पोउवा संघका संस्थापकहरुको नाममा उद्योगपति पाण्डेद्वारा ५ लाखको अक्षयकोष घोषणा


     एभरेस्ट आवाज    
     असाेज २८ गते २०८३ मा प्रकाशित




पोखराका वरिष्ठ उद्योगपति हरि पाण्डेले ५ लाख रुपैयाँ अक्षयकोषको घोषणा गरेका छन् ।

पोखरा उद्योग वाणिज्य संघले बुधबार आयोजना गरेको बडादशैं,नेपाल संवत्,तिहार र छठलगायतका चाडपर्वको पूर्वसन्ध्यामा शुभकामना आदान–प्रदान कार्यक्रमका अवसरमा वरिष्ठ उद्योगपति पाण्डेले संघका बढीमा १० जना संस्थापकहरुको नामबाट छात्राहरुको प्रदान गर्ने गरी सो छात्रवृत्ति घोषणा गरेका हुन् । सो छात्रवृत्ति एसइईपछिको ३ वर्षे डिप्लोमा लेभलको भेटेनेरी र कृषिको लागि प्रदान गरिने उनले बताए ।कार्यक्रममा गण्डकी प्रदेश सरकारका उर्जा,जलस्रोत तथा सिंचाइमन्त्री फणीन्द्र देवकोटाले प्राकृतिक विपत्तिबाट यो क्षेत्र पनि प्रभावित बनेको बताउँदै गण्डकी प्रदेश सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्ने बताए । उनले आर्थिक सूचकांकहरुमा गण्डकी प्रदेशको अवस्था सन्तोषजनक नै रहेको धारणा पनि राखे । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले पछिल्ला दिनमा गण्डकी प्रदेशका आर्थिक गतिविधिहरु संकुचनमा परेको दृष्टान्त दिँदै यो प्रदेशलाई अन्य प्रदेशभन्दा अझ समृद्ध बनाउनुपर्नेमा जोड दिएका थिए ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले चाडबाडले नेपाललाई प्राकृतिक विपत्तिको पीडाबाट बाहिर निस्कने शक्ति प्रदान गरोस् भन्ने कामना व्यक्त गरे ।कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी रमेश घर्तीले स्थानीय प्रशासन निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्ने र शान्ति सुरक्षाको प्रबन्धका निम्ति कुनै कसर बाँकी नराख्ने बताए ।संघकी अध्यक्ष शोभा गौतमले चाडपर्वको शुभकामना दिँदै उपभोक्ताको हितलाई ध्यानमा राखेर व्यवसाय गर्न उद्योगी÷व्यवसायीसँग आग्रह गरिन् । ‘महान पर्वको बेला यथाशक्य छुटको व्यवस्था गर्न,भिडभाडको बेला आफ्नो पसल र दुकानको सुरक्षा प्रबन्ध मिलाउन म अनुरोध गर्दछु,’अध्यक्ष गौतमले भनिन्,‘दशैं खुसीको चाचड हो । चाडबाड ढुक्कसँग मनाउने वातावरण निर्माणका लागि प्रहरी प्रशासनले आवश्यक प्रबन्ध मिलाएको जानकारी आएको छ । केही आइपरे सुरक्षा निकायसँग समन्वय गर्न म उद्योगी÷व्यवसायीहरुसँग हार्दिक अनुरोध गर्दछु ।’

कार्यक्रममा कास्कीमा रहेका राजनीतिक दल, प्रशासनिक र सुरक्षा निकाय तथा विभिन्न संघ÷संस्थाका प्रमुख तथा प्रतिनिधिहरुका साथै संघका पूर्वअध्यक्षहरु, बस्तुगत संघका अध्यक्ष र पदाधिकारी एवं संघमा आवद्ध रहेका उद्योगी÷व्यवसायीहरुको उपस्थिति रहेको थियो । संघका वरिष्ठ उपाध्यक्ष दिनेशचन्द बास्तोलाको धन्यवाद ज्ञापन रहेको कार्यक्रमको संचालन महासचिव सुदीप प्रधानाङ्गले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।