कास्कीका दुई गाउँपालिकामा नेलम्बोद्वारा सहयोग


     एभरेस्ट आवाज    
     जेठ ५ गते २०७८ मा प्रकाशित




पोखरा । पोखरा स्थित नेलम्बो नेपालले आज रुपा गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकाको धम्पुसमा स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रदान गरेको छ ।

संस्थाका अध्यक्ष एकदेव देवकोटाले रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा र माछापुच्छ्रे–७, धम्पुसका वडाध्यक्ष समबहादुर गुरुङलाई सामग्री हस्तान्तरण गरेका हुन् । सो अवसरमा प्रदान गरिएका सामग्रीको विवरण नेलम्बोका कार्यक्रम संयोजक डा. किसन कोइरालाले प्रस्तुत गरेका थिए ।

रुपा गाउँपालिकालाई पीपिई, फेस शिल्ड, माक्स, सेनिटाइजर, सेनिटाइजर स्टाण्ड, अक्सीमिटर, स्प्रे बोतल, सावुन समेत गरी रु.९४ हजार तथा धम्पुसमा २२ हजार बराबरका सामग्री उपलब्ध गराईएको हो।

कार्यक्रममा धारणा राख्दै गाउँपालिका अध्यक्ष ओझाले सहयोग प्रति आभार प्रकट गर्दै नेलम्बोसँग सहकार्य गर्दै जाने बताए । उनले प्राप्त सामग्रीको सदुपयोग गरिने विश्वास पनि दिलाए ।

धम्पुसका वडाध्यक्ष समबहादुर गुरुङले महामारीको समयमा अग्रपङतिमा खटिनेहरुलाई लक्षित गरी नेलम्बोले सहयोग गर्दै आएको स्पष्ट पार्दै यसको मूल्याङकन वडावासीले गरिरहेको औँल्याए ।

नेलम्बोका अध्यक्ष देवकोटाले सरकार, संघसंस्था र नागरिक बीचको हातेमालोबाट मात्रै महामारी विरुद्घ लड्न सकिने धारणा राखे । उनले गाउँपालिका र वडासँग सहकार्य गर्न संस्था तयार रहेको पनि स्पष्ट पारे ।

यसैबीच आजै नेलम्बो नेपालले रुपा गाउँपालिकालाई अस्थायी कोभिड अस्पताल संचालन सहजताका लागि रु. ३ लाख सहयोग गर्ने घोषणा पनि गरेको छ । जुन रकमबाट अस्पतालमा अक्सीजन पाइपलाइन जडान, अन्य पुर्वाधार निर्माण तथा आवश्यक सामग्री खरिद गर्न सक्ने गरी सम्झौता पनि भएको छ ।

चार वर्ष अघि स्थापित नेलम्बोले गण्डकी प्रदेशलाई लक्षित गरी शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा कार्य गर्दै आइरहेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।