यस पटकको त्रिवि दीक्षान्तमा उपल्लो तहका २ सय विद्यार्थी मात्रै


     एभरेस्ट आवाज    
     मंसिर २१ गते २०७७ मा प्रकाशित




यस वर्ष त्रिभुवन विश्वविद्यालयले उपल्लो तहका विद्यार्थीहरुलाई मात्रै सहभागी गराएर  दीक्षान्त समारोह गर्ने जनाएको छ।

त्रिभुवन विश्वविद्यालयले पीएचडी, एम.फिल। र गोल्ड मेडलप्राप्त विद्यार्थीलाई मात्रै सहभागी गराएर यसपटक दीक्षान्त समारोहको आयोजना गर्ने भएको हो।

कोरोना भाइरसको संक्रमण कायमै रहेका कारण उपल्लो तहका विद्यार्थी र विभिन्न विषयमा गोल्ड मेडलप्राप्त विद्यार्थीको उपस्थितिमा मात्रै दीक्षान्त समारोह गर्ने निर्णयमा विश्वविद्यालय पुगेको हो।

आगामी पुसको ६ गते आयोजना गरिने विश्वविद्यालयको ४६ औं दीक्षान्त समारोहमा  पीएचडी, एमफिल र गोल्ड मेडल प्राप्त विद्यार्थी गरी करिब २ सय विद्यार्थीहरु मात्रै सहभागी हुने विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ।

दीक्षान्त समारोहमा यसपटक स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थी सहभागी हुन पाउने छैनन्। पुस ६ गतेको औपचारिक कार्यक्रम सकेपछि पुस ७ गतेबाट स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीलाई शैक्षिक उपाधि वितरण गरिने कार्यक्रम छ। दीक्षान्त समारोहमा सहभागिताका लागि यसपटक ७ हजार ८७ जना बढी विद्यार्थीको आवदेन परेको थियो। कोरोना भाइरस संक्रमणको अवस्थाका कारण सबैलाई सहभागी गराउन सकिने अवस्था नरहेको परीक्षा  नियन्त्रण कार्यलयले जनाएको छ।

स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीलाई ६÷७ वटा काउन्टर बनाएर शैक्षिक उपाधि वितरण गरिने योजना छ। विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीहरुले पोसाकमै सजिएर प्रमाणपत्र लिनेछन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।