कोरोना भाइरस : कास्कीका ५५ सहित प्रदेशभर थप ८२ जनामा संक्रमण


     एभरेस्ट आवाज    
     वैशाख ९ गते २०७८ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा एकै दिन ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८२ जनामा कारोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

४३२ जनामा गरिएको पिसिआर परीक्षणमा कास्कीका ५५, म्याग्दीका ११, नवलपरासी पूर्वका ५, स्याङ्जाका ४, तनहुँ र पर्वतका ३–३ जना र लमजुङका एक जनामा संक्रमण पुष्टि भएको हो ।

कास्कीमा पुष्टि भएका सबै पोखरा महानगरपालिकाको विभिन्न वडाका भएको निर्देशनालयले बिहीबार अध्यावधिक गरेको कोभिड–१९ सम्बन्धी विवरणमा भनिएको छ ।

यस्तै सोही अवधीमा २७ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

यो सहित हालसम्म प्रदेशभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या १७ हजार ४८८ पुगेको छ । ती मध्य १६ हजार ५५८ जना कोरोनामुक्त भइसकेका छन् ।

अव प्रदेशमा ७१९ जना आइसोलेसनमा छन् ती मध्य ६५९ जना होमआइसोलेसनमा छन् । कास्कीमा सबै भन्दा बढी ५२० जना सक्रिय संक्रमित छन् । मनाङ र मुस्ताङमा सक्रिय संक्रमितको संख्या शून्य छ ।

प्रदेशभर कोरोना भाइरस संक्रमणबाट २११ जनाले ज्यान गुमाएका छन् ।

बुधबार १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ३९ जना कोरोना संक्रमणमुक्त भएका थिए । हिजो मात्रै कास्कीका ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।