गोरखाका गोरखा र पालुङटार नगरपालिकामा आज रातीदेखि निषेधाज्ञा


     एभरेस्ट आवाज    
     वैशाख २१ गते २०७८ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

गोरखाका २ स्थानीय तहमा आज (मगंलबार) रातीदेखि लागु हुनेगरि निषेधाज्ञा जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय गोरखामा सोमबार बसेको डीसीसीएमसीको बैठकले गोरखा र पालुङटार नगरपालिकालाई मंगलबार रातीदेखि बैशाख मसान्तसम्मलाई निषेधाज्ञा जारी गरेको हो।

बैठकले गोरखा र पालुङटार नगरपालिकाको अनुरोधमा दुवै नगरपालिकामा अत्यावश्यकीय सेवा बाहेकका सबै सेवा बन्द रहने गरी निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ।

जिल्ला स्तरीय कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले सबै प्रकारको सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, भेला, जात्रा तथा महोत्सव गर्न प्रतिबन्ध लगाएको छ।

बैठकले एम्बुलेन्स, शव वाहन, दमकल, खाद्य सामाग्री, पशुपंक्षी तथा पशुपंक्षीको दाना, तरकारी, फलफूल, दुग्ध पदार्थ, माछा, मासु, पानी, ग्याँस तथा पेट्रोलियम पदार्थ बोकेको सवारी साधान, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको ड्युटी जाने–आउने क्रममा प्रयोग गर्ने सवारी साधन, औषधी तथा स्वास्थ्य सेवाका सामाग्री बोकेको सवारी साधन भने संचालन गर्न पाउने निर्णय गरेको छ।

कृषि सामाग्री अन्तरर्गतका मल, बिउ विजन बोकेका सवारी साधन, निर्माण सामाग्री बोकेका सवारी साधन, झण्डावाल सवारी साधन, प्रेसपास प्राप्त सवारी साधन र अत्यावश्यक सरकारी कामकाजको लागि प्रयोग हुने सरकारी सवारी साधन बाहेकका गोरखा नगरपालिका र पालुङटार नगरपालिका क्षेत्रभित्र संचालन हुने सार्वजनिक तथा निजी सवारी साधनहरु संचालन गर्न नपाउने निर्णय समेत निर्णय गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।