मुख्यमन्त्री र अर्थमन्त्रीबीच भेट, सशर्त आयोजनाका लागि मागे बजेट


     एभरेस्ट आवाज    
     कार्तिक १४ गते २०७७ मा प्रकाशित




गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संघ सरकारका अर्थमन्त्री विष्णु पौडेललाई भेटेर विभिन्न आयोजनाहरुका लागि बजेट माग गरेका छन् । केहि दिनदेखि काठमाडौंमा रहेका मुख्यमन्त्री गुरुङले शुक्रबार अर्थमन्त्रीलाई भेटेर संघ सरकारले प्रदेशलाई हस्तान्तरण गरेका विभिन्न आयोजना तथा योजनाहरु निर्माणका लागि आवश्यक बजेट निकासाका लागि अनुरोध गरेको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सामाजिक सञ्जाल फेसवुकमा स्टाटसमा उल्लेख छ ।

मुख्यमन्त्री गुरुङले प्रदेश सरकारलाई संघले हस्तान्तरण गरेका ३२ वटा सडकका लागि २ अर्ब ८६ करोड रुपैया बजेट निकासाका लागि आग्रह गरे । त्यस्तै, वर्षौं पुराना योजनाका लागि १ अर्ब ५ करोड, ४३ वटा विशेष खानेपानी आयोजनाकाका लागि ५२ करोड ८७ लाख, १९ वटा सिँचाई आयोजनाका लागि १८ करोड ५० लाख रुपैयाँ बजेट आवश्यक पर्ने भन्दै सो निकासाका लागि आग्रह गरिएको फेसवुक स्टाटसमा उल्लेख छ ।

यसैगरी, ५० वटा सडक पुलका लागि ३० करोड ५१ लख र जनता आवास कार्यक्रमका लागि ९० करोड निकासाका लागिपनि मुख्यमन्त्री गुरुङले अर्थमन्त्री पौडेललाई आग्रह गरेको जनाइएको छ ।

संघ सरकारले ससर्त अनुदानको शर्तसहित गण्डकी प्रदेशलाई हस्तान्तरण गरेपनि बजेट भने नदिएपछि मुख्यमन्त्रीले अर्थमन्त्रीलाई भेटेरै बजेट मागेको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।