यो पत्रको मनशाय अझै समय छ। सच्याउन सकिन्छ भन्ने हो। समयको घाउ तपाईको सच्याइले अलिकति खाटो त देखिएला ! तर, पुरिन्छ भन्ने हो।
धन्यवाद ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।

कास्कीका पुराना कम्युनिष्ट नेता मिनराज पौडेलको निधन भएको छ । पोखरा महानगरपालिका…







