कक्षा १२ को नतिजा सार्वजनिक


     एभरेस्ट आवाज    
     माघ १९ गते २०७७ मा प्रकाशित




भक्तपुर। राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको नतिजानुसार छ हजार ९१६ जनाले ३.६१ देखि ४ , ३८ हजार ४८० जनाले ३.२१ देखि ३.६० र एक लाख नौ हजार ३१२ जनाले २.८१ देखि ३.२० जिपिए(स्तरीकृत अङ्क) ल्याएका छन् । त्यसैगरी ५२ हजार ४२७ जनाले २.०१ देखि २.४०, सात हजार १६४ जनाले १.६१ देखि २.०, ३३३ जनाले १.२१ देखि १.६०, चार जनाले ०.८१ देखि १.२० र १८ हजार ८८९ जनाले ० देखि ०.८० स्तरीकृत अङ्क ल्याएको बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए।

परीक्षामा नियमिततर्फ तीन लाख १० हजार ३१६ र ग्रेडवृद्धितर्फ ९१ हजार ९०० तथा आंशिकतर्फ ३१ हजार ५५ गरी कुल चार लाख ३३ हजार २७१ जना सहभागी थिए । आंशिकतर्फ एक जनाको परीक्षा रद्द गरिनाका साथै कुल ११ हजार ४९० जनाको परीक्षा स्थगन गरिएको छ । आंशिकतर्फ २५ हजार २८८ विद्यार्थी उतीर्ण भएका छन् । बोर्डले कोरोनाका कारण निर्धारित वार्षिक तालिकाभन्दा ढिला गरी मङ्सिर र सङ्क्रमित परीक्षार्थीको पुस महिनामा परीक्षा सञ्चालन गरेको थियो । कक्षा ११ को प्राप्ताङ्क नभएका र कक्षा १२ को आन्तरिक मूल्याङ्कनको अङ्क प्राप्त नभएका परीक्षार्थीको सम्बन्धित विषयको परीक्षाफल स्थगन गरिएको अर्यालले जानकारी दिए ।

परीक्षा स्थगन भएका परीक्षार्थीको विवरण बोर्डको बेबसाइटमा हेर्न सकिने छ । गत वैशाख ८ गतेदेखि सञ्चालन हुनुपर्ने कक्षा १२ को परीक्षा कोभिड– १९ का कारण पूर्णाङ्क घटाएर गत मङ्सिर ९ गते देखि सञ्चालन गरिएको थियो । कक्षा १२ को परीक्षा ४० प्रतिशत पूर्णाङ्कको मात्र थियो । बाँकी ६० प्रतिशतमध्ये ४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजा र २० प्रतिशत आन्तरिक मूल्याङ्कनका आधारमा गरिएको बोर्डले जनाएको छ । (रासस)


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।