हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ ।
असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ निकासी प्रभावित भएको हो ।सडक अवरुद्ध भएपछि यहाँ उत्पादित स्याउ गत वर्षको यसै समयको तुलनामा ज्यादै कम निकासी भएको छ । उक्त सडक सञ्चालन भएसँगै स्याउ बजार पठाउन थालिएको छ । यस वर्ष स्याउ उत्पादन राम्रो भए पनि सडक अवरुद्धका कारण व्यापारी र किसानलाई बिक्री तथा व्यवस्थापनमा समस्या परेको कृषि तथा पशु विकास शाखा मुस्ताङका प्रमुख डा लालमणि अर्यालले बताए ।
अहिलेसम्म ७० प्रतिशत बजारमा पठाइसक्नुपर्नेमा ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको उनले बताए । यहाँ उत्पादित स्याउमध्ये १० प्रतिशत मुस्ताङमै खपत हुने गरेको छ ।राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम मुस्ताङका प्रमुख भरत गौतमका अनुसार यस वर्ष १० हजार मेट्रिक टन स्याउ उत्पादन भएको अनुमान छ । गत वर्ष सात हजार मेट्रिक टन उत्पादन भएको थियो । उत्पादन वृद्धि भएकाले यस वर्ष झन्डै रु दुई अर्बको स्याउ बिक्री हुने उनको अनुमान छ ।
भारी वर्षाले अवरुद्ध बेनी—जोमसोम सडक मर्मतपछि सडक सञ्चालन भए पनि उक्त सडक पूर्ण रुपमा सहज भने अझै भइसकेको छैन । तर, यहाँका किसानले बजारमा स्याउको बिक्री गर्ने याम घर्किन लागेको हुँदा अहिले धमाधम स्याउ टिपेर बजार पठाउन थालेका छन् ।मुस्ताङमा उत्पादित स्याउ हरितालिका तीजदेखि बडादसैँसम्म बजारमा बढी खपत हुन्छ । तर यसपालि बेनी–जोमसोम सडक लामो समयसम्म अवरुद्ध हुँदा मुस्ताङका किसान तथा स्याउ व्यापारीले यहाँ उत्पादित स्याउ बजार पठाउन सकेनन् । सडक सञ्चालन भएसँगै मुस्ताङका पाँचै स्थानीय तहमा उत्पादन भएको स्याउ धमाधम बिक्रीका लागि बजार पठाउन सुरु गरिएको छ ।
मुस्ताङको घरपझोङ–५ ढुम्बास्थित चिम्ले अचार्ड कृषि फार्मका व्यवस्थापक आइतराम तामाङका अनुसार बेनी–जोमसोम अवरुद्ध सडक सञ्चालन भएको दुई दिनमा छ ट्रक स्याउ काठमाडौँ पठाएको जानकारी दिए । उनका अनुसार ३० प्रतिशतमात्रै स्याउ बजार पठाउन सकिएको छ । जिल्लास्तरीय बोर्ड निर्णयअनुसार छिटो पाक्ने स्याउ भदौ १५ गते र ढिलो पाक्ने स्याउ भदौ २२ गते बगैँचाबाट टिप्न सक्ने व्यवस्था गरिएको थियो । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ ।…







