कास्कीमा थप एक साता निषेधाज्ञा लम्बाउने प्रशासनको निर्णय


     एभरेस्ट आवाज    
     वैशाख २९ गते २०७८ मा प्रकाशित




पोखरा । कोरोना संक्रमणको जोखिम बढेपछि कास्कीमा जारी निषेधाज्ञा थप एक साता लम्बाउने जिल्ला प्रशासन कार्यालय कास्कीले निर्णय गरेको छ ।

जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र डिसिसिएमसीको बुधबार बसेको बैठकले कास्कीमा जारी निषेधाज्ञालाई थप कडाइका साथ जेठ ७ गतेसम्म लम्बाउने निर्णय गरेको हो ।

प्रशासनले यस अघि बैशाख १५ गतेबाट शुरु गरेको निषेधाज्ञालाई बैशाख मसान्तसम्म पुर्याएको थियो ।

थप गरिएको निषेधाज्ञा जेठ १ गते विहान ५ बजेदेखि जेठ ७ गते राती १२ गतेसम्म लागू हुने जनाइएको छ ।

प्रशासनले निषेधाज्ञाको अवधीमा अत्यावश्यक बाहेकका सबै कार्यहरुमा रोक लगाएको छ ।
सो अवधीमा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, मानिसहरु भेला हुन, भीडभाड गर्न, सभा, जुलुस, जात्रा, महोत्सव नगर्न भनेको छ ।

सबै धार्मिक स्थलहरु जनस्वास्थ्यको मापदण्डको पालना गरि नित्य पूजा, ध्यान, प्रार्थनामात्र गर्ने गरि अन्य कार्य नगर्ने, नगराउन भनिएको छ ।

निषेधाज्ञाको अवधीमा शैक्षिक संस्था, तालिम, प्रशिक्षण केन्द्रहरु तथा विद्यालयबाट भौतिक रुपमा उपस्थित भएर लिइने सबै प्रकारका पठनपाठन तथा परीक्षाहरु स्थगित गर्ने, सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट, चिया तथा खाजा पसल, नाँचघर, क्लव, डान्सबार, दोहोरी साँझ, फनपार्क, रंगशाला, फुटसल, जिमखाना, स्वीमिङपुल, व्युटीपार्लर, शैलुन, सुनचाँदी, टेलरिङ लगायतका स्थान तथा पसलहरु बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

त्यसैगरि विवाह, ब्रतबन्ध एवम् अन्य संस्कारजन्य कार्यक्रमहरुमा तोकिएको सुरक्षामापदण्ड पालना गरी १० जना भन्दा सहभागी हुन नपाइने भएको छ ।

निषेधाज्ञाको समयमा एम्बुलेन्स, बिरामी तथा बिरामी कुरुवा बोक्ने सवारी, दमकल, शववहान, खाद्यसामाग्री, तथा पशुपंक्षीका दाना, तरकारी, फलफुल, दुग्ध पदार्थ, माछा, मासु, पेट्रोेलियम पदार्थ बोकेका सवारी, औषधी तथा स्वास्थ्य सेवाका सामाग्रीका साधन लगायतलाई सञ्चालनको अनुमती दिने निर्णय भएको छ ।

यस्तै सरकारी प्राथमिकता प्राप्त आयोजनाका लागि निर्माण सामाग्री बोक्ने सवारी साधनहरु बेलुका ८ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन हुन पाउने भएका छन् ।

सो अवधीमा औषधी एवम् स्वास्थ्य सामाग्रीका पसलहरु २४ सै घण्टा खुल्ला रहने भएपनि दैनिक उपभोग्य खाद्यन्न, तरकारी, फलफुल, दुध, फ्रेस हाउसहरु भने बिहान ५ बजेदेखि ९ र बेलेुका ५ बजेदेखि ७ बजेसम्म मात्रै खुला गर्न पाइने छ । यो बाहेकका पसलहरु भने बन्द नै रहने जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।