अलपत्र किशोरीको उद्दार


     एभरेस्ट आवाज    
     कार्तिक १२ गते २०७७ मा प्रकाशित




म्याग्दीको धौवलागिरि गाउँपालिका–२ लुलाङमा अलपत्र अवस्थामा भेटिएकी एक किशोरीको उद्दार गरेर परिवारको जिम्मा लगाइएको छ ।

पाँच महिनादेखि सम्पर्कबिहीन मालिका गाउँपालिका–५ जुग्जाकी १४ वर्षीया जयन्ती गिरीलाई स्थानीय युवा क्लबले सोमबार लुलाङबाट उद्दार गरेर परिवारको जिम्मा लगाएका हुन् ।

गत असार महिनामा घरबाट निस्किएकी गिरी लुलाङमा अलपत्र अवस्थामा भएको सूचना पाएपछि देवीस्थान घरिथोकको सूर्यमुखी युवा क्लब र धवलागिरि गाउँपालिका–७ काफलडाँडाको देवीदेउराली युवा क्लबको टोलीले उद्दार गरेको हो ।

आमाको मृत्यु भएपछि परिवारमा बस्ने र पढ्ने वातावरण नभएका कारण विरक्तिएर घरबाट निस्किएकी गिरीलाई पाँच महिनापछि परिवारलाई जिम्मा लगाएको क्लबका सचिव दिल रानाले बताउनुभयो ।

उद्दारका लागि सचिव राना, सल्लाहकार बालकुमार फगामी, देवीदेउराली युवा क्लबका लेखबहादुर पुनलगायतको टोली लुलाङ पुगेका थिए । लुलाङका युवा रेशमबहादुर विक, वडाध्यक्ष गमप्रसाद विक, गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले युवतीको उद्दारमा सहजीकरण र समन्वय गर्नुभएको थियो ।

जयन्तीलाई बुबा कुलबहादुर र दाजु ओमकार गिरिको जिम्मा लगाएका हुन् । जयन्तीको पढाइमा क्लबले सघाउने जनाएपछि अभिभावकले पढाउने प्रतिबद्धता जनाएका छन् । जयन्तीले ताकम, मुना र लुलाङमा मागेर खाने र बस्ने गरेकी थिइन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।