होसियार ! दशैंमा कोरोना कोसेली नबनोस्


     सन्देश श्रेष्ठ    
     कार्तिक ७ गते २०७७ मा प्रकाशित




के तपाईं दशैं मनाउन मूल घर फर्किदै हुनुहुन्छ ? कि तपाईं आफू भन्दा ठूलाबडाको हातबाट टीका लगाउन आफन्तकोमा जाने योजनामा हुनुहुन्छ ? यदि तपाईं त्यस्तो योजनामा हुनुहुन्छ भने आजै र अहिल्यै सचेत हुनुस्, किनकि तपाईंको त्यो योजनाले दशैं दशामा बदलिन सक्छ । खुसियाली साट्न गएको घरमा रुवाबासीको उत्पात मच्चिन सक्छ । अनि हाँसीखुसी बसेको परिवारमाथि बज्रपात पर्नसक्छ । कारण एउटै छ कि तपाईं जुन हाँसीखुसी भर्न मूल घरमा जानुहुन्छ वा आफन्तकोमा टीका थाप्न जानुहुन्छ त्यहाँ तपाईंको कारण कोरोना सर्न सक्छ । अर्थात तपाईं कोरोनाको कोसेली लिएर त जाँदै हुनुहुन्न ? एकपटक ठण्डा मनले सोंच्नुस् त ।

दशैंमा आशिर्वाद लिने हो । खुसी भर्ने हो । तर त्यहि खुसीमा ढुसी लाग्नेगरि कोरोनालाई कोसेली बनाउने होईन । बरु यस्तो कोरोना संक्रमणको जोखिमका बेला घरमै बस्ने हो । दशैंलाई परिवारमा सिमित गर्ने हो । संक्रमण रोक्नसके दशैं त अर्को वर्ष मनाएपनि त हुन्छ नि ! हुँदैन र ? त्यसैले आजै आँट गर्नुस् मपनि घरका परिवारसँग मात्र टीका लगाउँछु अन्य आफन्तकोमा जान्नँ, अनि अन्य आफन्तलाई पनि घरमा बोलाउँदिन ।

अहिलेको दशैं सामान्य अवस्थामा मनाउन लागिएको होईन । विषम परिस्थितिमा मनाउन लागिएको हो । त्यसैले यसलाई उल्लासमय बनाउने नाममा संक्रमण फैलाउने अपराधी म बन्दिनँ भन्ने अठोट गर्नुपर्छ । बरु यसलाई सूचना र प्रविधिको यो २१ औं शताब्दीमा डिजिटल प्रविधिबाट आशिर्वाद आदानप्रदान गर्ने वातावरण निर्माण गर्नुपर्छ । आखिर जसरीपनि खुसीयाली साट्ने त हो । आशिर्वाद आदानप्रदान गर्ने त हो ।

दशैंमा टीका लगाउन जाँदा एउटामा भएको संक्रमण अर्कोमा फैलिन सक्छ । टीका लगाउन जाने ठाउँसम्म जानका लागि प्रयोग गरिने सवारी साधनमा भेटिने अनेकन मान्छेहरुसँगको सम्पर्कमा पुग्दा त्यहिंबाट संक्रमण फैलिन सक्छ । कोसेली किन्न जाँदा बजारबाट संक्रमण सर्न सक्छ । यसरी संक्रमण धेरै कारणबाट सर्न सक्ने जोखिम हुँदाहुँदै मेरो आमा, मेरो बाबा, मेरो दाजुभाई, दिदी बहिनी वा साथीभाई त हो नि भनेर हेलचेक्राईं गर्दा त्यहिंबाट कोरोना सर्न सक्छ ।

सरकारलेपनि दशैं घर परिवारमा मात्र सिमित गर्न भनिसकेको छ । सरकार मातहत रहेका जिल्लास्थित प्रशासनलेपनि दशैं ‘जहाँ बसेको छ त्यहिं मनाउनू’ भनेर सूचना जारी गरिसकेको छ । राज्यले भनेको कुरा मान्नू प्रत्येक नेपालीको कर्तव्य हो । त्यसमापनि सरकारले हामी सर्वसाधारण जनताको हितका लागि भनेको हो । यसलाई सबैले पालना गरेर आफूपनि सुरक्षित बन्ने अनि अरुलाई बनाउनुपर्छ ।

यो दशैंलाई कोरोनामुक्त बनाउन सामाजिक अगुवाहरुलेपनि भूमिका खेल्नुपर्छ । उनीहरुले हिम्मत गरेर सार्बजनिक रुपमा भन्न सक्नुपर्छ कि यो दशैं म परिवारसँग मात्र मनाउँछु, मपनि अन्य आफन्तकोमा टीका लगाउन जान्नँ, अनि अन्य आफन्तलाईपनि आउन दिन्नँ । हो यस्तै अभियन्ताको खाँचो छ समाज जोगाउनका लागि । छरछिमेक र आफन्तलाई कोरोना संक्रमणबाट जोगाउनका लागि । यस्तै अभियन्ता मध्येका एक अगुवा हुन् सामाजिक अभियन्ता तथा संस्कृतिविद् तीर्थ श्रेष्ठ । जसले सामाजिक सञ्जाल फेसवुकमार्फत घर परिवार मात्र बसेर दशैं मनाउन आग्रह गर्दै भनेका छन्,‘कोरोना महामारीजन्य विषम परिस्थितिका कारण यस पटकको दशैंमा छोरी, ज्वाईंहरु, नाती नातीनीहरुलाईसमेत टीका लगाउन नआउनु हामीहरुको आशिर्वाद छँदैछ भनेर चित्त बुझाउनु परेको छ । आफूले सँधै टीका आशिर्वाद ग्रहण गर्नेगरेको सबै अग्रजहरुसँग तपाईंहरुको आशिर्वाद छँदैछ । यसपटक क्षमा गरिदिनुहोस् भन्न बाध्य छु, कृपया टीका लगाउन आउनपनि बाटो छेक्यो नभन्नुहोला । सबैको स्वास्थ्यलाई ध्यानमा राखेर आ–आफ्नो घरमै रहेर दशैं मनाऔं ।’

श्रेष्ठलेजस्तै अरुले पनि यो आँट गर्नुपर्छ कि दशैंमा आफूपनि आफन्तको जान्नँ र आफन्तलाईपनि नआउनू भन्नलाई । अरुलाई मात्र अर्ति उपदेश दिने, अनि आफूचाहिं लखरलखर घरघर चाहारेर टीका लगाउँदै हिंड्ने हो भने त्यसकोपनि औचित्य रहँदैन । अरुले मानिदिउन् भन्ने चाहनुहुन्छ भने पहिले आफैबाट शुरु गर्नुपर्छ भन्ने सिद्धान्तलाई आत्मसात् गर्दै त्यसको नेतृत्व गर्ने हिम्मत गर्नुपर्छ । नत्र सामाजिक अभियन्ता भन्ने, परेका बेला समाज रुपान्तरणको नेतृत्व गर्नुको सट्टा पुच्छर लुकाएर बस्ने हो भने कसरी सामाजिक अभियन्ता भइएला र खै ! समाजलाई आवश्यक परेका बेला नेतृत्व गर्न नसक्ने हो भने त्यो सामाजिक अभियन्ता बन्न सक्दैन ।

त्यसैले नेपाललाई ईटालीमाजस्तो संक्रमणको डरलाग्दो स्थितिमा पु¥याउने हो कि संक्रमणबाट मुक्त गरेर देशलाई पुरानै लयमा फर्काउने हो ? तपाईं हाम्रै हातमा छ । हतारमा गलत निर्णय गरेर फुर्सदमा पछुताउनु भन्दा बेलैमा सचेतता अप्नाऔं । कोरोना कासेली लिएर कोहिपनि आफन्तकोमा नजाऔं, अरुलाईपनि नबोलाऔं । अहिले बाँचिएछ भने अर्को साल मज्जाले हर्षोल्लासपूर्वक दशैं मनाउँला । दशैंको सतत् शुभकामना ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।