नर्भिक अस्पतालले भन्यो, नवीन्द्रराज जोशीको भेन्टिलेटरमा उपचार भइरहेको छ


     एभरेस्ट आवाज    
     चैत्र ४ गते २०७७ मा प्रकाशित




नर्भिक अस्पतालले भन्यो, नवीन्द्रराज जोशीको उपचार भेन्टिलेटरमा भइरहेको छ

नर्भिक अस्पतालले काँग्रेस नेता नवीन्द्रराज जोशीलाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेको जानकारी दिएको छ।

केही सञ्चारमाध्यमले जोशीको निधन भएको भनी समाचार सार्वजनिक गरेपछि नर्भिक अस्पतालले विज्ञप्तिमार्फत जोशीको उपचार भइरहेको स्पष्ट पारेको हो।

‘यस नर्भिक इन्टरनेशनल हस्पिटलमा मस्तिष्कघात भई उपचार गराइरहनुभएका नेपाली काँग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गंभीर रहेको छ। उहाँको हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ’, जारी विज्ञप्तिमा भनिएको छ, ‘फागुन १४ गते मस्तिष्कघात भई उपचारका लागि उहाँलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। केही दिनको उपचारपछि उहाँको अवस्थामा सुधार आएको थियो। आफैंले श्वासप्रश्वास गर्नुभएपछि केही दिन उहाँलाई भेन्टिलेटरको सपोर्टबिना नै राखिएको थियो। तर, अवस्था पुनः बिग्रिएपछि उहाँलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको थियो र हाल भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको जानकारी गराउन चाहन्छौं। उहाँको अहिलेको अवस्था गंभीर रहेको छ।’

जोशी पूर्व उद्योग मन्त्रीसमेत हुन्। जोशी गत संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट वामगठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठसँग पराजित भएका नेपाली काँग्रेसका उम्मेदवार हुन्।

पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा भने जोशी सोही क्षेत्रबाट निर्वाचित बनेका थिए।
२०३६ सालको विद्यार्थी आन्दोलनबाट सक्रिय राजनीतिमा उदाएका जोशीसँग २२ वर्षको उमेरमै नेपाल विद्यार्थी संघको महामन्त्री बनेको इतिहास छ। जोशी २०४९ सालको स्थानीय निर्वाचनमा काँग्रेसका तर्फबाट काठमाडौं महानगरपालिकाको निर्वाचित उपमेयर समेत हुन्।

जोशी प्रचण्ड नेतृत्वको माओवादी–काँग्रेस गठबन्धन सरकारमा उद्योग मन्त्री बनेका थिए। उनी स्वर्गीय जोशी गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष समेत थिए । वि.सं. २०२० साल पुस २४ गते जन्मिएका हुन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।