४ जना अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए


     एभरेस्ट आवाज    
     वैशाख २० गते २०७८ मा प्रकाशित




स्पेश–एक्स ड्रागनमार्फत् ४ जना अन्तरिक्ष यात्री आइतबार बिहान पृथ्वीमा सकुशल फर्किएका छन्।

अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) का अनुसार अन्तरिक्ष यात्रीहरू पनामा सिटी नजिकको समुद्री जल क्षेत्रमा अवतरण गरेका छन्।

ती अन्तरिक्ष यात्रीहरू अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा ६ महिना रहेका थिए। उनीहरु जल क्षेत्रमा अवतरण गर्नासाथ डुंगामार्फत् उनीहरुलाई बाहिर निकालिएको थियो। नासाले सबै ४ अन्तरिक्ष यात्रीले आफूहरु ठीक रहेको बताएको जनाएको छ।

फ्लोरिडाको तटीय गल्फ अफ मेक्सिकोमा आइतबार बिहान २ बजेर ५६ मिनेटमा पृथ्वीमा उनीहरु सकुशल अवतरण गरेका थिए। उनीहरुलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा आइपुग्न साढे ६ घण्टा लागेको नासाले जनाएको छ।

गत नोभेम्बरमा मिचेल हप्किन्स, भिक्टर ग्लोभर, शानोन वाल्कर र जापानका सोइची नोगुची अन्तरिक्षमा गएका थिए। उनीहरु अन्तरिक्षमा जाँदा एलन मस्कले निर्माण गरेको स्पेश–एक्सबाट प्रस्थान गरेका थिए।

सात जना अन्तरिक्ष यात्रीहरू अझैपनि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) मा रहेका छन्। उनीहरु गत साता स्पेस–एक्स मार्फत् नै अन्तरिक्षमा पुगेका हुन्।

एएफपी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।