सन्देश श्रेष्ठ
पोखरा, असोज २७
नेकपा एमालेले बनाएको पोखरा–३ नदीपुरस्थित पद्मनर्सिङ होम प्रालिको स्तरोन्नती घुसकाण्ड छानविन समितिले प्रतिवेदन तयार गरेको छ । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलले संसदीय दलकी प्रमुख सचेतक देवका पहारी त्रिपाठीको संयोजकत्वमा बनाएको छानविन समितिले अस्पताल स्तरोन्नतीमा भएको घुसकाण्डको प्रतिवेदन तयार पारेको हो । तर एक हप्ताअघि नै तयार भएको प्रतिवेदन अझैसम्म बुझाईसकेको छैन । संसदीय दलका नेता खगराज अधिकारीको व्यस्तताका कारण प्रतिवेदन बुझाउन बाँकी रहेको निकट स्रोत बताउँछ ।
अस्पताल स्तरोन्नतीको नवीकरणका लागि गण्डकी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे, उनका स्वकीय सचिव यादव पौडेल र मन्त्रालयका सचिव युवानीधि बसौलाले ३० लाख घुस मागेको सार्वजनिक भएको थियो । घटना सार्वजनिक भएलगत्तै एमाले संसदीय दलले छानविन समिति बनाएर प्रतिवेदन बुझाउन भनेको थियो । सोहि अनुसार पहारी संयोजकत्वको छानविन समितिले छानविन प्रतिवेदन तयार गरेको बताइएको छ ।
प्रतिवेदनले सार्वजनिक भएजस्तै घुस लेनदेनमा पूर्व मन्त्री पाण्डेसहित मन्त्रालयका सचिव बसौला र मन्त्रीका स्वकीय सचिव पौडेल कहिं न कहिं संलग्न भएको देखिएको प्रतिवेदन तयार पारेको स्रोतको दाबी छ । अस्पतालले पनि घुस खुवाउने पुरानै प्रवृत्ति अप्नाएको र त्यसलाई मन्त्रालयका सचिव बसौलाले बार्गेनिङ गरेको थाहा पाउँदा पनि मन्त्री र उनका स्वकीय सचिवले रोक्ने प्रयास नगरेको प्रतिवेदनमा उल्लेख छ । पुरानै प्रवृत्ति अनुसार अस्पताल र मन्त्रालयका सचिवबीच लेनदेनको कुरा भएको देखिन्छ,छानविन समितिको प्रतिवेदनमा लेखिएको विषय उद्धृत गर्दै निकट स्रोत भन्छ, ‘यस्तो थाहा पाईसकेपछि मन्त्री र उनका स्वकीय सचिवले रोक्नुपर्ने थियो, तर त्यस्तो प्रयास भएको देखिएन ।’
छानविन समितिले मन्त्री आफै लेनदेनको बार्गेनिङमा संलग्न भएको नदेखिए पनि संलग्नहरुलाई प्रश्रय दिएको पाइएको उल्लेख गरेको छ । त्यसमाथि घटना लिक भएर सञ्चारकर्मी अन्तर्वार्ताका लागि पुग्दा आफैले घटनामा संलग्न भएको सकारेर अन्तर्वार्ता दिएको पाइएको पनि छानविन समितिको प्रतिवेदनमा उल्लेख छ । यो एमाले पार्टी जीवन र नेता तथा सांसदहरुको कार्यशैली, आचरण र व्यवहार अनुकुल नभएकोसमेत औंल्याइएको छ ।
छानविन समितिले प्रतिवेदनमा निश्कर्ष मात्र दिएको छैन, बरु दोषिमाथि कारवाहीका लागि सिफारिस पनि गरेको छ । पार्टीका विधि, विधानसँगै संसदीय दलको विधि, विधानले पार्टीका नेता र सांसदको बानी, व्यवहार, आचरण र कार्यशैली कस्तो हुनुपर्छ भनेर स्पष्ट भनेको तर सार्वजनिक घुस काण्डमा त्यस विपरितका कार्य भएको पाइएकाले सोहि अनुसार सुझाव र सिफारिस गरिएको छानविन समितिका सदस्य धनञ्जय दवाडीले जानकारी दिए । उनले भने,‘पार्टी र संसदीय दलले जारी गरेको आचरण र कार्यशैली विपरित भएका तथा हुने गरेका कुराहरुमा पार्टीले कडाईका साथ दायरामा ल्याओस् भनेर सुझावसहितको सिफारिस गरेका छौं ।’
छानविन समितिका संयोजक देवका पहारी त्रिपाठीले दिइएको समयसीमा भित्रै प्रतिवेदन तयार पारिएको बताईन् । हामीले प्रतिवेदन समयसीमाभित्रै तयार गरेका थियौं,उनले भनिन्,‘तर संसदीय दलका नेता ज्यूको व्यस्तताका कारण प्रतिवेदन बुझाउन केहि ढिलाई भएको छ । सम्भवतः एक दुई दिनमा बुझाउँछौं ।’ संसदीय दलका नेता खगराज अधिकारी पार्टी बैठकका लागि काठमाडौंमा भएकाले प्रतिवेदन बुझाउन ढिलाई भएको उनको भनाई छ ।
यसैबीच, गण्डकी प्रदेश सरकारले बनाएको छानविन समितिले पनि प्रतिवेदन बनाउने कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । समितिले अहिले छानविनको काम सकेर प्रतिवेदनको मस्यौदा लेखन कार्य गरिरहेको स्रोतले बताएको छ । गण्डकी सरकारले अस्पताल स्तरोन्नती घुसकाण्डसहित पछिल्ला वर्षहरुमा अस्पतालको स्तरोन्नती तथा नवीकरण गरिएका सबै निर्णयहरुको छानविन गर्नेगरी मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय गण्डकीका उपसचिव पार्वती लामिछानेको संयोजकत्वमा छानविन समिति बनाएको थियो । सो छानविन समितिले सरोकारवाला सबैसँग लिखित तथा मौखिक बयान लिइसकेको बुझिएको छ । छानविन समितिलाई घुसकाण्डमा आरोपितहरुले गरेको असहयोगका बाबजुद समय थपेर प्रतिवेदन लेखन कार्य गरिरहेको स्रोत बताउँछ । ‘छानविनमा विज्ञहरुकोसमेत सहयोग र सुझाव लिएर प्रतिवेदन निर्माण भइरहेको छ’–स्रोतले भन्यो ।
मन्त्रालयका प्रवक्ता तीर्थराज चिलुवालले छानविन समितिले थपिएको समयसीमा भित्रै प्रतिवेदन बुझाउने बताए । मन्त्री परिषद बैठकले १५ दिनको समयसीमा दिएर छानविन समिति बनाएको थियो । तर समितिलाई समय अपुग भएको भन्ने खबर आएपछि सो समितिको समयसीमा थपिएको उनको भनाई छ । यद्वपी समयसीमाबारे सरकारले कुनै निर्णय भनेको गरेको छैन । त्यसबारे प्रवक्ता चिलुवाल भन्छन्,‘मौखिक रुपमा समय थपिएको जानकारी गराइएको छ, तर त्यसलाई औपचारिकता दिन बाँकी छ, सम्भवतः अब बस्ने मन्त्री परिषद बैठकले त्यसको निर्णय गर्छ ।’ छानविन समितिले अहिले प्रतिवेदनको मस्यौदा लेखन गरिरहेकाले अब छिट्टै प्रतिवेदन आउने उनको विस्वास छ ।
गत असोज ३ गते पोखरा–३ नदीपुरस्थित पद्मनर्सिङ होम प्रालिलाई अस्पताल स्तरोन्नतीको नवीकरण गर्न ३० लाख घुस मागेको श्रव्यदृश्य सार्वजनिक भएको हो । जसमा पूर्वमन्त्री पाण्डेसहित मन्त्रालयका सचिव युवानिधि बसौला र मन्त्रीका स्वकीय सचिव यादव पौडेलले घुस बार्गेनिङ गरेको आंशिक स्वीकारोक्ती गरेका थिए ।
घुस मागेको काण्डमा जोडिएका पाण्डे नेकपा एमालेबाट नवलपुर क्षेत्र नम्बर २ (२)बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा उनी ४ महिना ११ दिन स्वास्थ्य मन्त्री बनेका थिए । २०८३ साल बैशाख २ गते मन्त्री भएका उनी एमालेले सरकार छाडेर फिर्ता बोलाएसँगै गत भदौ १० गते राजिनामा दिएर सरकारबाट बाहिरिएका थिए ।
उनीहरुले ५० शै्याको अस्पताललाई स्तरोन्नती गरेर एक सय शै्याको बनाए पनि त्यसको नवीकरण गर्न अस्पतालसँग रकम मागेको उल्लेख छ । ६ महिने परीक्षण कालका लागि एक वर्षअघि नै १ सय शै्याको अनुमती पाएको सो अस्पतालको नवीकरणका लागि भने विभिन्न कागजात नपुगेको भन्दै ६–७ महिनादेखि नवीकरण फाइल अड्काएर घुस मागेको आरोप छ ।
घुस काण्ड सार्वजनिक भएपछि सचिव बसौलाको जिम्मेवारी खोसेर मुख्यमन्त्री कार्यायमा तानिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने, ध्वनि प्रदूषण गर्ने, समाजमा…







