कास्कीमा जारी निषेधाज्ञा वैशाख मसान्तसम्म लम्बाउने प्रशासनको निर्णय (विज्ञप्ती सहित)


     एभरेस्ट आवाज    
     वैशाख २० गते २०७८ मा प्रकाशित




पोखरा । कास्कीमा जारी निषेधाज्ञा थप कडाई गर्दै वैशाख मसान्तसम्म लम्बिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीमा आइतबार बसेको बैठकले विश्वमा महामारीका रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसको फैलावट रोकथाम तथा नियन्त्रणका लागी भन्दै यस्तो निर्णय गरेको हो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षतामा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को आइतबार बसेको बैठकले जारी निषेधाज्ञालाई बैशाख ३१ गते राती १२ बजेसम्मलाई कास्की जिल्लाभर कडाई गरिने निर्णय गरेको जिल्ला प्रशासनद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रशासनले सो अवधीमा अत्यावशेकबाहेकका सबै यातायातमा रोक लगाएको छ । यसअघि जोर विजोर प्रणालीका आधारमा निजी तथा सार्वजनिक सवारी सञ्चालनको अनुामति दिएको भएपनि अबभने रोक लगाउने निर्णय गरेको छ ।

त्यस्तै सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, मानिसहरु भेला हुन, भीडभाड गर्न, सभा, जुलुस, जात्रा, महोत्सव नगर्न भनेको छ ।

मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायत धार्मिक स्थलहरु जनस्वास्थ्यको मापदण्डको पालना गरि नित्य पूजा, ध्यान, प्रार्थनामात्र गर्ने गरि अन्य कार्य नगर्ने, नगराउन भनिएको छ ।

निषेधाज्ञाको अवधीमा शैक्षिक संस्था, तालिम, प्रशिक्षण केन्द्रहरु तथा विद्यालयबाट भौतिक रुपमा उपस्थित भएर लिइने सबै प्रकारका पठनपाठन तथा परीक्षाहरु स्थगित गर्ने, सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट, चिया तथा खाजा पसल, नाँचघर, क्लव, डान्सबार, दोहोरी साँझ, फनपार्क, रंगशाला, फुटसल, जिमखाना, स्वीमिङपुल, व्युटीपार्लर, शैलुन, सुनचाँदी, टेलरिङ लगायतका स्थान तथा पसलहरु बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

त्यसैगरि विवाह, ब्रतबन्ध एवम् अन्य संस्कारजन्य कार्यक्रमहरुमा तोकिएको सुरक्षामापदण्ड पालना गरी १५ जना भन्दा सहभागी हुन नपाइने भएको छ ।

निषेधाज्ञाको समयमा एम्बुलेन्स, बिरामी तथा बिरामी कुरुवा बोक्ने सवारी, दमकल, शववहान, खाद्यसामाग्री, तथा पशुपंक्षीका दाना, तरकारी, फलफुल, दुग्ध पदार्थ, माछा, मासु, पेट्रोेलियम पदार्थ बोकेका सवारी, औषधी तथा स्वास्थ्य सेवाका सामाग्रीका साधन लगायतलाई सञ्चालनको अनुमती दिने निर्णय भएको छ ।

सो अवधीमा औषधी एवम् स्वास्थ्य सामाग्रीका पसलहरु २४ सै घण्टा खुल्ला रहने भएपनि दैनिक उपभोग्य खाद्यन्न, तरकारी, फलफुल, दुध, फ्रेस हाउसहरु भने बिहान ५ बजेदेखि ९ बजेसम्म मात्रै खुला गर्न पाइने छ । यो बाहेकका पसलहरु भने बन्द नै रहने जनाइएको छ ।

यस्तै निर्माण सामाग्री बोकेका सवारी साधनहरु भने दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म मात्रै सञ्चालन गर्न आदेशमा भनिएको छ ।

निषेधाज्ञाको अवधीमा नेपाल राष्ट्र बैंक, पोखराको समन्वयमा बैंक तथा वित्तिय संस्थाहरुबाट हुने सेवा एक चौथाई कर्मचारीहरुबाट एक चौथाई शाखाहरु सञ्चालन हुने भएको छ ।

यस अघि कास्कीमा कोरोना भाइरस संक्रमित हुनेको संख्या बढ्न थालेपछि प्रशासनले यही वैशाख १५ गतेदेखि लागू हुने गरि निषेधाज्ञा लगाउने निर्णय गरेको थियो । जुन मंगलबार राती सकिँदै छ ।

कास्कीमा हालसम्म १० हजार ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्य ८ हजार ६४५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । संक्रमणबाट १३० जनाको मृत्यु भएको छ । एक हजार ३१५ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् । आज मात्रै जिल्लामा ३६८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।