कोरोना संक्रमणबाट पोखरामा थप ४ जनाको मृत्यु


     एभरेस्ट आवाज    
     वैशाख २३ गते २०७८ मा प्रकाशित




फाइल तस्बीर

पोखरा । पोखरामा कोरोना भाइरस संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मणिपाल शिक्षण अस्पताल र चरक मेमोरियल अस्पताल, पोखरामा उपचाररत उनीहरुको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

मृत्यु हुनेमा तीन जना कास्कीको पोखरा महानगरपालिकाका हुन् भने धवलागिरी गाउँपालिका, म्याग्दीका एक जना रहेको निर्देशनालयका निर्देशक तथा प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए ।

कास्कीको पोखरा महानगरपालिका–३ का ८७ वर्षिय पुरुषको बुधबार चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ । यही वैशाख २१ गते संक्रमण पुष्टि भएका उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

यस्तै पोखरा–१७ का ७३ वर्षिय पुरुषको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको निर्देशनालयले जनाएको छ । वैशाख १८ गते संक्रमित भएका उनको उपचारकै क्रममा बुधबार साँझ ६ः४५ बजे मृत्यु भएको हो ।

सोही अस्पतालमा उपचाररत पोखरा–२९ का ४१ वर्षिय संक्रमित पुरुषको आज विहान मृत्यु भएको छ । बुधबार संक्रमित भएका उनको बिहीबार बिहान ६ः५५ बजे मृत्यु भएको प्रवक्ता शर्माले जानकारी दिए ।

संक्रमणकै कारण म्याग्दीको धवलागिरी गाउँपालिका–२ की ७२ वर्षिया वृद्धाको बिहीबार मृत्यु भएको छ । मणिपाल शिक्षण अस्पतालमा उपचाररत उनको आज बिहान ७ ः १० बजे मृत्यु भएको हो । उनमा बुधबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसंगै गण्डकी प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २४९ पुगेको छ ।

यस अघि कोरोना भाइरस संक्रमणबाट कास्कीमा १३१, लमजुङमा २८, गोरखामा १२, तनहुँमा २६, नवलपुर पूर्वमा २२, स्याङ्जामा २०, पर्वतमा ६, बाग्लुङमा ९, म्याग्दीमा ५ र मुस्ताङमा एक जनाको मृत्यु भइसकेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।