पोखरा आन्तरिक तथा बाह्य पर्यटकको रोजाईको शहर हो। अधिकांश सर्वसाधारण, कलाकार, नेता व्यापारी, कर्मचारी, विद्यार्थी, कवि, लेखक सबैको प्रमुख रोजाईको शहर पोखरा यतिबेला भने कोरोना कहरले सुस्ताएको छ। कोभिड–१९ को प्रभावले विश्वलाई पारेको प्रभावसँगै पोखराको पर्यटनले पनि गति लिन सकेको छैन। ‘पर्ख र हेर’को स्थितिमा रहेको पर्यटन क्षेत्रमा व्यवसायिक पाइलासँगै अघि बढ्दै गरेका पर्यटन व्यवसायी महिलालाई पनि उस्तै असर पारेको देखिन्छ।
प्राकृतिक सुन्दरताले अवर्णित शहर पोखरामा दुई वर्षअघि मात्रै निकै उत्साहका साथ ऋणको भारीलाई पनि हलुँगो गरेर बोक्दै साढे पाँच करोडको लगानीमा होटल भिजिटर्स इन संचालनमा ल्याएकी संचालक शर्मिला न्यौपाने यतिबेला निकै निराश छिन्। पर्यटकीय मौसमको शुरुआतलाई स्वागत गर्ने तयारीका साथ बसिरहँदा चैत ११ को लकडाउनसँगै शर्मिलाले देखेको धेरै सपनाहरु धुमिल भएका छन्।
शर्मिलाले भनिन्, ‘सुरुका दिन कसरी बाँच्ने भन्ने चिन्तामा भयौ, विश्वनै ठप्प भइरहँदा ज्यानको मायाले नै सतायो। जब दिनहरु बित्दै गए बाँच्ने आधारको खोजी हुन थाल्यो। त्यसको एउटै बाटो भनेको व्यवसाय संचालन हुनु हो। अहिले बन्दाबन्दी त खुलेको छ, तर पर्यटक छैन। अक्टुबर नोभेम्बरको यो ‘पिक सिजन’मा पनि सुनसान होटलको अवस्थाले निकै पिरोलेको छ।’
दुई छोरी सहित कहिलेकाहीँ श्रीमान रोशन दाहाल र शर्मिला बैंकको ऋण सम्झिएरै उनी टोलाउँछिन्। फेरी मन बुझाउँछिन् ‘समस्या भए समाधान पनि त होला!’
उनी आशाको साझा दियो जलाएर उज्यालोको पर्खाइमा बस्छिन्। व्यवसायको सबै स्वामित्व न्यौपानेकै नाममा छ। दोहोरो जिम्मेवारीले उनीलाई बेला बेला ऐठन हुन्छ। ‘श्रीमानको अनुहार हेर्छु, व्यक्त हुन नसकेका धेरै पीडा देख्छु। आर्थिक बोझले पुरुषलाई सताउँछ। त्यसको अन्य पाटोले महिलालाई सताउने गर्छ। घर भित्रदेखि बाहिरको जिम्मेवारी अहिले धेरै व्यवसायी महिलामा छ। बाहिर देखिँदा पुरुष देखिनुहुन्छ। तर, भित्र महिलाको जिम्मेवारी झनै ठूलो छ’, न्यौपानेले सुनाउँछिन्। अझै पनि पर्यटन क्षेत्रमा महिलाको योगदानको मूल्यांकन हुन नसकेको र महिलामैत्री नीति तथा कार्यक्रमबाट सम्बोधन हुन नसकेको उनको गुनासो छ।
लेकसाइड टिका रिर्सोटका संचालक संगिता पौडेलले पनि कोभिड–१९ पछि ठप्प पर्यटन व्यवसायले आर्थिक र मानसिक बोझ थपिएको बताउँछिन्। भित्र बाहिरका थुप्रै जिम्मेवारी सम्हाल्दै आएकी पौडेलले व्यवसायी महिलाले धेरै कुराहरुलाई व्यवस्थापन गर्नुपर्ने चुनौति रहेको बताउँछिन्। लामो समयपछि पर्यटन क्षेत्रमा महिलाहरु संगठित भएर बाहिर आउन लागेको बेला देखिएको कोभिड–१९ को असरले महिलालाई हतोत्साहि गराएको उनको अनुभव छ। ‘यो क्षेत्रमा महिलाको उपस्थिती बाक्लिदै थियोे, भूमिकाको खोजी पनि हुँदै थियो यहीबीच कोरोनाले धेरैको ऊर्जालाई शिथिल बनाइदियो। दोहोरो तेहेरो जिम्मेवारीको बोझ अधिकांश व्यवसायी महिलाको साझा चुनौती हो।’
उनले पर्यटन व्यवसायमा महिला सहभागिता बढाउन राज्यस्तरबाटै पर्यटनमैत्री नीतिको खाँचो औंल्याइन्।
पोखरामा सम्भवतः पहिलो महिला पर्यटन व्यवसायी इन्दिरा बराल यस क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको बताउँछिन्। २०४२ मा माउण्टेन वे ट्रेकिङ संचालनमा गरेकी बराल तत्कालीन समयमा पनि पर्यटन क्षेत्रमा महिलाको उपस्थिति रहेको तर भूमिकाको खोजी नभएको कारणले नदेखिएको बताउँछिन्।
‘अधिकांश पर्यटन क्षेत्रमा महिलाले व्यवस्थापकीय जिम्मेवारी बहन गरेका हुन्थे तर घर बाहिर पुरुष झै हिँड्ने अवसर उनीहरुलाई थिएन, गुमनाम भएर नै काम गर्थे तर बाहिर व्यवसायको मालिक पुरुषनै हो भन्ने पुरुषवादी साेंचले महिला निर्णायक तहमा आउन सकेनन्’, बरालले बताइन्।
उनले पछिल्लो समय पर्यटन सम्बद्ध व्यवसायमा आवद्ध महिलामा केही ऊर्जा मिल्दै गर्दा कोभिड–१९ मारमा परेको बताइन्।
त्यसैगरी महिला पर्यटन व्यवसायीको रुपमा आफूलाई स्थापित गराउन सफल लक्की कार्की पर्यटन क्षेत्र ‘मेल डोमिनेट’ क्षेत्र भएको बताउँछिन्। महिला व्यवसायीप्रति सकारात्मक दृष्टिकोण राख्न नसक्नुनै यस क्षेत्रमा महिलाको गुणात्मक सहभागिता हुन नसकेको कार्कीको बुझाई छ। सन् १९९४ सालमा थ्री–सिस्टर्स एड्भेन्चर प्रा.लि संचालनमा ल्याएकी कार्कीले पदयात्रा पर्यटनमा महिला गाइड उत्पादन गरेर रोजगार प्रदान गराउनुमा उनको योगदान मानिन्छ।
पर्यटन व्यवसायी महिला संघ (टेवान)को अध्यक्ष समेत रहेकी कार्की भन्छिन्, ‘पर्यटन क्षेत्र वृहत्तर छ, यसमा महिलाको समान सहभागिताबाट उनीहरुको क्षमता दक्षतालाई प्रयोग गर्न सके यसको वृहत्तर विकासमा टेवा पुग्छ तर राज्यबाट यस क्षेत्रमा महिला सहभागितालाई सम्बोधन गर्ने कुनै कार्यक्रम नै छैन, राज्यबाटै सधँै उपेक्षा गरिएको छ। आफ्नै क्षमताले स्थापित हुँदै गरेका महिला व्यवसायीप्रति पनि अनेक धारणा निर्माण गरेर हतोत्साही गर्ने काम हुने गरेका छन्।’
उनले पछिल्लो समय थुप्रै जिम्मेवारी बोकेर यस क्षेत्रमा अग्रसर हुँदै गरेका महिलालाई कोरोनाका कहरले फेरी व्यवसायबाटै पलायन गराउने अवस्थामा पु¥याएको बताइन्।
सन् १९५० जून ३ मा फ्रान्सेली मौरिस हर्जोगले अन्नपूर्ण हिमाल आरोहण गरेसँग नेपालको पर्यटन प्रवद्र्धन भएको मानिन्छ। पोखराको पर्यटन क्षेत्रले सन् १९७० को दशकमा खुलेको फिष्टेल लज, अन्नपूर्ण र क्रिष्टल होटलले पर्यटन क्षेत्रलाई गति प्रदान गरेको पर्यटन क्षेत्रका अध्येता श्रीकान्त खतिवडा बताउँछन्।
उनका अनुसार अथाह संभावना रहेको पर्यटन क्षेत्रमा व्यवसायिक रुपमा आफ्नो अस्तित्व र भूमिकाको खोजीसहित केही महिला पछिल्लो समय आउन थालेका छन्। कोभिड–१९ ले सुस्ताएको यस क्षेत्रमा महिलाको क्षमता सीप र व्यवस्थापकीय कलालाई परिष्कृत र परिमार्जित गरेर प्रयोग गर्न सके यस क्षेत्रमा महिलाको सहभागिता बढ्ने उनको विश्वास छ। उनले भने, ‘महिलामैत्री नीति कार्ययोजनामा जोड दिएर जिम्मेवारी बाँडफाँड गर्न सके महिलाले आफ्नो क्षमता प्रदर्शन गरेर पर्यटनमा टेवा पु¥याउन सक्नेछन्।’ उनले पर्यटनमा महिला उद्यमशीलता बढेसँगै महिला पर्यटकमैत्री वातावरण पनि बनेको उल्लेख गर्दै यसले पर्यटन क्षेत्रमा थप सकारात्मक सन्देश प्रवाह गर्ने बताए।
यस क्षेत्रको समग्र विकासको व्यवसायिक हक हितका लागि भनेर २०५२ सालमा पोखरा पर्यटन परिषद्को स्थापनामा भएको पाइन्छ। पोखरामा पर्यटन क्षेत्रलाई लक्षित गरी संचालित व्यवसायका दर्जन बढी संस्थाहरु छन्। यद्यपि, यो छाता संगठनमा अझसम्म महिला पर्यटन व्यवसायीले स्थान पाएका छैनन् ।
२०७४ सालमा (महिला पर्यटन व्यवसायी मञ्च)वोटेफ र टेवान (पर्यटन व्यवसायी महिला संघ) नामक दुई संस्था दर्ता भएका छन्। वोटेफमा २ सय ५ सदस्य छन् भने टेवानमा १ सय सदस्य छन्। दुबै संस्थको साझा उद्देश्य यस क्षेत्रमा महिला पर्यटन व्यवसायीको संख्यात्मक र गुणात्मक वृद्धिसँगै व्यवसायिक छवि निर्माण गर्ने देखिन्छ।
पोखरा शहरमा पर्यटन व्यवसायीको सुचिमा महिला पर्यटन व्यवसायीको योगदानलाई लिपीवद्ध हुनेगरी कहिँ कतै समावेश गरेको पाइँदैन। यद्यपि, यस शहरलाई व्यवसायको माध्यमबाट उकास्न पर्दा पछाडि बसेर पनि धेरै महिलाले योगदान पु¥याएका छन्।
ओटेफका अध्यक्ष जमुना पराजुली भन्छिन्, ‘पोखराको पर्यटन क्षेत्रमा जति पुरुषको योगदान छ, महिलाको पनि त्यतिनै योगदान छ। झण्डै ५० प्रतिशत भन्दा बढी महिलाले व्यवसायलाई पूरै धानेका छन् । आर्थिक कारोवार मात्रै गणना गर्ने तर पर्यटन क्षेत्रमा हुने हस्पिटालिटीदेखि व्यवस्थापनको हरेक कुरामा महिलाको भूमिकाको कहिँ कतै उल्लेख नै हुँदैन।’
कोरोनाको प्रभावले थला परेको पर्यटन व्यवसायको कारण धेरै महिलालाई मानसिक रुपमै असर पारेको बताउँदै उनले अगाडि बताइन्, ‘महिलाले हरेक कुरालाई गम्भिर रुपमा लिएर त्यसको समाधानको उपाय खोजिरहन्छन्। घरभित्रको जिम्मेवारीसँगै व्यवसायिक जिम्मेवारीले उनीहरुलाई बोझिलो बनाइरहेको हुन्छ। तर, बाहिर उनीहरुको भूमिका नै छैन जस्तो गरिन्छ।’
उनले सभा सम्मेलन, अन्तक्रिया, विशेष फोरमहरुमा पुरुषको मात्र सहभागिता हुने हुँदा महिला सहभागितालाई कम प्राथमिकता दिने गरेको बताइन्। यसले गर्दा कोभिड–१९ पछि पर्यटनको अवस्था र अब नयाँ चुनौतीलाई कसरी सामना गर्ने भन्ने धेरै कुराबारे ज्ञान हासिल गर्न अवसर कम हुने उनको भनाई छ।
नाट्टा गण्डकीका महासचिव एवं मेट्रो इन टुर एण्ड ट्राभल्सका संचालक कमला गिरी पर्यटन क्षेत्रमा महिलाको योगदानको कदर हुन अझै वातावरण नबनीसकेको बताउँछिन्। कोभिड –१९ को असरले पारेको प्रभावमा पनि पर्यटन व्यवसायी महिलाको सहभागिता र उनीहरुको अनुभवलाई खासै प्राथमिकताको साथ स्थान नदिएको उनको गुनासो छ।
‘पर्यटन क्षेत्र भनेको पुरुषको मात्र हो, यसमा उनीहरुको मात्रै योगदान छ भन्ने बुझाई बदलिएको छैन । दिनरात नभनी घर परिवार व्यवस्थापन गरेर पर्यटन व्यवसायमा लागेका महिलाको योगदानको कदर अझै हुन सकेको छैन’, उनको गुनासो छ। एकाध बाहेक अझैपनि यस क्षेत्रमा महिला नेतृत्व स्थापित हुन नसकेको विचारले स्थान पाउन नसकेको उनको भनाई छ।
पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेल पर्यटन क्षेत्रमा व्यवसायिक छविसहित महिलाको उपस्थिति बाक्किदै गएकाले अब नेतृत्वमा महिला आउन धेरै समय कुर्नु नपर्ने विश्वास व्यक्त गरे।
पोखरेलका अनुसार नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखरामा नेपाल आउने करीब आधा पर्यटक भित्रिने गरेका छन्। पोखराको पर्यटनमा करीब ४ खर्बको लगानी छ भने २५ हजार रोजगारमा आवद्ध छन्। यस क्षेत्रमा कति महिलाको नाममा स्वामित्व रहेको छ भन्ने कुरा भने एकिन तथ्यांक नभएको उनको भनाई छ। अधिकांश पर्यटन महिलाहरुले होटल, गार्मेन्ट, टुर एण्ड ट्राभल्स, ट्रेकिङ सपहरुको व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दै आएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।