कास्कीको माछापुच्छ्रे गाउँपालिकाको सेवा छ दिन बन्द


     रासस     
     चैत्र १३ गते २०७७ मा प्रकाशित




फाइल तस्विर : माछापुच्छ्रे गाउँपालिका कास्की ।

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा छ दिन बन्द गरिएको छ ।

गाउँपालिका कार्यालय रहेको वडा नं ४ को लाहाचोकमा केही दिनयता सङ्क्रमित बढेकाले चैत १३ देखि १८ गतेसम्म गाउँ कार्यपालिका कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिए ।


गाउँको एक सहकारीका सदस्यहरू सहकारी भ्रमणमा गएर फर्किएपछि शुरुमा तीन जनामा सङ्क्रमण पुष्टि भएको र सोही आधारमा कन्ट्याक्ट टे«सिङका आधारमा नमूना परीक्षण गर्दा चैत ११ गते थप १३ जनामा सङ्क्रमण पुष्टि भएको बताइन्छ ।

सङ्क्रमितहरु भ्रमणमा गएका र उनीहरुका परिवारका सदस्य रहेका छन् । कार्यालयबाट सेवा प्रवाह गर्दा सङ्क्रमण अझ बढ्न सक्ने अवस्था रहेकाले सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सेवा बन्द गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।

यस अघि बिहीबार नै जिल्ला प्रशासन कार्यालय कास्कीले पछिल्लो समय भारतलगायत छिमेकी देशमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको अवस्थालाई मध्यनजर गर्दै अनावश्यक सभा समारोह, सम्मेलन र भेला आयोजना नगर्न आग्रह गरिसकेको छ ।

प्रशासनले नजिकँदै गरेको होलीपर्वलगायत चाडपर्व मनाउँदा र अत्यावश्यकबाहेक गोष्ठी, भेला, कार्यक्रम गर्दा भीडभाड नगरी अनिवार्य जनस्वास्थ्यको पालना गर्न आग्रह गरेको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।