गण्डकी प्रदेशको तनहुँ, गोरखा, लमजुङ र मनाङ जिल्लाका सडक मर्मत सम्भार र विस्तार गर्ने कार्यलाई तीव्ररूपमा अघि बढाइएको छ।
साथै,सडक डिभिजन कार्यालय दमौलीको कार्यक्षेत्रमा रहेको पृथ्वीराजमार्ग अन्तर्गतका सडकको पनि मर्मत सम्भार र विस्तार गर्ने कार्यलाई तीव्ररूपमा अघि बढाइएको छ।
आर्थिक वर्ष ०७६/०७७ मा कोभिड–१९ कारण निर्माण कार्य प्रभावित हुँदा कामले गति लिन सकेको थिएन । यस आर्थिक वर्ष ०७७/०७८ को भने शुरुदेखि नै सडक मर्मत सम्भार र विस्तार गर्ने कार्यलाई तीव्ररूपमा अघि बढाइएको हो।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको पूर्वमा मुग्लिनदेखि पश्चिम कोत्रेसम्म करिब ७२ किलोमिटर दूरी छ। राजमार्गमा रहेका खाल्डाखुल्डी पुर्ने र छेउछाउका सडक बिग्रँदै गएका स्थानमा कालोपत्रे गरी सिल गर्ने कार्य गरिएको डिभिजन कार्यालय दमौलीले जनाएको छ।
कार्यालयका अनुसार पृथ्वीराजमार्ग हुँदै आसपास जोडिने आँबुखैरेनी–गोरखा, डुम्रे–बेँशीशहर खण्ड, डुम्रे–बन्दिपुर, तनहुँ–लमजुङ, लमजुङ–मनाङलगायतका सडकखण्डमा आवश्यकताअनुरूप मर्मत सम्भार कार्य अघि बढाइएको छ।
चार जिल्लाका सडक मर्मत सम्भार तथा विस्तारका लागि आर्थिक वर्ष ०७७÷०७८ का लागि २२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
संघीय सरकार अन्तर्गतका सडकहरुमा बजेटले पुगेसम्म आवश्यक स्थानमा मर्मत तथा सम्भार कार्य गर्दै आएको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ ।
कतिपय सडकको छेउछेउमा रहेको जमिनलाई सदुपयोग गर्दै सडक फराकिलो बनाउने र जोखिम स्थानहरुमा पिलर निर्माण गर्ने कार्यसमेत गरिएको छ। पृथ्वीराजमार्गसँगै अन्य सडकका बीच भागमा रहेका खाल्डाखुल्डी नपुरिँदा सवारी दुर्घटना बढ्न थालेपछि दशैँ अगावै अधिकांश सडकका खाल्डाखुल्डी पुर्ने कार्य सम्पन्न गरिएको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार पृथ्वीराजमार्गका सबै स्थानमा सडक निर्माणका कार्य भएपनि तनहुँको बन्दिपुरस्थित डुम्रे बजार क्षेत्रमा भने पानी निकास हुन नसक्दा निर्माण कार्यमा समस्या भएको छ।
गत आर्थिक वर्ष ०७६/०७७ मा १८ करोड रुपैयाँ बजेट फ्रिज भएको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ। सडक मर्मत सम्भार तथा विस्तार कार्यका लागि ठेक्का लागेपनि कोभिड–१९ का कारण काम शुरु हुन नसक्दा बजेट फ्रिज भएको हो।
गत वर्ष पनि २२ करोड रुपैयाँ नै बजेट विनियोजन भएको थियो। तर, गत आर्थिक वर्षमा ४ करोडको मात्रै काम भएको र अरु बजेट फ्रिज भएर गएको थियो । यस वर्ष बजेट फ्रिज नहुने गरी सडक निर्माणका कार्यलाई निरन्तरता दिइएको डिभिजन कार्यालय दमौलीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।