चरम लापरबाही ! स्वाब दिएका जनप्रतिनिधि दिनहुँ वडा कार्यालयमा, ९ दिनपछि कोरोना पुष्टी


     एभरेस्ट आवाज    
     कार्तिक १२ गते २०७७ मा प्रकाशित




पोखरा २७ का एक जना जनप्रतिनिधिलाई कात्तिक शुरु भएलगत्तदेखि रुघाखोकीले सतायो । ज्वरोसँगै सामान्य ढाड दुखाईपनि भइईरहेको थियो । ती जनप्रतिनिधिलाई भन्दापनि उनकी श्रीमती र बुहारीलाई कोरोनासँग मिल्दो लक्षण थियो । शुरुमा त केहि होईन होला भन्दै जँचाएनन्, पछि च्याप्दै गएपछि कोरोना परीक्षणका लागि कात्तिक ४ गते मंगलबार पिसीआर टेस्टका लागि स्वाब दिए ।

स्वाब दिएलगत्तै दशैंले छोप्यो, दशैंसँगै ल्यावका डाक्टरदेखि कर्मचारीपनि बिदामा बसे । डाक्टर र कर्मचारी नै नभएपछि पिसीआर परीक्षणको दर घटाइयो । परिणाम स्वरुप कात्तिक ४ गते स्वाब दिएका ती जनप्रतिनिधिको रिपोर्ट कात्तिक १२ गते बुधबार अर्थात ९ दिनपछि मात्र आयो ।

यो बिचमा ती स्वाब दिएका जनप्रतिनिधि नियमित वडा कार्यालय गए । शुरुका ३÷४ दिन लगातार वडा कार्यालय आएका उनी दशैंको बिदासँगै आएनन् । तर दशैंको बिदा सकिएर कार्यालय खुलेलगत्तै बुधबार उनी कार्यालयमा हाजिर गर्न पुगे ।

विहान कार्यालयमा हाजिर गर्न पुगेका ती जनप्रतिनिधिको बुधबार अपराह्न कोरोना पोजिटिभ भएको रिपोर्ट आएको छ । जनप्रतिनिधिलाई नै कोरोना संक्रमण पुष्टि भएपछि अहिले उक्त वडा कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । योसँगै सो वडाका अन्य जनप्रतिनिधि तथा कर्मचारीहरु त्रसित बनेका छन् । स्वाबको रिपोर्ट ९ दिनसम्म नदिने स्वास्थ्य निर्देशनालय र स्वाब दिएपछिपनि हाजिर गर्न भन्दै कार्यालय धाउने जनप्रतिनिधिका कारण आफूहरु कोरोनाको जोखिममा परेको एक कर्मचारीले बताए । जानेर होस् वा नजानेर यो गम्भीर लापर्वाही हो,‘ती कर्मचारीले भने,‘यस्तो चरम लापर्वाही हुँदापनि जिम्मेवार निकाय मौन बस्नु जोखिमप्रति आँखा चिम्लिनु हो ।’

स्वाब दिएपछिपनि कार्यालय आउन दिनु वडाध्यक्षकोपनि कमजोरी भएको टिप्पणीपनि हुन थालेको छ । यसबारे वडाध्यक्ष पूर्णकुमार गुरुङ भन्छन्,‘मैलेपनि तपाईं नआउनुस् केहिदिन भनेको थिएँ, तर उहाँले मलाई त्यस्तो केहि स्वास्थ्य समस्या छैन भन्नु भो, होला तनि ! भनेको अहिले यस्तो रिपोर्ट आयो ।’ अध्यक्ष गुरुङ रिपोर्ट ढिलोगरी आउनु नै समस्याको जड भएको बताउँछन् । सचेत त हामीपनि हुनुपर्ने हो,‘उनले थपे,‘तर के गर्नु अहिले सानो लापर्वाहीले हामी सबै जोखिममा परिएलाजस्तो भो ।’ जनप्रतिनिधि र कर्मचारी मात्र होईन सेवाग्राहीसमेत जोखिममा परेका छन् । सो वडामा दैनिक सयौं व्यक्तिको आवतजावत हुने स्थानियबासी बताउँछन् ।

स्वाब दिएको २४ घण्टामा रिपोर्ट दिने भनेर हुँकार गण्डकी प्रदेश सरकारले गरेको थियो । तर ९ दिनपछि रिपोर्ट आउँदा देखिएको लापर्वाही र यसले पार्ने प्रभावबारे जिम्मा कसले लिने ? यसबारे बहस उठाउन जरुरी देखिन्छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।