गण्डकीमा कोरोना भाइरसबाट थप तीन जनाको मृत्यु


     एभरेस्ट आवाज    
     वैशाख २१ गते २०७८ मा प्रकाशित



पोखरा । कोरोना भाइरस संक्रमण (कोभिड–१९) बाट गण्डकी प्रदेशको कास्की, म्याग्दी र पर्वतमा गरी तीन जना संक्रमितको मृत्यु भएको छ ।

कास्की र म्याग्दीका संक्रमितको उपचारका क्रममा पोखरामा र पर्वतका संक्रमितको जिल्ला अस्पतालमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।

निर्देशनालयले दिएको जानकारी अनुसार पोखरा – २९ का ४५ वर्षिय पुरुषको मंगलबार मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । गत वैशाख १८ गते संक्रमण पुष्टि भएका उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

म्याग्दीको मंगला गाउँपालिका –६ का ७६ वर्षिय संक्रमित पुरुषको पोखरामा मृत्यु भएको छ । यही १७ गते संक्रमित भएका उनको उपचारका क्रममा पोखराको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

यस्तै पर्वतको कुश्मा नगरपालिका–४ का ८४ वर्षिय संक्रमित वृद्धाको मृत्यु भएको छ । पर्वत जिल्ला अस्पतालमा उपचाररत उनको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो । उनमा यही वैशाख १९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यो सहित गण्डकी प्रदेशमा कोरोना भाइरसका कारण हालसम्म मृृत्यु हुनेको संख्या २३५ पुगेको प्रदेश स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।