पोखरा गौशालामा ‘पञ्चदिवसीय गाई पूजा महोत्सव-२०८३’, १५६ गाईको दर्शन गराइने


     एभरेस्ट आवाज    
     कार्तिक २० गते २०८३ मा प्रकाशित




पोखरा, कात्तिक २० गते ।

पोखरा महानगरपालिका वडा नं. १५ मझुवास्थित पोखरा गौशाला (गौ सेवा आश्रम) मा कात्तिक २१ गते (भोलि)देखि २५ गतेसम्म आयोजना हुने ‘पञ्चदिवसीय गाई पूजा महोत्सव–२०८३’ को सम्पुर्ण तयारी पुरा भएको छ ।

तिहार (यमपञ्चक) को पावन अवसरमा स्थानीय रैथाने जातका गाईहरूको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले यो महोत्सव आयोजना गर्न लागिएको हो ।

कार्यक्रमका संयोजक लक्ष्मण पौडेलका अनुसार महोत्सव अवधिभर दैनिक बिहान ८ः०० बजेदेखि आगन्तुकहरूका लागि स्थानीय जातका एक सय ५६ वटै गौमाताहरूको दर्शन तथा पूजाआजाको व्यवस्था मिलाइएको छ ।

“हिन्दू संस्कृतिमा गाईलाई माता, समृद्धि र करुणाको प्रतीक मानिन्छ । गाई तिहारको दिन मात्र नभई हरेक दिन पुजनीय र सेवायोग्य छन्,“ संयोजक पौडेलले भन्नुभयो, “पिपल र तुलसी जस्तै पूजनीय गाईको सेवा र दर्शनले मानिसमा सकारात्मक ऊर्जा र पुण्य प्राप्त हुन्छ।”

यस गौशालाका परिकल्पनाकार नन्दगोपाल दास हुनुहुन्छ । उहाँकै अवधारणा अनुसार छाडा छोडिएका र बेवारिसे स्थानीय गाईहरूको संरक्षण गर्न यो आश्रम स्थापना गरिएको हो । पूर्ण रूपमा दाताहरूले उपलब्ध गराउने पराल, चोकर र अन्य खुराक (दान) बाट संचालित यस गौशालाले तिहारको अवसरमा गौप्रेमीहरूलाई सहज रूपमा पूजा गर्ने वातावरण निर्माण गरेको छ ।

नौ वर्ष अगाडि मात्र पाँचवटा गाईबाट सुरु गरिएको यस गौशालामा हाल गाईको संख्या बढेर एक सय ५६ पुगेको छ । तीमध्ये १० वटा गाई दुहुना रहेका छन्। फुलवारी रिसोर्टको तल्लो भागमा, सेती नदीको किनारमा अवस्थित करिब ६ सय रोपनी सार्वजानिक जग्गामा फैलिएको यस आश्रममा हाल पाँच वटा व्यवस्थित गोठहरू निर्माण गरिएका छन् ।

गौशालामा गाईहरूको रेखदेखका लागि पाँच जना गौसेवकहरू निरन्तर खटिएको आश्रमले जनाएको छ ।

गौशाला पुग्नका लागि बुद्धचोक, पेन्सन क्याम्प रामबजार, वडा कार्यालय–१५, स्थानीयपाटन, गलेश्वर मन्दिर चोक हुँदै गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र नजिकै पुग्ने मार्ग तय गरिएको आयोजक समितिले जनाएको छ । गाई तिहारको अवसरमा गौसेवा, आहार दान तथा संरक्षण कार्यमा हातेमालो गर्न सम्पूर्ण आम नागरिक र गौप्रेमीहरूमा महोत्सवमा सहभागी भईदिन कार्यक्रम संयोजक पौडेलले आग्रह समेत गर्नुभएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।