दमौली अस्पतालमा आइसियू र भेन्टिलेटर कक्ष तयार


     एभरेस्ट आवाज    
     वैशाख २१ गते २०७८ मा प्रकाशित




तनहुँको सदरमुकामस्थित दमौली अस्पतालले ७ आइसीयू र ४ वटा भेन्टिलेटरसहितको शय्या तयार पारेको छ।

नयाँ भेरियेन्टसहितको कोरोना संक्रमण बढिरहेको अवस्थामा अस्पतालले आइसीयू र भेन्टिलेटर कक्ष तयार पारेको हो।

स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा अस्पतालले आइसीयू र भेन्टिलेटरको व्यवस्थापन गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिएका छन्। उक्त आइसीयू र भेन्टिलेटर व्यवस्थापनका लागि मन्त्रालयले अस्पताललाई २ करोड रुपैयाँ बजेट उपलब्ध गराएको थियो।

आइसीयू र भेन्टिलेटरको व्यवस्था भएपछि अब कोभिडका गम्भीर प्रकृतिका बिरामीलाई पनि बाहिर पठाउनु नपर्ने दमौली अस्पतालका प्रमुख डा सुनिल पौडेलले जानकारी दिए। नयाँ उपकरणको जडान गरिएपनि जनशक्ति भने साविककै दरबन्दीबाट मिलाउनुपरेको उनले बताए।

दमौली अस्पताल परिसरमा अक्सिजन प्लान्ट निर्माण प्रक्रिया पनि शुरु भएको छ। गण्डकी प्रदेश सरकारले अक्सिजन प्लान्ट निर्माणका लागि चालु आर्थिक वर्षमा ७५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ। उक्त प्लान्ट निर्माणका लागि टेन्डर प्रक्रिया पूरा भई सम्झौता भइसकेको छ । ढिलोमा जेठ महिनाभित्र अक्सिजन प्लान्ट निर्माण गरी अक्सिजन उत्पादन थालिने अस्पतालले जनाएको छ।
जिल्लास्तरीय अस्पतालमा सघन उपचार कक्ष नहुँदा पोखरा, भरतपुर वा काठमाडौँ पुगेर स्वास्थ्य सेवा लिनुपर्दा स्थानीयवासीलाई आर्थिक भारसमेत पर्दै आइरहेको छ। पछिल्लो समय अस्पतालले विभिन्न सेवा थप गर्दै लगेको छ।

अस्पताललाई व्यवस्थित एवं अत्याधुनिक बनाउने प्रयासस्वरुप थाइराइड, आँखा र दाँत सेवा शुरु भइसकेको छ। दमौली अस्पतालबाटै थाइराइड सेवा शुरु भएपछि सर्वसाधारण यसको उपचारका लागि महङ्गो शुल्क तिरेर अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको छ। गण्डकी प्रदेश सरकारले १० लाख रुपैयाँ मूल्य पर्ने थाइराइड परीक्षण उपकरण उपलब्ध गराएको थियो।

त्यस्तै, अस्पतालमा नयाँ दाँत हाल्ने सेवा पनि थप गर्न लागिएको छ। हाल उक्त सेवा बाहेक सबै दाँतका सेवा अस्पतालबाट प्रदान भइरहेको छ। दाँतको उपचारका लागि डिजिटल एक्सरे मेसिन संचालनमा ल्याइएको छ। उक्त मेसिन खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रकम उपलब्ध गराएको थियो।

उक्त मेसिनको करिब ५० लाख रुपैयाँ मूल्य पर्छ। विसं २०५९ सालमा अस्पतालको रुपमा स्तरोन्नति भएको दमौली अस्पताल उपकरण थप्ने प्रयासमा जुटेको छ। १५ शय्याको अस्पताललाई ५० शय्यामा स्तरोन्नतिका लागि प्रदेश सरकार मातहत रहेका दुई सरकारी कार्यालयको जग्गा उपलब्ध गराइदिन माग गरिएको छ।

विसं २०३४ सालमा स्वास्थ्यचौकीको रुपमा स्थापना र विसं २०५५ सालमा प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्तरोन्नति भएको यस अस्पताल विसं २०५९ सालमा अस्पतालको रुपमा स्तरोन्नति भएको थियो।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।