कोभिड १९ : दशैं कसरी मनाउने ?


     हरिदेवी कोइराला, प्राज्ञ    
     कार्तिक ९ गते २०७७ मा प्रकाशित




हरेक वर्ष दशैंको रौनकले घर आंगन मात्रै होइन मननै रमाइलो हुन्थ्यो । खुलेको मौसम, आकाशमा उडेका चंगा, बाटो भरी देखिने लिङ्गे र रोटे पिङ घर रंगरोगन, रोटीका परीकार लगायतले चाडबाडको रौनकता दिन्थ्यो । यो बर्ष त कोरोनाको कहरका कारण दशैं आएको भान नै भएन । यो वर्ष यसै पनि मेरा तीन जना आफन्तको मृत्युले मन रमाइलो छैन, त्यहि माथि कोरोना कहरको सास्ती छ । मनमा खुशी उमंग भए चाडबाडले रमाइलो अनुभुति गराउँछ अहिले कसैको मनमा खुशी छैन । जीवन बाँच्न पाए मात्र हुन्थ्यो भन्ने अवस्थामा दशैंको महिमाले कसैलाई छुन सकेको छैन ।

कुनै समय थियो नयाँ लुगा लगाउने रहरले मिठो मसिनो खाने रहर, टिका लगाएको पैसा पटक पटक गन्दै राख्ने रहर, पिङमा मच्चिने रहर , निधारभरी टिका लगाएर कसको धेरै छ भनेर देखाउने रहरका लागि वर्ष दिनको दशैं कुरिन्थ्यो । महिना दिन अघिदेखिको पर्खाइ हुन्थ्यो । तर अचेलका बालबालिकामा दशैंको त्यो रौनक र महत्व देखिदैन । दशैंको सामाजिक सांस्कृतिक पक्षहरु विस्तारै हराउँदै गइरहेकै बेला कोरोनाले झन असर गरेको छ । अहिलेको अवस्थामा एकअर्काबाट टाढा रहेर आफ्नै घरमा बसेर दशैं मनाउन म अनुरोध गर्छु । बाँचे अर्को साल निधारमा टिका र जमराले सजिएर घर घर पुगौँला र मान्यजनको आर्शिवाद लिउँला । अहिले सबै घरमै बसौ सुरक्षित रहौँ ।दशैंको शुभकामना ।( कोइराला प्राज्ञ तथा बरिष्ठ लोक गायिका हुनुहुन्छ ।- सम्पादक)


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।