दक्षिण कोरियामा नेपालीलाई कोरोनाविरुद्धको खोप निःशुल्क


     एभरेस्ट आवाज    
     माघ ८ गते २०७७ मा प्रकाशित




दक्षिण कोरिया सरकारले त्यहाँ रहेको नेपालीलाई कोरोनाविरुद्धको खोप निःशुल्क प्रदान गर्ने भएको छ।

दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको हो।

दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुंग इयुन क्युङले सोमबार आयोजित पत्रकार सम्मेलनमा कोभिड–१९ विरुद्वको खोप कोरियामा रहने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकलाई निःशुल्क प्रदान गर्ने बताएका हुन्।

यसअघि, आफ्ना स्वदेशी नागरिकलाई मात्र निःशुल्क प्रदान गर्ने बताएपनि नयाँ निर्णय गर्दै विदेशीलाई पनि उक्त खोप निःशुल्क दिने भएको हो। यससँगै यहाँ रहेका ५० हजारभन्दा बढी नेपालीले पनि उक्त खोप निःशुल्क प्राप्त गर्न सक्नेछन्।

आगामी महिनादेखि संचालन गर्ने भनिएको उक्त खोपको पहिलो प्राथमिकतामा अग्रमोर्चामा रहने स्वास्थ्यकर्मी, स्वयंसेवक पर्नेछन्। त्यसपछि प्राथमिकताअनुसार वृद्ध, बालबालिका, अशक्त, अपांगता भएका व्यक्ति हुँदै सबैलाई वितरण गरिनेछ।

यद्यपि, अवैधानिक तवरले बस्ने तथा स्वास्थ बीमा नभएका विदेशी नागरिकलाई भने उक्त खोप निःशुल्क दिने वा नदिने भन्नेबारेमा भने कोरिया सरकार मौन छ। कोरियामा अवैधानिक तवरले बस्नेहरूको संख्या पनि ठूलै हुनसक्ने अनुमान छ।

दक्षिण कोरियामा पछिल्लो समय कोरोनाको नयाँ प्रजाति पनि पुष्टि हुनुका साथै संक्रमण तीव्ररुपले फैलिएको छ। केही सातादेखि दैनिक एक हजारभन्दा बढी नयाँ संक्रमित थपिने क्रम देखिएको थियो तर यो साता भने दैनिक संक्रमितको संख्या ४ सयभन्दा तल झरेको छ। सरकारले संक्रमण थप फैलिन नदिन सामाजिक दूरी कायम राख्दै सार्वजनिकस्थलमा ४ जनाभन्दा धेरै भेला हुन बन्देज गरेको छ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।