सन्देश श्रेष्ठ
पोखरा, कात्तिक २०
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ‘रङमा लोमान्थाङ’ र ‘कला अङ्कुर’ अभियान सञ्चालन गर्ने भएको छ । प्रतिष्ठानले गण्डकी प्रदेशको ललितकलाको विकास, प्रवद्र्धन र नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यले यस्तो अभियान सञ्चालन गर्ने तयारी गरेको प्रतिष्ठानका कुलपति प्रा.डा. कुसुमाकर न्यौपानेले जानकारी दिए । पोखरामा आयोजित ललितकला विमर्श कार्यक्रममा बोल्दै कुलपति न्यौपानेले अभियानसँगै प्रादेशिक ललितकला प्रदर्शनीसमेत आयोजना गर्ने तयारी गरेको बताए । उनले भने,‘गण्डकी प्रदेशका सिर्जनशील प्रतिभालाई संस्थागत अभियानमा जोड्दै ललितकलाको विकास र प्रवद्र्धन गरिनेछ ।’

कुलपति न्यौपानेले कलाकारले रङ र रेखामार्फत समाजको इतिहास लेख्ने, समयको आवाज बोल्ने र भविष्यको कल्पना गर्ने बताए । प्रस्तावित अभियान सफल बनाउन कलाकार, कलाअनुरागी र सरोकारवालालाई आग्रह गर्दै उनले भने,‘कला केवल हेर्ने वस्तु होइन, अनुभूति गर्ने विषय हो, कला कलाकारको व्यक्तिगत अभिव्यक्ति मात्र नभई समाजको सामूहिक चेतनाको प्रतिबिम्ब पनि हो ।’
ललितकलाको अवस्था, सम्भावना र चुनौतीबारे बहस गर्ने उद्देश्यले आयोजित विमर्शमा दुईवटा गोष्ठीपत्र प्रस्तुत गरिएको थियो । त्रिभुवन विश्वविद्यालय ललितकला केन्द्रीय विभागका उपप्राध्यापक पकबहादुर थापा र गैँडाकोट प्रज्ञा–प्रतिष्ठान, नवलपुरका उपकुलपति भीमप्रसाद शर्माले कार्यपत्र प्रस्तुत गरेको प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।
‘गण्डकी प्रदेशमा ललितकला’ र ‘नेपाली समसामयिक कलामा अभान्ट गार्डे, किच र कन्सेप्चुअलबिचको वैचारिक बहस’ विषयमा प्रस्तुत कार्यपत्रमाथि सहभागीले छलफल गरेको उनले बताए ।
कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल ‘वात्सायन’ले प्रतिष्ठानको पहललाई ललितकलाका क्षेत्रमा कोशेढुंगा सावित हुने विस्वास व्यक्त गरे । यदि उक्त अभियान सफल भए यो ललितकलाका लागि महत्वपूर्ण र ऐतिहासिक हुने उनको भनाई थियो । ‘यस्ता कार्यक्रमले कलाकारबीच अनुभव आदानप्रदान, सिर्जनात्मक बहस र नयाँ प्रतिभाको पहिचानमा सहयोग पुग्छ’–उनले भने । नयाँ पुस्तालाई ललितकलासँग जोड्दै कलाकारको सम्मान, सिर्जनाको प्रवद्र्धन र कलाकृतिको बजारीकरणमासमेत ध्यान दिनुपर्ने उनले बताए ।
गण्डकीलाई प्राकृतिक सौन्दर्यको गन्तव्यमा मात्र सीमित नराखी कला, संस्कृति र सिर्जनाको विशिष्ट केन्द्रका रूपमा स्थापित गर्न प्रदेश सरकार, प्रतिष्ठान र कलाकारबीच सहकार्य आवश्यक रहेकोसमेत उनले औंल्याए ।
प्रतिष्ठानका उपकुलपति शंकर विरही गुरुङले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतमले शुभकामना व्यक्त गरेका थिए । प्राज्ञ बाबुराम बस्ताकोटीले संयोजन तथा सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ कलाकार, प्राज्ञ, बुद्धिजीवी तथा कला–साहित्य क्षेत्रका व्यक्तित्वहरूको सहभागिता थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठ। …







