गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति एवं नेकपा माओवादी केन्द्रका युवा नेता दीपक कोइरालाले खोपका लागि संघ सरकारको भर नपर्न सुझाव दिएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज आह्वान गरेको सर्बदलीय बैठकमा बोल्दै प्रदेश सांसद तथा समिति सभापति कोइरालाले सिधै खोप खरिद गरेर प्रदेशबासीलाई खोप उपलब्ध गराउन सुझाव दिएका हुन् । संघ सरकारले खोप कहिले ल्याउँछ थाहा छैन, बैठकमा उनले भनेका थिए, कोरोना महामारी नियन्त्रण र न्यूनिकरण गर्ने भनेको खोपले मात्र सम्भव देखियो, त्यसैले संघ सरकारको भर नपरी प्रदेशले सिधै खोप खरिद गरेर प्रदेशबासीलाई खोप उपलब्ध गराउनुपर्छ ।
सभापति कोइरालाले कोरोना जाँचको पिसीआर रिपोर्ट २४ घण्टाभित्रमा प्राप्त गर्ने व्यवस्था मिलाउन पनि मुख्यमन्त्रीको ध्यानाकर्षण गराए । उनले ज्यानको बाजी लगाएर महामारीमा काम गर्ने स्वास्थ्यकर्मीलाई सुविधा थप गर्न समेत सुझाव दिए ।
कोइरालाले प्रदेशमा अक्सिजन अभाव हुन नदिन अक्सिजन कम्पनीलाई पूर्ण क्षमतामा सञ्चालन गर्न निजी क्षेत्रलाई सरकारले सहयोग गर्नुपर्ने र कम आय भएका नागरिकलाई सरकारी बाहेकका अस्पतालमा पनि निःशुल्क उपचारको व्यवस्था गर्नसमेत सुझाव दिए ।
पश्चिमाञ्चल अस्पतालमा कोरोनाको मात्र उपचार गर्दा अन्य बिरामी सेवाबाट बञ्चित हुने भएकाले अर्को व्यवस्था गर्न र प्रदेश अन्तर्गतका अस्पतालहरुमा छिटो भन्दा छिटो अक्सिजन प्लान्ट स्थापना गर्नसमेत उनले मुख्यमन्त्रीको ध्यानाकर्षण गराए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गुरु पुर्णिमाको अवसरमा पोखरामा शिक्षा प्रदान गर्ने गुरुहरु सम्मानित भएका छन् ।…





